News Summary
Generated by OK AI. Editorially reviewed.- रोहितकुमार पौडेलको चारवर्षे कप्तानी कार्यकाल समाप्त भएको छ र उनको स्थानमा सन्दीप लामिछाने नेपाली एकदिवसीय टोलीको कप्तानमा नियुक्त भएका छन्।
- सन् २०७९ सालमा संकटपूर्ण अवस्थामा टोलीको नेतृत्व सम्हालेका रोहितले नेपाललाई विश्वकप छनोट र एसिया कपजस्ता ऐतिहासिक प्रतियोगितासम्म पुर्याउन सफल नेतृत्व प्रदान गरेका थिए।
- नेपाल क्रिकेट संघ क्यानले रोहितको योगदानको प्रशंसा गर्दै उनलाई 'एकपटकका लिडर सदाका लिडर' भन्दै धन्यवाद सन्देशसहित कप्तानी यात्राको समापन गरेको छ।
२६ साउन, काठमाडौं । क्रिकेटमा एउटा तीतो यथार्थ छ- सफलताको श्रेय पूरा टिमलाई जान्छ भने असफलताको दबाब कप्तानमाथि बढी पर्ने गर्छ । कप्तान मैदानमा ११ खेलाडीको प्रतिनिधि मात्रै हुँदैन, टिमको प्रदर्शन, रणनीति र नतिजाको जिम्मेवारी पनि उसकै काँधमा आउँछ ।
नेपाली क्रिकेटमा पछिल्ला चार वर्ष यो यथार्थलाई सबैभन्दा नजिकबाट महसुस गर्ने खेलाडी हुन् रोहितकुमार पौडेल, जसको कप्तानी जिम्मेवारी सोमबारदेखि टुङ्गिएको छ ।
रोहितलाई प्रतिस्थापन गर्दै यसअघिका कप्तान सन्दीप लामिछाने पुन: कप्तानका रूपमा फर्किएका छन् जसले ओडीआई टिमको नेतृत्व गर्नेछन् ।
विसं २०७९ साल कात्तिक २५ गते नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । त्यतिबेला नेपाली क्रिकेट सहज अवस्थामा थिएन ।
तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि उनी निलम्बनमा परेका थिए र राष्ट्रिय टोलीको कप्तानी पद रिक्त थियो ।
त्यही संकटपूर्ण अवस्थामा क्यानले त्यसबेलाका उपकप्तान २० वर्षीय रोहितको काँधमा राष्ट्रिय टोलीको नेतृत्व सुम्पिएको थियो ।

त्यतिबेला रोहित नेपाली क्रिकेटका उदीयमान ब्याटर थिए । तर कप्तानीको जिम्मेवारी पाउँदै उनले एकैपटक टोलीको नेतृत्व, नतिजाको दबाब र आफ्नै प्रदर्शनको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आयो ।
चार वर्षपछि समय फेरिएको छ । केही महिनाअघि टी-२०आई को जिम्मेवारीबाट हटाइएका रोहित अब नेपाली एकदिवसीय टोलीको कप्तान पनि रहने छैनन् ।
तर यी चार वर्षको बीचमा रोहितले नेपाली क्रिकेटलाई दिलाएको सफलता र कप्तानका रूपमा छाडेको प्रभाव भने कप्तानी परिवर्तनसँगै समाप्त अवश्य हुने छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई एकपटकका लिडर सदाका लिडर भनेर टिप्पणी गर्दै उनलाई धन्यवाद सन्देश सम्प्रेषण गरेको छ ।
‘राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपाललाई नेतृत्व गरेकोमा धन्यवाद रोहित। पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तिम्रो नेतृत्वमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्यौं र नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेका थुप्रै क्षण सिर्जना गर्यौं’ क्यानले भनेको छ ।
रोहितको करियर
रोहित पौडेल उमेर समूहको कप्तानी गर्नुअघि नै नेपाली सिनियर टोलीमा आएका खेलाडी हुन् । उनले नेपालका लागि यू-१९ मा समेत कप्तानी गरेका छन् ।
सन् २०१८ मा नेपालले ओडीआई मान्यता पाएपछि रोहित १५ वर्ष ३३५ दिनको उमेरमा नेपालको पहिलो ओडीआई खेलबाटै डेब्यू गरेका थिए । सन् २०१९ मा उनले टी-२०आई डेब्यू पनि गरे । उमेर समूहको कप्तानी भने उनले यसपछि गरेका हुन् ।
सन् २०१९ को अप्रिलमा उनी कप्तानका रूपमा एसीसी यू-१९ एसिया कप छनोटका लागि नेपाली टोलीमा समावेश गरिएका थिए । सोही वर्ष नोभेम्बरमा उनले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि नेपालको कप्तानी गरे ।

सन् २०२० सेप्टेम्बरमा उनी क्यानको केन्द्रीय सम्झौतामा पनि समावेश भए । सन् २०२२ मा सन्दीप लामिछाने कप्तानबाट हटाइएपछि तत्कालीन उपकप्तान रहेका रोहित कप्तानका रूपमा चयन भए ।
त्यसयता उनले एसीसी एसिया कप, लिग २ क्रिकेट, टी-२० विश्वकप, एसियन गेम्स, वेस्ट इन्डिजसँगको ऐतिहासिक शृङ्खला लगायतका प्रतियोगितामा नेपालको कप्तानी गरे ।
रोहितको कप्तानीमा नेपालले ६३ ओडीआई खेल्दा ३१ खेल जितेको छ भने ३० खेलमा पराजित हुँदा २ खेल नतिजाविहीन छन् । यस्तै उनको कप्तानीमा नेपालले ५९ टी-२०आई खेल्दा ३३ जित र २१ हारको नतिजा निकाल्दा ३ खेल टाई भए र २ खेल नतिजाविहीन रहे ।
हाल रोहित ओडीआई क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । ओडीआईमा रोहितले २ शतक पनि प्रहार गरेका छन् ।
संकटबाट सुरु भएको यात्रा सफलतासम्म
रोहितले कप्तानी सम्हाल्दा नेपाली क्रिकेट एउटा कठिन अवस्थामा थियो । टोलीमा नेतृत्व परिवर्तन भएको थियो, प्रदर्शनमा निरन्तरता खोजी भइरहेको थियो र अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई बलियो रूपमा स्थापित गर्नुपर्ने चुनौती थियो ।
आईसीसी विश्वकप लिग-२ को अंक तालिकामा नेपाल पुछारतिर संघर्ष गरिरहेको थियो र टोलीमाथि एक दिवसीय (ओडीआई) मान्यता नै गुम्ने गम्भीर खतरा मडारिएको थियो । यस्तो अवस्थामा कप्तानी पाउनु उनका लागि अवसरसँगै ठूलो परीक्षा पनि थियो ।
मैदानभित्र खेलाडीहरूको ब्याटिङ प्रदर्शनमा एकरूपता थिएन भने मैदानबाहिर कप्तान परिवर्तन र आन्तरिक उथलपुथलका कारण टोलीको मनोबल खस्किएको थियो । हारको शृङ्खला र दबाबका बीच समर्थकहरूमा समेत निराशा छाएको त्यो समय नेपाली क्रिकेट इतिहासकै सबैभन्दा कठिन र चुनौतीपूर्ण कालखण्ड मानिन्थ्यो ।
तर, रोहित पौडेलको आगमन र मुख्य प्रशिक्षक मोन्टी देसाईको रणनीतिक जुगलबन्दीले नेपाली टोलीमा एउटा अभूतपूर्व ऊर्जा थपिदियो । कप्तानका रूपमा रोहितले युवा खेलाडीहरूलाई विश्वासमा लिए र टोलीभित्र गुमेको ‘एकता र आत्मविश्वास’ लाई पुनर्जीवित गरे ।
‘ह्याप्पी ड्रेसिङ रुम’ को नारा बोकेको यो टोलीले त्यसपछि मैदानमा जुन जादु देखायो, त्यसले विश्व क्रिकेट जगतलाई नै चकित बनायो । नेपालले लिग-२ का अन्तिम १२ खेलमध्ये ११ खेलमा सनसनीपूर्ण जित निकाल्दै चमत्कार गर्यो, जसले गर्दा टोलीको ओडीआई मान्यता मात्र जोगिएन, नेपाल सोझै जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा समेत पुग्न सफल भयो ।

यो सफलताको यात्रा लिग २ मा मात्र सीमित रहेन । रोहितकै सफल नेतृत्वमा नेपालले इतिहास रच्दै सन् २०२३ को एसीसी प्रिमियर कपको उपाधि जित्यो र एसिया कपमा छनोट भएर भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका पावरहाउसहरूसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर पायो ।
लगातारको जित, उच्च मनोबल र संकटबाट उठ्ने अदम्य साहस प्रदर्शन गर्दै नेपाली क्रिकेटले निराशाको कालो बादललाई चिरेर गौरवमय वर्तमानको जग बसायो ।
संकटको घडीमा सम्हालेको त्यो कप्तानीले अन्ततः रोहितलाई नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तानका रूपमा स्थापित गरिदियो ।
नेपाली क्रिकेटका अर्का सफल पूर्वकप्तान तथा हाल क्यानका सचिव रहेका पारस खड्काले रोहितको नेतृत्वको प्रशंसा गर्दै उनको योगदानप्रति आभार व्यक्त गरेका छन् ।
‘गर्व, जोश र दृढताका साथ नेपाली क्रिकेट टोलीको नेतृत्व गरेकोमा धन्यवाद रोहित । कठिन समयहरूबीच पनि तिमीले नेपाललाई अभूतपूर्व उचाइमा पुर्यायौ र मैदानभित्र तथा बाहिर एउटा पुस्तालाई प्रेरित गर्यौ’ पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै अर्का पूर्वकप्तान विनोद दासले यू–१९ समयदेखिको यात्रा सम्झिँदै उनको नेतृत्व क्षमताको प्रशंसा गरेका छन् ।
‘सन् २०१७ मा यू–१९ क्याम्पमा सहभागी हुन आएको तिमीलाई पहिलोपटक देख्दा नै काँधमा जिम्मेवारी बोक्न सक्ने परिपक्व युवा देखेको थिएँ। त्यसयता तिमीलाई उमेरभन्दा अघि नै नेतृत्व गर्न सक्ने खेलाडीका रूपमा हेर्दै आएको छु,’ दासले लेखेका छन् ।
उनले रोहितले नेपाली क्रिकेटको सबैभन्दा कठिन समयमध्ये एकमा टोलीको नेतृत्व गर्दै निकै कम उमेरमा अभूतपूर्व सफलता हासिल गरेको उल्लेख गरे ।
लगातार दुई टी-२० विश्वकप
रोहित पौडेलको कप्तानी सफलता एकदिवसीय क्रिकेटमा मात्र सीमित छैन । टी-२०आईमा निकै स्तरीय प्रदर्शन गर्न थालेको नेपालले लगातार दुई टी-२० विश्वकप खेल्ने सौभाग्य पनि रोहितकै कप्तानीमा पायो ।
सन् २०२४ को टी-२० विश्वकपका लागि नेपालमै भएको एसिया छनोट प्रतियोगितामा फाइनलसम्म पुग्दै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको थियो । त्यसपछि नेपालले लगत्तै अर्को संस्करणको टी-२० विश्वकप पनि खेल्यो ।
यसबीचमा नेपालले एसियन गेम्समा सहभागिता जनायो जहाँ मङ्गोलिया र माल्दिभ्सजस्ता टोलीविरुद्ध कीर्तिमानी प्रदर्शन गरेर क्वाटरफाइनलमा भारतीय टोलीसँग खेल्ने अवसर समेत पाएको थियो ।
रोहितकै कप्तानीमा नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृङ्खला जित्यो । यूएईमा भएको तीन खेलको शृङ्खलामा नेपालले लगातार दुई खेल जितेर अन्तिममा पराजित हुँदा २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

हाल टी-२०आई टोलीको कप्तान रहेका दीपेन्द्रसिंह ऐरीले रोहितको कप्तानी यात्रालाई भावुक रूपमा सम्झिएका छन् । ‘केही यात्रा वर्षमा मापन हुन्छन्, तर केही यात्राले सदाका लागि विरासत छाड्छन्,’ दीपेन्द्रले भनेका छन्।
‘यति कम उमेरमै उनले खेल र देशका लागि धेरै कुरा दिए। उनको योगदानलाई केवल तथ्यांक, उपाधि वा जितबाट मापन गर्न सकिँदैन। उनले लाखौं क्रिकेटप्रेमीमा जगाएको आशा र विश्वास अझ महत्वपूर्ण छ,’ दीपेन्द्रले भने ।
कप्तानसँगै भरपर्दा ब्याटर
रोहितको कप्तानी यात्राको अर्को महत्वपूर्ण पक्ष उनको व्यक्तिगत प्रदर्शन पनि हो ।
कप्तान हुनु आफैंमा दबाबपूर्ण जिम्मेवारी हो । त्यसमाथि टोलीका लागि रन बनाउने जिम्मेवारी पनि उनकै काँधमा थियो। धेरै खेलमा उनले अग्रपंक्तिबाट ब्याटिङ गर्दै टोलीलाई सम्हाले ।
ओडीआईमा रोहितले हालसम्म २३१३ रनमध्ये कप्तानका रूपमा नै १५०० भन्दा बढी रन बनाएका छन् । यस्तै टी-२०आईमा कुल १८४५ रन बनाएका रोहितले १३४४ रन कप्तानका रूपमा खेल्दा नै बनाएका छन् ।

कप्तानी र ब्याटिङको दोहोरो जिम्मेवारीबीच उनले नेपाली टोलीका लागि महत्वपूर्ण इनिङहरू खेले । यही कारण उनी कप्तान मात्र नभएर टोलीका प्रमुख ब्याटरका रूपमा पनि स्थापित भए ।
नेपाली क्रिकेट टोलीका अनुभवी पेस बलर सोमपाल कामीले रोहितले कप्तानी दबाबका बीच पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीका रूपमा व्याख्या गरेका छन् ।
‘एकपटक टीयूमा हाम्रो खेल भइरहेको थियो जहाँ नेपाल हार्छ जस्तो देखिएपछि फ्यानहरू निस्कन थालेका थिए, तर रोहितले शतक हाने अनि निस्केका दर्शकलाई फिर्ता बोलाए’ सोमपाल सम्झन्छन् । उनले उक्त क्षणलाई आफ्नो करियरकै उत्कृष्ट क्षणमध्येको एक पनि भनेका छन् ।
अब कप्तानीबिनाको नयाँ अध्याय
चार वर्षको यात्रा सबै हिसाबले सहज भने थिएन । नेपालले महत्वपूर्ण खेल गुमायो, जितको नजिक पुगेर पराजित भयो र कतिपय खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन ।
ती नतिजाको जिम्मेवारी कप्तानका रूपमा रोहितमाथि पनि आयो । उनको निर्णय, रणनीति र व्यक्तिगत प्रदर्शनमाथि प्रश्न उठे, आलोचना भयो ।
तर कप्तानीको मूल्यांकन केवल जित र हारको संख्याबाट मात्र गर्न सकिँदैन । रोहितले नेपाली क्रिकेटलाई एउटा महत्वपूर्ण संक्रमणकालमा नेतृत्व गरेका थिए ।
उनले दबाबपूर्ण अवस्थामा टोली सम्हाले, नयाँ खेलाडीको पुस्तासँग खेल्दै टोली निर्माण गरे र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई निरन्तर प्रतिस्पर्धी बनाइराखे ।
टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी गत अप्रिलमै रोहितबाट दीपेन्द्रसिंह ऐरीलाई हस्तान्तरण गरिएको थियो । अब एकदिवसीय टोलीको नेतृत्व पनि उनको हातबाट गएको छ ।
सन्दीप लामिछाने पुनः कप्तान बनेसँगै नेपाली क्रिकेटले अब नयाँ नेतृत्वमा अर्को अध्याय सुरु गर्नेछ ।

रोहितका लागि भने यो अन्त्यभन्दा पनि नयाँ सुरुवात हुन सक्छ । कप्तानीको अतिरिक्त जिम्मेवारीबाट मुक्त भएपछि अब उनी आफ्नो ब्याटिङमा अझ बढी केन्द्रित हुन सक्नेछन् ।
२०७९ मा संकटको समयमा कप्तानी सम्हाल्दा उनीसँग नेतृत्वको लामो अनुभव थिएन । चार वर्षपछि कप्तानी छाड्दा उनीसँग चार वर्षको अन्तर्राष्ट्रिय नेतृत्व अनुभव, थुप्रै ऐतिहासिक जित र नेपाली क्रिकेटको एउटा महत्वपूर्ण अध्यायको हिस्सा बनेको परिचय छ ।
कप्तानीको जिम्मेवारी अब अरू कसैको काँधमा पुगेको छ। तर रोहितले नेतृत्व गरेको चार वर्ष नेपाली क्रिकेटको इतिहासमा भने लामो समयसम्म सम्झिइनेछ ।
संकटको समयमा सुरु भएको उनको कप्तानी यात्रा अब सकिएको छ, तर उनले छाडेको विरासत र नेपाली क्रिकेटमा उनको भूमिका भने अझै बाँकी छ ।
प्रतिक्रिया 4