२८ साउन, पाँचथर । संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे)को संरक्षणमा समुदायको सहभागिता बढाउनका लागि आयोजना हुने रेड पाण्डा म्याराथन सोलुखुम्बुमा हुने भएको छ । तेस्रो संस्करणको प्रतियोगिता भदौं २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना गर्न लागिएको रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ ।
यसअघिका संस्करण ताप्लेजुङ र इलाममा सम्पन्न भएका थिए । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने यस वर्षको कार्यक्रमले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष राखिएको नेटवर्कले जानकारी दिएको छ ।
प्रतियोगिता रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आयोजना गर्न लागिउको हो । सन् २०२४ देखि रेड पाण्डा म्याराथन गराउन थालिएको थियो ।
समुद्र सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु भई ४०५४ मिटरको उचाइमा रहेका पिकेपिकसम्म पुगेर पुन: सोहीतर्फ फर्किने गरी ४८ किलोमिटर लामो म्याराथन हुने भएको छ ।
प्रथमले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउने छ । यस्तै द्धितीयले १ लाख, तृतियले ५० हजार र सान्तवनाले ३० हजार रुपैँया र ट्रफी प्राप्त गर्ने छ । पुरुष र महिला दुवै विधामा दौड हुने छ । दुवै विधानमा समान पुरस्कार रहेकोछ ।
रेड पाण्डा म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्व र सचेतना बढाउन मद्दत गर्ने अपेक्षाका साथ म्याराथन आयोजना गरीएको रेड पाण्डा नेटर्वक कार्यकारी निर्देशक आङफूरी शेर्पाले बताए ।
स्थानीयलाई सहभागी गराउने गरी ५ किलोमिटर लामो ‘रेड पाण्डा समुदाय रन’ समेत आयोजना हुनेछ । यसको मार्ग थेकछेन पेमाछोलिङ गुम्बाबाट सुरुभई सेर्गाखोप, पोङ् डाँडा, फाप्लु र ठूलोघर हुँदै पुन: थेकछेनपेमा छोलिङ गुम्बामा पुगेर टुंगिनेछ । यस्तै नेटवर्क मार्फत विभिन्न सामुदायिक बनमा राखिएका वन अभिभावकहरुको पानि दौड राखिएको छ ।
प्रतिक्रिया 4