+

बुटवलमा अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता हुने

२०८३ साउन  २७ गते १७:२६ २०८३ साउन २७ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन भण्डारी स्पोर्टस एकेडेमीले आगामी असोज १२ देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
  • बुटवल मण्डपमा हुने उक्त प्रतियोगितामा नेपाल, भारत, चीन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशका टोलीहरूले सहभागिता जनाउने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
  • प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँसहित पदक र प्रमाणपत्र प्रदान गरिने तथा यसको कुल खर्च १ करोड १८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२७ साउन, बुटवल । बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । साउन २५–२६ गते मदन भण्डारी स्पोर्टस एकेडेमीको बुटवलमा बसेको ११औं पूर्ण बैठकले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ गर्ने निर्णय गरेको क्लबले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १२ देखि १७ गतेसम्म गर्ने जनाइएको छ । बुटवल मण्डपमा हुने प्रतियोगितामा नेपालका ३ सहित भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशबाट टिम सहभागिता गराउने निर्णय गर्दै तयारी अगाडि बढाएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

‘नेपालमै पहिलो पटक यो स्तरको भलिबल हुन लागेको छ’, उनको दाबी छ । यसअघि क्लबले ईण्डो नेपाल भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

यस पटक थप परिमार्जित गर्दै प्रतियोगिताको दोस्रो संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको गर्न लागेको उनले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ७ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको द्वितीय टिमलाई ३ लाख ५० हजार, तृतीय टिमलाई १ लाख ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरी सान्त्वना टिमलाई ७५ हजार रुपैयाँ, विधागत रूपमा प्लेयर अफ दी म्याच १ लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ, उत्कृष्ट स्पाईकर, सेटर, सर्वर, कोच, बल्कर, डिफेन्सलाई क्रमशः ८ हजार रुपैयाँ, कप, मेडलबाट पुरस्कृत गरिने छ ।

करिब १२८ जना खेलाडी, १५० अफिसियल सहभागी हुने प्रतियोगितामा १ करोड १८ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।

बैठकबाट एकेडेमीका प्रदेश संरचनालाई प्रभावकारी र सक्रिय बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीमा फेरबदल गरिएको अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष झकबहादुर मिदुन, महासचिव मदन उप्रेती, उपमहासचिव चन्द्र बदना राई, रामबहादुर केसी, सचिव उदय अर्याल, निलम बज्राचार्य, विनोद आचार्य, नन्दु काउचा, कोषाध्यक्ष कमल ढकालको जिम्मेवारी दिइएको छ ।

यस्तै सदस्यहरूमा सिरिशा कार्की (रुपन्देही), अमरावती राना (सुदूरपश्चिम), राजीव राना, शिवराज राना (सुदूरपश्चिम), ऋषिराम गौतम (गण्डकी), अनन्त श्रेष्ठ (गण्डकी) र राजेश महतो (मधेश प्रदेश) लाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी कोशी प्रदेशको संयोजक उदयकुमार अर्याल, मधेश प्रदेश अध्यक्षमा रविन्द्रराज भण्डारी, बागमती प्रदेश रामबहादुर केसी, लुम्बिनी प्रदेश संयोजक बुद्धि बस्याल, गण्डकी प्रदेशको अध्यक्ष गिरमान गुरुङ, कर्णाली प्रदेशका अध्यक्ष गोपाल बहादुर शाही र सुदूरपश्चिम प्रदेशका संयोजक ज्ञानुराज दगौरालाई जिम्मेवारी दिइएको केन्द्रीय अध्यक्ष आचार्यले बताए ।

आमन्त्रित पुरुष भलिबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय