+
+

जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ भदौ ९ गते २३:५७

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे ।

पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज सुवेदी अनसन बसे । उनीहरुको माग छ, क्रियाशील सदस्यता सार्वजनिक गर ।

‘क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनमा केन्द्रबाटै सदस्यता थपघट गर्ने काम भइरहेको छ,’ जिल्ला सभापति केसीले भने, मतदाता सूचीमा आफ्नो नाम भए-नभएको हरेक क्रियाशील सदस्यले थाहा पाउनुपर्छ ।’

अनसन सुरु गरेकै दिन ऐक्यवद्धता जनाउन पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी सानेपा पुगेका हुन् ।

जबकी पौडेल पक्षका नेता मिलेन्द्र रिजालसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार राति विवाद टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन बुझाएका थिए ।

झण्डै ९ लाख क्रियाशील सदस्यताको छानविन गरेको लेखक नेतृत्वको छानविन समितिले अधिकांश विवाद सल्टाएको थियो । तर समायोजनसँग जोडिएका केही क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकरीहरुलाई दियो । पदाधिकारीहरुले नेतात्रय सिटौला, लेखक र रिजाललाई जिम्मा दिए । उनीहरुले प्रतिवेदन बुझाएसँगै क्रियाशील विवाद टुंगिएको मानिएको थियो ।

तर पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बस्नु र शीर्ष नेताहरु नै ऐक्यवद्धतामा जानुले क्रियाशील विवाद बल्झिने त होइन भन्ने आशंका बढेको छ ।

सानेपा पुग्नुअघि पौडेल समूहका नेताहरुबीच चाक्सीबारीस्थित पूर्वमहामन्त्री सिंहको निवासमा छलफल भएको थियो । उनीहरुले निर्वाचन समितिमा रहेका आफू पक्षधर सदस्यहरुसँग परामर्श गरेका थिए । छलफलमा निर्वाचन समिति सदस्यहरुले क्रियाशील सदस्यता सूची छिटो दिनुपर्ने बताएका छन् ।

‘उहाँहरुले एक–दुई दिनमै क्रियाशील सस्यताको टुंगो नलागे हामीले निर्वाचन गराउन सक्दैनौं भन्नुभयो,’ केन्द्रीय सदस्य बलबहादुर केसी भन्छन्, ‘समितिले अधिवेशन गराउन कम्तिमा ११ दिनको समय चाहिन्छ भनेको छ, तर क्रियाशील सदस्यता सूची दिइएको छैन । समय विस्तारै घर्किदै गएको छ ।’

कांग्रेसमा कतिपय निर्वाचन क्षेत्रको क्रियाशील सदस्यत टुंग्याउन भदौ १२ सम्मको समय दिइएको छ । त्यसपछि बाँकी ६ दिनमा अधिवेशन हुनेमा पौडेल समूहका नेताहरु आशंका गर्छन् ‘सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ, तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन,’ जिल्ला सभापतिको रिले अनसनमा ऐक्यवद्धता जनाउँदै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ ?’

क्रियाशील सदस्यतामा भएको सहमतिप्रति आफू प्रतिवद्ध भएको बताएका उनले तत्काल सदस्यता सूची सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिको माग पनि जायज भएको बताए । ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक हुनुपर्छ, सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भनेका छन् ।

के भन्छ संस्थापन पक्ष ?

पार्टी कार्यालयमा जिल्ला सभापतिहरुले सुरु गरेको अनसनप्रति संस्थापन पक्ष रुष्ट देखिएको छ । पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको भ्रम फैलाउन पौडेल समूहनिकट जिल्ला सभापतिहरु योजनावद्ध रुपमा अगाडि बढेको संस्थापन पक्षको ठम्याई छ ।

जिल्लामा अधिवेशनको माहोल बनाउनुपर्ने सभापतिहरु केन्द्रमा धर्नामा बस्नुले उनीहरु अधिवेशनको पक्षमा नरहेको प्रष्ट हुने सभापति देउवानिकट एक केन्द्रीय सदस्यले बताए । ‘जिल्लामा बसेर अधिवेशनमा जुट्नुपर्ने बेला उहाँहरु (जिल्ला सभापति) पार्टी कार्यालयमा धर्नामा हुनुहुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘तोकिएको समयमा महाधिवेशन हुन नदिने तर नेतृत्वले महाधिवेशन गराउन चाहेन भनेर भ्रम फैलाउने काम भइरहेको छ । यो आपत्तिजनक हो ।’

सहमहामन्त्री डा. प्रकाशशरण महत पनि क्रियाशील सदस्यतामा सहमति जुटिसकेको अवस्थामा वरिष्ठ नेता पौडेल नै अनसनमा सहभागी हुनु आश्चर्यजनक भएको प्रतिक्रिया दिए । ‘रामचन्द्र दाइ समेत उपस्थित भएर दुई दिन अघि मात्रै क्रियाशील सदस्यतामा सहमति भएको हो । अब सबै कुरा टुंगियो, महाधिवेशनमा जाने भनेर शीर्ष नेताहरुबीच कुराकानी भयो,’ उनले भने, ‘सबै सहमतिमै भएको छ, कहिँ विवाद गर्ने ठाउँ छैन । फेरि किन उहाँ आन्दोलनमा जानुभयो ? रामचन्द्र दाइले त कसैलाई कन्फ्यूज भए सम्झाउनुपर्ने हो ।’

उनले नेतात्रय सिटौला, रिजाल र लेखकबीच भएको सहमति अनुसार सदस्यता इन्ट्रीको काम भइरहेको र छिट्टै सूची सार्वजनिक गर्ने समेत बताए । ‘क्रियाशील सदस्यता सार्वजनिक नगर्ने भनेकै छैन,’ उनले भने, ‘त्यसअघिको क्रियाशील हेर्न रामचन्द्र दाइलाई कोड नम्बर दिइएको छ, उहाँले हेर्नुभएकै होला ।’

समहामन्त्री महतले भदौ १८ मै वडा अधिवेशन हुने भन्दै आशंका नगर्न समेत आग्रह गरेका छन् । ‘अधिवेशन तोकिएकै समयमा हुन्छ । मतदान अधिकृतहरु जिल्ला–जिल्लामा जान्छन्,’ सहमहामन्त्री महतले भने, जसरी पनि अधिवेशन गराउन सभापतिले आफ्ना मान्छेको नाम हटाएर भएपनि सहमति गर्नु भएको छ ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?