
१० भदौ काठमाडौ. । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनशन बिहीबार दोस्रो दिन पनि जारी छ ।
दोस्रो दिन तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनशनमा बसेका हुन् । त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईं पनि अनशनमा बसेका छन् ।
अनशनमा बसेका युवा नेता आचार्यले महाधिवेशनको सुनिश्चिताको लागि अनशनमा बसेको बताए । ‘पटकपटक मिति तोक्ने तर महाधिवेशन नगर्ने प्रवृत्ति पार्टीमा देखियो । अहिलेसम्म क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन । मतदाता को हुन् भन्ने थाहा छैन,’ उनले अनलाइनखबरसँग भने, ‘क्रियाशील सदस्यतामा पारदर्शिता खोई ?’
२४ घण्टे रिले अनशनको पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला र काभ्रे जिल्ला सभापति मधु आचार्य अनशनमा बसेका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले विभिन्न तीन बुँदे माग राखेर पार्टी कार्यालयमा धर्ना र अनशन शुरु गरेका हुन् । जिल्ला सभापतिहरुको अनशनमा वरिष्ठ नेता पौडेलले ऐक्यवद्धता जनाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुंगो नलाग्दा भदौ १८ मा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशंका बढेको छ ।
प्रतिक्रिया 4