
१० भदौ, गोरखा । कोरोना संक्रमण दर बढेपछि पुन निषेधाज्ञा कडा बनाइएको गोरखामा भदौ १२ गतेदेखि सवारी साधन जोर विजोर प्रणालीमा चल्ने भएको छ ।
भदौ २ देखि कडा बनाइएको निषेधाज्ञा १२ गतेदेखि खुुकुलो हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले हाल बन्द रहेका बैंक तथा वित्तीय संस्था र यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी चल्न पाउँछन्,’ प्रजिअ पौडेलले भने, ‘तर स्वीकृत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।’
दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो २ बजेसम्म मात्र खुल्न पाउने छन् ।
खाजा घर, रेष्टुरेष्ट र मिठाइ पसलहरु भने बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ला रहनेछ । जनस्वास्थ्यको निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी होटल तथा लजहरु सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । सिनेमा हल, सैलुन, व्युटी पार्लर र फुटपाथ पसल सञ्चालनमा भने रोक लगाइएको छ ।
सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयले आलोपालो प्रणाली लगाएर सेवा प्रदान गर्नेछन् । धार्मिक स्थलहरुमा नित्य पूजा बाहेकका अन्य कार्य गर्न, भौतिक रुपमा उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, जात्रा र महोत्सव गर्न पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4