+
+

४० दिनदेखि जुम्लाका चार किशोर सम्पर्कविहीन   

रासस रासस
२०७८ भदौ १० गते २१:००

१० भदौ, कर्णाली । गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए ।

‘यहाँका प्रायः नागरिक मजदूरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्’, राजुले भने, ‘त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क गर्‍यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो ।’ गाउँलेहरुले उनीहरु कालापहाड गएको हुनसक्ने आशङ्का गरेको उनले बताए ।

तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे । ‘साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन् । घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो’, गोविन्दले भने, ‘तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।’ उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकलाई चिन्तित बनाएको छ ।

अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकाले उनले सञ्चारमाध्यमबाट खोजिदिन आग्रह गरे । राजु रावतका अनुसार सम्पर्कविहीन चारै जना किशोर सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले यस विषयमा बिहीबार मात्र सामान्य जानकारी आएकाले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताइन् । कालापहाड गएको भन्ने आशङ्का गरिएकाले यसबारे सबै तहका सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफू कहाँ त्यसबारे कुनै जानकारी नआएको बताए । प्रहरी नायब उपरीक्षक थापाले किशोरको उमेर १६/१७ वर्ष पुगिसकेकाले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गरे । यद्यपि ती चारै जना किशोर ४० दिनदेखि अभिभावकको सम्पर्कमा छैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?