
११ भदौ, विराटनगर । प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका छन् ।
मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका हुन् ।
‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला,’ उनले भने,‘ तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु ।’
पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको बताउँदै उनले साढे तीन वर्ष सन्तोष जनक काम गरेको बताए । प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने उनको भनाई छ ।
उनले प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा रहेको बताए । ‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,’ उनले भने,‘ हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’
‘हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ,’ उनले अघि भने,‘जनताले सडक खानेपानी, सिंचाई,शिक्षा स्वास्थ्यको क्षेत्रमा ।’
साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको उनले बताए । प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उनले यहीँ सरकारले विषेश अधिवेशन बोलाएर नाम टुङ्गो लगाउन सकिने बताए ।
मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया 4