+
+

म्याद सकिएको खोपको प्रयोगबारे के हो यथार्थ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते २०:२२

११ भदौ, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको म्यादबारे भ्रममा नपर्न नागरिकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाहका पछि नलागी ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

सरकारले म्याद सकिएको खोप नागरिकलाई दिइरहेकोबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि मन्त्रालयले यसलाई अफवाह भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।

‘पछिल्लो समय सामाजिक सञ्जालमा कोरोना भाइरस विरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएको छ । यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूति गराउन चाहन्छु । अफवाहको पछि नलागी ढुक्कसँग आफ्नो पालो अनुसार खोप लगाउन अनुरोध गर्दछु,’ डा. पौडेलले भने ।

नागरिकको स्वास्थ्यप्रति सरकार सचेत रहेको भन्दै डा. पौडेलले म्याद गुज्रिएको खोपको प्रयोग नहुनेमा ढुक्क हुन नागरिकसँग अनुरोध गरे ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले भुटानबाट प्राप्त भएको खोपको म्याद अगस्टसम्म रहेको विषयलाई लिएर अफवाह फैलाएको आरोप लगाए । भुटानले नेपाललाई साउन २२ मा एस्ट्राजेनेकाको तीन लाख डोज खोप उपलब्ध गराएको थियो । उक्त खोपको म्याद यही अगस्ट महिनासम्म छ ।

भुटानले दिएको खोप प्रयोग भइसकेको भन्दै उनले यसको एक डोज पनि भण्डारण नरहेको बताए । विभिन्न मुलुकले दिएको खोपको ‘एक्सपायर डेट’ फरक फरक हुने भन्दै उनले भुटानले दिएको खोपको म्याद अगस्टसम्म रहेको बताए । खोप भण्डारमा यसको मात्रा भए पनि अगस्ट महिनाभरि प्रयोग गर्न मिल्ने उनले बताए ।

मानौं, कुनै खोपको प्रयोग गर्ने म्याद जुलाई २०२० हो भने ३१ जुलाई पछि खोप प्रयोग गर्नु नहुने भन्ने बुझ्नुपर्ने डा. पौडेलको भनाइ छ ।

उक्त खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका काठमाडौंको उपत्यकाका नागरिकलाई दिइसकिएको डा. गौतमले बताए । खरिद सम्झौता भएअनुसारको १० लाख डोज कोभिशिल्ड खोप भारतले नदिएपछि देशभर करिब १३ लाखभन्दा बढी नागरिकले दोस्रो मात्रा लगाउन पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?