+
+
सन्दर्भ : अन्तर्राष्ट्रिय बेपत्ता दिवस :

बेपत्ता पारिएका परिवारजनको पीडा : कतै दुःख पाएर पो बसिरहेको छ कि…!

अहिले पनि कमलालाई साँझ परेपछि ‘आमा खाना छ ?’ भन्दै छोरो आउँछ कि जस्तो लाग्छ । ‘कति पटक त छोरो आउन पनि सक्छ भनेर बढी भात पकाएँ’ उनी भन्छिन्, ‘अहिले पनि बाटो हेर्छु ।’

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ भदौ १३ गते २०:३०

१३ भदौ, काठमाडौं । २०६० जेठ महीना । मूलपानी, काठमाडौं । साथीसँग काममा जान निस्किएका बुद्धिप्रसाद पोखरेल त्यस दिन पहिलो पटक घर फर्किएनन् । भोलिपल्ट पनि छोरा नआएपछि बाबु गुरुप्रसाद र आमा यशोदादेवीले सोधखोज गर्न थाले । त्यसक्रममा थाहा भयो, छोराका केही साथी पनि सम्पर्कविहीन बनेका रहेछन् । र, यो पनि थाहा भयो, उनीहरू माओवादी बनेर हिंडेका रहेछन् ।

गुरुप्रसाद र आमा यशोदादेवीले त्यसयताका १८ वर्ष बुद्धिप्रसाद खोज्दै र उनको बाटो हेर्दै विताए । जेठो सन्तान बुद्धिप्रसाद घर–परिवारलाई सुख दिन्छु भन्थे । भाइहरू ओमप्रसाद र टीकाप्रसादलाई धेरै पढाउने भन्थे ।

उनी बिहान कान्तिपुर कलेजमा पढ्थे, दिउँसो गोकर्ण गल्फ कोर्समा काम गर्न जान्थे । गल्फ खेल्न आउने युवराज दीपेन्द्रसँग उनले राम्रै चिनजान बनाएका थिए । पढाइमा तीक्ष्ण उनी बाबुआमालाई नयाँ–नयाँ काम गर्ने योजना पनि सुनाउँथे ।

मूलपानीका गुरुप्रसाद पोखरेल भन्छन्, ‘मेरो छोरा मरिसक्यो भन्ने भएको भए यतिबेलासम्म भुलिसक्थें होला, तर बेपत्ता भनेर निधो नदिंदा धेरै पीडामा छु ।’

१९ जेठ २०५८ मा दरबार हत्याकाण्ड भयो । १९ गते बुद्धिप्रसादले दीपेन्द्रको नाममा कपाल खौरिएर शोक मनाए । त्यसपछिका दिनमा उनी माओवादी विद्रोहतिर आकर्षित भए । ‘हामीलाई केही थाहा भएन, नत्र त खाँबोमा बाँधेर भए पनि त्यसमा लाग्न दिने थिएनौं’, गुरुप्रसाद पोखरेल भन्छन् ।

आमा यशोदादेवी पोखरेलका अनुसार, बुद्धिप्रसाद हराएको केही दिनपछि घरमा आएका दुईजना अपरिचित व्यक्तिले फोटो मागेर लगेका थिए । ‘पछि पो थाहा भयो उनीहरू नेपाली सेनाका मान्छे रहेछन्’ उनी भन्छिन्, ‘छोराको फोटो दिएर जीवनकै सबभन्दा ठूलो गल्ती गरिएछ ।’

गुरुप्रसाद र यशोदादेवी पोखरेल प्रतिनिधि पात्र हुन् । कसैले बेपत्ता पारेको सन्तानको सन्तापमा आँशु सुकाएर बसिरहेका उनीहरू जस्ता आमा–बाबु धेरै छन् ।

ठूलोभर्‍याङ, काठमाडौंका एकराज वाग्ले विशेषतः चाडपर्वमा छोराको याद असह्य भएर आउने बताउँछन् । उनी भन्छन्, ‘घर पनि सरौं कि भनेर खोजेको हुँ, तर यही घरमा कुनैदिन फर्किएर आउँछ कि ? भन्ने आशाले सर्न सकेका छैनौं ।’

२०५६ को जनैपूर्णिमाको दिन १६ वर्षीय छोरा गोपीकृष्ण पनि बाबु एकराज वाग्लेसँगै यजमानलाई जनै लगाइदिन गएका थिए । जेठो छोरालाई आफूभन्दा नामूद पण्डित बनाउने वाग्लेको मन थियो । त्यसैले चितवनको हरिहर संस्कृत विद्यापीठमा भर्ना गरिदिएका थिए । त्यतिबेला गोपी १० कक्षामा पढ्थे ।

जनैपूर्णिमाको काम सकेर भदौ ९ गते भाइलाई लिएर गोपी चितवन गए । उनीहरू गएको केही घण्टामै कृष्णभीरको पहिरोले सडक अवरुद्ध पारेको खबर आयो । आमा–बाबु चिन्तित भइरहेकै बेला केही घन्टाभरमै गोपीले आमालाई फोन गरेर आफूहरू कटेपछि पहिरो आएकोले सुरक्षित चितवन पुगेको जनाए । त्यो नै गोपीको अन्तिम बोली बन्यो ।

छोरो गोपीकृष्णको तस्वीरसहित उनका आमा–बुवा

त्यसको ठीक १५ दिनपछि भदौ कृष्ण औंसीका दिन हरिहर संस्कृत विद्यापीठका साथीहरूले गोपी बेपत्ता भएको खबर टेलिफोनबाट गरे । शुरूमा त नजिकै रहेको आफन्त (सानिमा)कोमा गयो होला भन्ने सोचेर एकराज वाग्ले धेरै चिन्तित भएनन् । तर, वरपर कुनै पनि आफन्तकोमा नगएको खबरपछि भोलिपल्टै चितवन पुगे ।

गुरुकुल संस्कारमा गुरुले मन परेको चेलालाई आफ्नो शिष्य बनाएर लैजान सक्छन् । त्यसरी कुनै गुरुले कतै लगे कि भन्ने एउटा आश उनलाई लागिरहेको थियो । तर, त्यो पनि भेटिएन । जोखाना हेर्नेबाट पनि केही पत्तो लागेन । माओवादीको सशस्त्र द्वन्द्व चर्किंदै गएको समय थियो । सामान्य जनता दुईपट्टिको चेपुवामा परेका थिए । एकराज वाग्लेले छोराको खोजीमा द्वन्द्वकालमै आधा मुलुक चहारे, थाकेर घर फर्किए ।

‘बाक्सामा रहेको ७०० रुपैयाँ लगेको छैन, कपडाहरू पनि जस्ताको तस्तै छन् । यो देखेपछि छोरालाई कसैले जबरजस्ती लगेको हो भन्ने पक्का भयो अनि हरेस खाएर फर्कियौं’ वाग्ले भन्छन्, ‘उसको फोटाबाहेक याद आउने अरू सबै चिज फालिसकेका छौं । र पनि, टुप्लुक्क आइपुगिहाल्छ कि भन्ने लागिबस्छ ।’

सशस्त्र द्वन्द्वको समयमा विद्रोही माओवादी र सरकारी फौजको कारबाहीमा धेरैको ज्यान गयो, कतिको अंगभंग भयो । मारिएकाहरू फर्केर नआउने निश्चित भयो, अंगभंग भएर बाँचेकाहरू परिवार र आफन्तसँग छन् । बेपत्ता पारिएका नागरिकहरूका परिवारजन भने न वार न पार हुने पीडामा डुबेर दिन काटिरहेका छन् ।

‘कति दिन त बढी भात पकाएर पर्खिएँ’

काठमाडौं, मूलपानीका गाम्बे र कमला विश्वकर्माले जति कोदाली खन्नु परे पनि छोरा तीर्थलाई धेरै पढाउने अठोट लिएका थिए । अठोटले राम्रै परिणाम दिंदै थियो । तीर्थ पढाइमा अब्बल सावित भइरहेका थिए । पुरस्कार ल्याएर बाबुआमालाई देखाउँथे । बाबुआमा कम्तीमा आइए पास नगर्दासम्म कुनै काम हातमा नलिन भन्थे ।

तीर्थ विश्वकर्माका बुवा गाम्बे र आमा कमला

आइए सक्ने बेला हुनै लाग्दा तीर्थले गोकर्ण रिसोर्टमा काम गर्न थाले । पहिले घरबाट विरलै निस्कने उनी रिसोर्टमा जागिरे भएपछि विस्तारै कहिले साथी लिएर आउने त कहिले साथीको घरमा जान थाले । त्यही क्रममा उनी माओवादी गतिविधिमा लागिसकेको आमाबाबुलाई पत्तै भएन ।

२०५८ असारमा तीन जना साथीसँग कतै गएका १९ वर्षीय तीर्थ धेरै दिनसम्म घर आएनन् । अफिसको कामले कतै गयो होला भन्ने भयो, आमाबाबुले खासै चिन्ता लिएनन् ।

‘झण्डै एक महीनापछि साँझ दुई जना साथी लिएर घर आएको थियो’, आमा कमला सम्झिन्छिन्, ‘खाना खाएको थाल आफैं माझ्न थाल्यो । मलाई अचम्म लाग्यो र ‘आमा हुँदाहुँदै के गरेको तैंले’ भनें । ‘जसले माझे पनि एउटै त हो नि’ भन्ने जवाफ फर्कायो । मैले त्यही बेलामा माओवादीमा लागिस् कि क्या हो ? भनेर सोधेको पनि हो, तर होइन भनेर टार्‍यो । त्यसपछि त ऊ एकै दिन पनि फर्किएन ।’

उनका अनुसार, नाङ्लेभारेतिरबाट ‘तीर्थका साथी’ बताउने दुई जना समय–समयमा परिवारको हालखबर बुझ्न आउँथे । एक महीनाजति पछि तिनै दुई जना फेरि पनि आए । तर त्यसदिन उनीहरू घरको हालखबर सोध्न होइन, तीर्थ हराएको खबर सुनाउन आएका थिए ।

नजिकै बारीमा काम गरिरहेका आमाबाबु त्यो खबर सुनेर थचक्कै भए । प्राणपखेरु उडेजस्तै भयो । दुवैले एकअर्कालाई सम्झाउने कोशिश गरे । तर केही पत्तो लागेन ।

आमाबाबुले खोजी नगरेका होइनन् तर तीर्थ कतै भेटिएनन् । आमाको मन न हो, अहिले पनि कमलालाई साँझ परेपछि ‘आमा खाना छ ?’ भन्दै छोरो आउँछ कि जस्तो लाग्छ । ‘कति पटक त छोरो आउन पनि सक्छ भनेर बढी भात पकाएँ’ उनी भन्छिन्, ‘अहिले पनि बाटो हेर्छु, छोरो आउँदैन । अब त आशा पनि मर्न लागेको छ ।’

‘कतै दुःखमा छ कि भन्ने चिन्ताले सताउँछ’

‘मेरो छोरा मरिसक्यो भन्ने भएको भए यतिबेलासम्म भुलिसक्थें होला, तर बेपत्ता भनेर निधो नदिंदा धेरै पीडामा छु’, मूलपानीका गुरुप्रसाद पोखरेल भन्छन् ।

ठूलोभर्‍याङका एकराज वाग्लेको अवस्था पनि यही छ । ‘जीवितै छ र सुखमा भए त पक्कै घर खोज्दै आउँथ्यो होला’ उनी भन्छन्, ‘कतै अंगभंग भएर, दुःख पाएर पो बसिरहेको छ कि भन्ने सम्झिंदा मुटु गाँठो परेर आउँछ ।

बुद्धिप्रसाद पोखरेलका बुवा गुरुप्रसाद र आमा यशोदादेवी

गुरुप्रसाद पोखरेल सशस्त्र द्वन्द्वबाट सत्तामा उक्लेकाहरूको राजनीतिले आफूलाई झनै पीडा दिएको सुनाउँछन् । ‘देशमा केही प्रगति भएको भए बरु छोराहरूको अभियान राम्रै रहेछ भनेर चित्त बुझाउन हुन्थ्यो होला’ उनी भन्छन्, ‘तर त्यसो भएन, जनताको भागमा दुःख मात्र छ ।’

आयोगको गतिविधि

पटक–पटक राजनीतिक खेलोमा फसेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ले पीडित पहिचान गरेर अहिलेसम्म २२९ परिवारका ६५१ जनालाई पीडित परिचयपत्र दिएको छ ।

बेपत्ता पारिएका पीडित परिचयपत्र सम्बन्धी कार्यविधि–२०७७ मा बेपत्ता व्यक्तिको परिवारका सबै सदस्यलाई परिचयपत्र दिने उल्लेख छ । बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित र परिचयपत्र बनाउने व्यक्तिको नागरिकताको आधारमा र नाबालकको हकमा जन्मदर्ताको आधारमा परिचयपत्र दिने व्यवस्था कार्यविधिमा छ ।

हालसम्म आयोगमा परेका ३ हजार २२५ मध्ये २ हजार ४९६ वटा उजुरीमाथि विस्तृत छानबिन प्रक्रिया अघि बढेको प्रवक्ता डा. गंगाधर अधिकारीले बताए । प्राप्त उजुरीमाथि छानबिन गर्दा सशस्त्र द्वन्द्वको क्रममा नै बेपत्ता भएका हुन् भन्ने भएजति उजुरीलाई विस्तृत छानबिनको प्रक्रियामा राखिन्छ ।

फोटो/भिडियो : शंकर गिरी /अनलाइनखबर

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?