१३ भदौ, मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
१५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड ९१ लाख रुपैयाँ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिए ।
डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यावसायि टङ्क गजुरेलले बताए ।
आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ ।
ढिलैगरी सम्पन्न भए पनि योजना निर्माण भएको र सिञ्चाइ आयोजनाबाट निरन्तर पानी आएमा नगरपालिकाका तीन वडामा हिउँदेबाली लगाउन किसानलाई फाइदा पुग्ने नगर प्रमुख दीपक थेवेले बताए । प्रदेशसभा सदस्य धीरेन शर्मा रमणले आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताए ।
पहाडी जिल्ला इलामको यो भाग जिल्लाको तल्लो क्षेत्र भएकाले तराईमा झैँ उब्जनी हुन्छ । यहाँ तराईसँग जोडिएको क्षेत्र भएकाले पनि उत्पादन बढी हुने गरेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष *देवीभक्त कुमालले अब यस आयोजनालाई निरन्तर सञ्चालनका लागि आफुहरु क्रियाशील रहने बताए ।
विशेष गरेर दुई बाली धान भित्र्याउने सो क्षेत्रमा पानीकै समस्या रहँदै आएको थियो । अब भने मकै, गहुँलगायतका अन्य उत्पादनसमेत वृद्धि हुने बताइएको छ ।
(*निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव कुमाल भएकाले सच्याइएको छ । सं.)
प्रतिक्रिया 4