+
+

कोरोना भाइरसको उत्पत्तिबारे नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियो धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १२:०६

१४ भदौ, काठमाडौं । कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

यसअघि अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले चीनले निरन्तर कोरोना उत्पत्तिको विषयमा अनुसन्धानमा अवरोध पुर्याएको र अन्य मुलुकलाई डेटा दिन अस्वीकार गरेको देखाएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले भने यो प्रतिवेदन राजनीतिक प्रयोजनका लागि सार्वजनिक गरिएको बताएका छन् । उनले भाइरस उत्पत्तिबारेको राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।

अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा वैज्ञानिक आधार नरहेको र यो प्रतिवेदन विश्वसनीय पनि नरहेको चिनियाँ दूतावासका प्रवक्ताले बताएका छन् । त्यसैले यो विषय गुप्तचरको प्रतिवेदनमा नभई वैज्ञानिक अनुसन्धानमा भर पर्ने उनको भनाइ छ ।

केही समय अगाडि ८० भन्दा बढी मुलुकले भाइरसको उत्पत्तिसम्बन्धी विषयलाई राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको समेत उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल सहित ८० भन्दा बढी मुलुकले संगठनका महानिर्देशकलाई पत्र पठाएका छन्, कूटनीतिक नोट पठाएका छन् र उनीहरुले राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।’

त्यसैगरी बिभिन्न देशका ३०० भन्दा बढी राजनीतिक दलले सो सोही आशयको पत्र संगठनलाई पठाएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

कोरोना शुरु भएदेखि नै एकले अर्कोलाई समर्थन गरेको उल्लेख गर्दै दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।

प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको उल्लेख गरेका छन् ।

चीनले नेपालसँगको कोरोना महामारीविरुद्ध सहकार्यलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिन आफ्नो क्षमताभित्र रहेर थप खोप उपलब्ध गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?