+
+

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १२:३२
Photo Credit : AP

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका छन् ।

‘हामीलाई अब इस्लामिक इमिरेट्स अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक हो भन्नेमा कुनै शंका छैन । अमेरिकीले सैन्य अपरेसनबाट आफ्नो उद्देश्य हासिल गर्न सकेनन्,’ मुजाहिदले भने ।

मुजाहिदले अफगानिस्तानले पश्चिमा मुलुकसँगको कूटनीतिक सम्बन्ध कायम राख्ने बताएका छन् । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गर्ने बताएका छन् ।

यसअघि अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी सेनाका कमाण्डरले उद्धार गर्न चाहेको सबै मानिसलाई उद्धार गर्न नसकिएको बताएका थिए ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता गएसँगै तालिबानले विजय उत्सव पनि मनाएको छ । यसैबीच अहिले काबुलको अवस्था सुनसान देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले अफगानिस्तानका मानिसहरु अब के होला भन्ने आशंकामा बसेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?