+
+

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

प्रदेश सरकार भन्छ- ढुवानीकै कारण खाद्यान्न अभाव भन्ने सूचना छैन

विकास रोकामगर विकास रोकामगर
२०७८ भदौ १५ गते २०:२०

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे ।

बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ खाद्यान्न ढुवानी गर्नै समस्या भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को  नेतृत्वमा केही समय अघि गठित समितिले तत्काल बाटो नखुले माथिल्लो भेगमा भोकमरी नै फैलिने प्रतिवेदन तयार पारेको थियो ।

हाल बिग्रेका सडकलाई सामान्य मर्मत गरी खच्चडसम्म हिँड्ने बनाए पनि सहज रुपमा खाद्यान्न ढुवानी गर्न भने समस्या रहेको मनाङका प्रजिअ विष्णु लामिछाने बताउँछन् । ‘बाटो बिग्रेकाले बजारमा खाद्यान्न अभाव छ । तर, घरघरमा भने राहतले काम चलिरहेको छ,’ उनले भने, ‘लामो समयको प्रयासपछि कोत्रोसम्म अहिले गाडी आउने भएको छ । त्यहाँबाट खच्चड हिँड्ने बाटो बनाएर सदरमुकाम चामेसम्म खाद्यान्न ढुवानीको व्यवस्था मिलाएका छौं ।’

असारको पहिलो हप्ता बाढी र पहिरोले ठूलो क्षति व्यहोरेको मनाङमा बिग्रिएका भौतिक संरचना पुनर्निर्माणको काम चल्दै थियो । तर, फेरि केही दिनयताको अविरल वर्षाले असर पुर्‍याएको लामिछाने बताउँछन् । ‘अहिले फेरि घोप्टेभीरमा पहिरो खसेको छ । ठूलो ढुंगो खसेको रहेछ, हटाउने काम भइरहेको छ,’ उनले भने ।

खाद्यान्न अभाव हुन नदिन थोरङलाबाट पनि सामान ढुवानी गर्ने काम भइरहेको प्रजिअ लामिछानेले बताए । थोरङबाट घुमाउरो बाटो प्रयोग गरी ग्यास, खाद्यान्न ढुवानी गर्नुपर्दा वस्तुको मूल्य पनि बढेको उनको भनाइ छ । ‘सबैभन्दा बढी ग्यासको मूल्य बढेको छ । एउटै ग्यास सिलिन्डरको ३ हजारसम्म मूल्य पर्न गएको छ,’ उनले भने ।

मनसुनको शुरुवातमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको अर्को स्थानीय तह गोरखाको चुमनुब्री गाउँपालिका हो । जिल्लाकै ग्रामीण भेग र त्यसमाथि गाउँपालिकासँग जोड्ने सडक सञ्जाल सञ्चालन हुन नसक्दा गाउँ नै भोकमरीमा पर्ने देखिएको छ ।

चुमनुब्री ६ र ७ पुग्ने बाटो तथा पुल पहिरोले पूर्ण रुपमा क्षति पुर्‍याएकाले रित्तै आउजाउ गर्न पनि समस्या रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । ‘त्यहाँ (६ र ७ नम्बर वडा) पुग्ने बाटो र झोलुंगे पुल सबै बगाइदियो । सामान्य मान्छे रित्तै हिँड्न सक्छ । तर, भारी बोकेर हिँड्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘बीचमा लगेको केही खानेकुराले नै अहिले जेनतेन चलाउने काम भइरहेको छ ।’

ती दुईवटा वडामा खाद्यान्न अभावले चरम रुप लिने देखिएपछि तत्काल पुनर्निर्माण गरेर सहज वातावरण बनाउन गृह मन्त्रालयलाई पनि पत्र पठाउने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ । निरन्तरको वर्षाका कारण पुनर्निर्माणको काम पनि शुरु हुन नसकेको अध्यक्ष गुरुङले बताए । ‘पानी परेको पर्‍यै भएर पनि समस्या छ । मौसम केही सुधार भयो भने गाउँपालिकाका प्राविधिक पठाएर भए पनि केही गर्ने योजनामा छौं,’ उनले भने ।

मनसुनकै शुरुवातमा आएको बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपछि बागलुङको ग्रामीण भेग कुश्मीसेरा क्षेत्रमा समेत खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । सहयोगी राखेर सामान ढुवानी गर्नुपर्दा वस्तुको मूल्यसमेत महंगो परेको त्यहाँका स्थानीयले बताएका छन् ।

प्रदेश सरकार भन्छ खाद्यान्न अभाव भएको सूचना छैन

बाढी पहिरोले क्षति पुर्‍याएर ढुवानीमा समस्या भए पनि खाद्यान्न अभाव भएको सूचना नआएको प्रदेश सरकारले जनाएको छ । मनाङवासीले आफैं हेली ‘रिजर्भ’ गरेर खाद्यान्न ढुवानी गर्न सक्ने र चुमनुब्रीमा केही समयअघि नै प्रदेश सरकारले राहत पुर्‍याएकाले आफूहरुसँग सूचना नआएको प्रवक्ता कुमार खड्का बताउँछन् ।

‘मनाङवासीको अन्तर्राष्ट्रियस्तरमै पहुँच रहेको छ । उहाँहरुले हेलिकप्टरै रिजर्भ गरेर खाद्यान्न लगिराख्नु भा’छ,’ भौतिक पूर्वाधारमन्त्री समेत रहेका प्रदेश सरकारका प्रवक्ता खड्काले भने, ‘चुमनुब्रीको कुरा सीडीओ सा’बबाट खबर आउने हो । त्यस्तो केही जानकारी आएको छैन ।’

ढुवानी समस्याकै कारण खाद्यान्न अभाव हुने देखिए हेलीबाटै तारजाली पुर्‍याएर भए पनि जनताको सुरक्षाको जिम्मेवारी लिने प्रवक्ता खड्काले सुनाए । ‘त्यस्तो केही अभाव भएको कुरा आयो भने जनताको जीउधनको सुरक्षा गर्न जसरी पनि लागिपर्छौं । हाम्रो पहिलो प्राथमिकता नै जनता हुन्,’ उनले भने, ‘तर, सिडिओ सा’बबाट त्यस्तो केही खबर आएको छैन ।’

प्रदेश सरकारले बाढी पहिरोबाट विस्थापित भएकालाई पुनस्र्थापना गर्न मनाङवासीलाई प्रति परिवार २ लाख र बाँकी जिल्लालाई एक लाख राहतको व्यवस्था गरेको छ । कार्यविधिअनुसार एक लाखसम्म दिन मिल्ने भए पनि मनाङका केही गाउँ नै स्थानान्तरण गर्नुपर्ने भएपछि मन्त्रिपरिषद्ले निर्णय गरेरै दुई लाख दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?