+
+

प्रदेशसभामा एकीकृत समाजवादी : गण्डकीमा शून्य, सुदूरपश्चिममा एमालेभन्दा ठूलो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ भदौ १५ गते २०:५७

१५ भदौ, काठमाडौं । सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन ।

नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

मंगलबार वागमती, लुम्बिनी र सुदूरपश्चिममा एमाले सांसदहरुले एकीकृत समाजवादी दल रोजेका छन् । यो सँगै प्रदेशसभाको समीकरण समेत फेरबदल हुने भएको छ ।

प्रदेश १ र वागमतीमा मुख्यमन्त्री फेरेर पनि सरकार जोगाउने एमालेको प्रयास असफल हुने देखिएको छ । गण्डकी र लुम्बिनीमा यसअघि नै एमालेको सरकार ढलिसकेको छ भने प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) तथा कर्णाली र सुदूरपश्चिममा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

प्रदेश १ : एकीकृत समाजवादीको सरकार

२०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेश १ मा एमालेबाट ५१ जना सांसद निर्वाचित भएका थिए । एकल बहुमतको सरकार बनाएको एमाले अहिले अल्पमतमा परेको छ । १० जना सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका सांसदहरुको दाबी छ । उनीहरुदे भोलि बुधबार  प्रदेश निर्वाचन कार्यालयमा गएर दल रोज्ने बताइएको छ ।

त्यसो भएमा भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । पार्टी विभाजन भएपछि शेरधन राईले राजीनामा दिएका थिए भने माधवकुमार नेपाल समूह छाडेर आएका आचार्य मुख्यमन्त्री बनेका थिए ।

यदि १० जनाले एकीकृत समाजवादी रोजेमा हालको एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्नेछ । ९२ सदस्यीय प्रदेशसभामा एमालेकाे सांसद संख्या ४१ मा झर्नेछ । नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका तीन सांसद हुन्छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सांसद छन् ।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य टंक आङबुहाङ भने एमाले प्रदेश गरेपछि पद गुमाएका थिए ।

प्रदेश २ : एमाले भन्दा एकीकृत समाजवादी ठूलो ?

प्रदेश २ मा हाल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकार छ ।

मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याएका थिए । ९ भदौमा ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन्, जसमा १५ सांसद जानसक्ने सम्भावना रहेको एक सांसद बताउँछन् । त्यसो भएमा जसपाका २९ सांसद हुनेछन् ।

यस्तै एमालेका २१ सांसद छन् । उनीहरुमध्ये १३ जना आफ्नो पक्षमा आउने एकीकृत समाजवादीका नेताहरुको दाबी छ । यद्यपि मंगलबारसम्म विभाजित पार्टी रोज्न सांसदहरु प्रदेश निर्वाचन कार्यालयसम्म पुगेका छैनन् । प्रदेश २ मा कांग्रेसको १९, माओवादीको ११, नेपाल संघीय समाजवादी पार्टीको १ सांसद छन् ।

वागमती प्रदेश : मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

एमाले विभाजन भएकै दिन २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य मुख्यमन्त्री बनेकी थिइन् । माधवकुमार नेपाल समूह छाडेर एमालेमा बस्दा मुख्यमन्त्री बनेकी शाक्यलाई अब सरकार जोगाइराख्न संसदको अंकगणितले साथ दिंदैन । किनकि १०९ सदस्यीय प्रदेशसभामा एमाले सांसदको संख्या घटेर ४४ मा झरेको छ ।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्र माया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले एकीकृत समाजवादी रोजेका हुन् ।

अब एमाले बाहेकको सरकार बन्ने अवस्था छ । माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका २/२ जना र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

वागमतीमा प्रदेश सरकार बनाउन ५५ सांसद चाहिन्छ, जुन सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग छ । नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरेका छन् ।

प्रदेश सरकारबाट हटे पनि वागमती प्रदेशमा नेकपा एमाले ठूलो दलमा भने कायमै रहनेछ ।

गण्डकी प्रदेश : एकीकृत समाजवादी शून्य

गण्डकी प्रदेशमा एकीकृत समाजवादी शून्य हुने देखिएको छ । ५९ सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । उनीहरुमध्ये माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्र थिए । उनी नेपाल समूहले बाग्लुङमा बनाएको समानान्तर कमिटीको अध्यक्ष थिए । तर एमालेमै बस्ने निर्णय लिएका छन् ।

यद्यपि दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको छ ।

गण्डकीमा एमालेले सरकार गुमाइसकेको छ । एमाले बाहेकका दलहरुले गटबन्धन सरकार बनाएका छन् । प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ तथा जनमोर्चा र जसपाका दुई सांसद छन् । एक जना (दीपक मनाङे) स्वतन्त्र सांसद छन् । राष्ट्रिय जनमोर्चाका एक सांसद भने पदमुक्त भएका छन् ।

लुम्बिनीमा एक सांसद

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एकीकृत समाजवादी रोजेकी छन् । दल रोज्ने समय अझै रहेकाले अरु पनि आउने उनको दाबी छ ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद थिए, शंकर पोखरेलको नेतृत्वमा सरकार थियो ।

तर दृगनारायण पाण्डेय र अमर डाँगीले राजीनामा दिए भने नेकपाबाट निर्वाचन जितेकी विमला वलीले माओवादी केन्द्र रोजिन् । त्यस्तै सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका स्वतन्त्र राजनीतिक समूहका दुई मध्ये एक अजय शाहीले माओवादी केन्द्र, नेपाली कांग्रेसहितका दलको गठबन्धन रोजेका छन् । घर्तीले एकीकृत समाजवादी रोजेपछि एमालेमा ३६ सांसद कायम भएका छन् ।

माओवादीका १९, कांग्रेसको १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेको यो प्रदेशमा पोखरेल सरकारलाई विस्तापित गरेर माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

कर्णालीमा दुई जना खुले

कर्णाली प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पक्षमा सांसदहरु तान्ने प्रयास जारी राखेको छ । अहिलेसम्म देवी वली र चन्द्र शाही एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । यद्यपि निर्वाचन आयोगमा गएर दल रोजेका छैनन् ।

गत निर्वाचनमा एमालेबाट २० जना निर्वाचित भएका थिए । त्यसमध्ये ४ जना फ्लोर क्रसको आरोपमा एमालेले कारबाही गरेपछि पदमुक्त भएका छन् । बाँकी १६ मा २ जना नेकपा एकीकृतमा जाँदा एमालेको सांसद संख्या १४ मा झर्नेछ ।

हाल ३५ सदस्यीय प्रदेश सभामा माओवादीको १२, कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् । कर्णालीमा शुरुदेखि नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश : एमालेभन्दा एकीकृत समाजवादी ठूलो

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले  एकीकृत समाजवादी रोजेका छन् । सांसदहरु दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी,  मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरीले नेकपा एस रोजेका हुन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । भोलि उनीहरुको सनाखत भए सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्या १३ पुग्नेछ ।

एमाले १२ (सभामुखसहित) सांसदमा सीमित हुनेछ । अर्थात्, एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल बन्नेछ । ५२ सदस्यीय प्रदेशसभामा माओवादीको १३, कांग्रेसको १२, जसपाका २ छन् र माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

यसअघि ५३ सदस्य थिए । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोरा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा प्रदेश सभा ५२ सदस्यीय भएको हो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?