Comments Add Comment
सम्झना :

फुचु : ऊ कुकुर थिएन

‘फुचुसँग बोली मात्रै भैदिएको भए

मसँग उसको धेरै गुनासाहरु हुन्थे

सायद

अहिले ऊ झोक्राएर टोलाएर

एक्लै घर बसिरहेछ ।’

………………..

फुचु । हामीले मायाले बोलाउने नाम । कतैबाट घरमा पुग्दा ऊ पुच्छर हल्लाउँदै हामीसँग लुटपुटिन आइपुग्थे । कहिले काहीँ घुर्की लगाउँथे । उनीसँग बोली भइदिएको भए हामीसँग कति मनको बह पोख्थे होलान् ? कति गुनासो गर्थे होलान् ?

तर, उसँग बोली थिएन ।

बोली नभएपनि उसको अनुहारको भाव हामी पढ्न सक्थ्यौं । उनको हाउभाउको भाषा हामी बुझ्न सक्थ्यौं । ऊ रिसाएको, खुसी भएको, घुर्की लगाएको सबैकुरा थाहा पाउँथ्यौं । किनकी ऊ हाम्रै स्नेह र सामिप्यमा हुर्किएको एउटा अबोध प्राणी थियो ।

ऊ जीवनभर हाम्रो पाहुना भयो । पाहुना नभनौं, परिवारकै सदस्य । हाम्रो सुखदुःखको साक्षी । हाम्रो घरकी महारानी ।

ऊ कुकुरको चोला लिएर जन्मियो । तर, हामीलाई ऊ ‘कुकुर’ लागेन । यसरी सम्बोधन गर्न पनि कहिल्यै मन लागेन । किनभने ऊसँग हाम्रो हार्दिक प्रेम थियो ।

यसपाली हामी उसलाई छाडेर अमेरिका आयौं । मन अमिलो थियो र कता–कता बेचैन पनि । अमेरिका बसाई धेरै लम्बियो । घरबाट खबर आयो, फुचु बिरामी भयो । बुढ्यौलीले हो वा एक्लोपनले ? उसको शरीर गलेछ । चिकित्सकले भने, ‘यसलाई डिप्रेसन भएजस्तो छ ।’

पछि थप स्वास्थ्य परीक्षण भयो । उसको कलेजो र मिर्गौला पनि काम नलाग्ने भएछ ।

ऊ थला पर्दै गयो । सकेसम्म उसको उपचार पनि गरियो । तर, उसले हामीसँग फेरी भेट्न पाएन । हामीले घर फर्कदा उही फुचुको न्यानो स्वागत नपाउने भयौं । फुचुले दुःख बिसाए ।

घरमा हामीलाई नदेख्दा, हामीसँग खेल्न नपाउँदा, रोगले थाक्दै गएको बेला हाम्रो न्यानो स्पर्श नपाउँदा फुचुलाई कस्तो भयो होला ? सम्झदा निकै भावुक हुन्छु म । पशु भनेर के गर्नु ? ऊ हाम्रो जीवनको एक हिस्सा बनेको थियो ।

उत्तम भौकाजी

फ्ल्यासब्याक : अनायसै भित्रिएको पाहुना

छोरा अंकित साथीकहाँ गएका थिए । घर फर्कदा उनको हातमा प्लाष्टिकको सानो पोका थियो । छोराले त्यो पोका जतनसाथ एउटा कोठामा पु¥यायो । डराउँदै त्यो पोका खोल्यो । त्यसमा भर्खरै जन्मिएको कुकुरको सानो बच्चा थियो । गुडिया जस्तै ।

हामीले त्यसअघि कहिल्यै कुकुर पालेका थिएनौं । कुकुर पाल्ने योजना वा तयारी पनि थिएन । छोराले कुनै सरसल्लाह नगरी घरमा नयाँ पाहुना भित्र्याएको थियो । हेर्दा प्रष्ट हुन्थ्यो, त्यो १०-१२ दिनको बच्चा हो । आमाको दुध पनि नछुटेको ।

त्यस्तो कलिलो बच्चा घरमा ल्याउँदा बिजोग हुन्छ । अंकितलाई ममीले साफसँग झपारिन् ।

खासमा अंकितको साथी सुनिस बैद्यको घरमा उन्नत जातको कुकुर पालिएको रहेछ । साथीको घरमा जाँदा ऊ कुकुरसँग खेल्न थालेछ । संभवत उसले कुकुरको बच्चा माग्यो । अन्ततः साथीकी ममीले अंकितलाई लामै अन्र्तवर्ता लिएछन् । कुकुरलाई कसरी स्यहार्छौं ? कसरी खानपान गराउँछौं ? कति माया गर्छौ ?

अन्र्तवार्तामा अंकित उत्तिर्ण भए । उनले कुकुरको सानो बच्चा पाए । र, फुरुंग हुँदै कुकुर बोकेर घर आए ।

आमाको दुध पनि नछुटेको कलिलो बच्चालाई घरमा ल्याउँदा ममीको पारो तान्ने नै भयो । उनले सुरुमा त अंकितलाई झपारिन् । तर, पछि बच्चा पाल्ने जिम्मा उनकै हातमा भयो । आखिर आमा न हुन् । उनी कहिलेसम्म कठोर बन्न सक्थिन् ?

घरमा ल्याएको रात बच्चा खुब करायो, रोयो । कुइँकुइँ गरिरह्यो । अब त्यसलाई के गर्ने खान दिने कि, सुताउने कि, घुमाउने कि ? हामीसँग कुनै ज्ञान र अनुभव थिएन ।

अंकितकी ममीले नै बोत्तलमा दुध हालेर त्यसलाई चुसाइन् । भरपेट खान पाएपछि ऊ मस्त सुत्यो । खुब आनन्दले ।

क्रमस दिनहरु बित्दै गयो । त्यो बच्चा हामीसँग झ्याम्मिन थाले । हामीसँग खेल्ने, छिल्लिने, लुटपुटिने । हामीलाई पनि ऊसँग खेल्न रमाइलो लाग्न थाल्यो । यसरी बिस्तारै हामीबीच पशु र मान्छेको दुरी मेटियो । हामी एकै भयौं । ऊ हाम्रो भयो, हामी उसको भयौं ।

ऊ सानो गुडिया जस्तो थियो । कालो रौं । रहरलाग्दो । त्यो मायालु बच्चालाई देख्नसाथ मेरो मुखमा ‘फुचु’ भन्न आयो । मैले नै उसको न्वरान गरिदिए, फुचु । र, यही नामले ऊ जीवनभर चिनिए ।

ऊ अब उफ्रिने, कुद्ने, कराउने भइसकेको थियो । बेलाबखत घुर्की लगाउने, चकचक गर्ने, काम बिगार्ने पनि भइसकेको थियो । उसलाई बस्नका लागि हामीले एउटा खोर बनायौं । त्यसमा राख्यौं पनि । तर, बस्न माने पो ?

सास नै रोकिएला जसरी ऊ कराउन र खोरबाट निस्कन खोजेपछि हामीले उसलाई थुन्ने आँट गरेनौं । ऊ हामीसँगै खाने, बस्ने, सुत्ने गर्न थाल्यो । उसलाई घर बाहिर निश्चित समय र ठाउँमा सौच गर्ने बानी बसायौं ।

अब ऊ जवान भइसकेको थियो । घरका सदस्यले जस्तै पारिवारिक संस्कार उसले पनि पालना गर्नुपर्ने हुन्थ्यो । ऊ हामीसँगै बिहान र साँझ घरबाहिर हिँड्न निस्कने साँझ सौचका लागि जाने गर्न थाल्यो । बिहान मुखमा पत्रिका च्यापेर बोकेर माथिल्लो तलामा रहेको मेरो कोठासम्म पु¥याउने जिम्मा पनि उसकै भयो ।

फुचु अब हाम्रो लागि पशु थिएन । उसको व्यवहारले हामीलाई पगाल्दै थियो । हामी उसप्रति अरु बढी स्नेह र सम्मान दर्शाउँन थालेका थियौं ।

बिहान हामी आ–आफ्नो कामधन्दाका लागि घरबाट निस्कन्थ्यौं । ऊ जुरुक्क उठेर भ¥याङबाट ओर्लन्थ्यो । अनि हामीलाई हेरिबस्थ्यो । साँझ घर फर्कदा ऊ हामीलाई नै पर्खेर टोलाइरहेको हुन्थ्यो । ऊ हाम्रो काम–व्यवहारबाट पनि परिचित थियो । हामीलाई उसले राम्ररी बुझ्न सक्थ्यो । हामी यसो गर, उसो नगर, बाहिर जाउ, भित्र बस, आउ, खाउ भन्थ्यौं । ऊ हामीले बोलेको सबै कुरा बुझ्थ्यो ।

ऊ पनि बालबच्चालाई झै मामाघर जान भनेपछि हुरुक्कै हुने । मामाघरको लागि हामी तयार हुँदै गर्दा ऊ फुर्किएर थामिनसक्नु हुन्थ्यो । गाडीमा राखेपछि झ्यालको सिसाबाट टाउको निकाल्दै चिसो हावा खान्थ्यो र बाहिरको दृश्यहरु नियाल्थ्यो । यतिबेला ऊ औधी खुसी हुन्थ्यो ।

फुचुसँगको क्षणहरु

दुई वर्ष अघि । म अमेरिकाबाट फर्कदा निकै रात परेको थियो । बालाजु घर पुग्दा रातको २ बजिसकेको थियो । त्यो समय सहयोगीको साथमा सुतेको फुचुले मेरो गाडी आएको चाल पाएछ र कुइँ कुइँ कराएर भुक्दै सुत्नै दिएनछ । सोही बखत दौडेर आयो र मलाई माया गरेर उफ्रियो । कोठा कोठा चाहारेर ठुलै युद्ध जितेजस्तै ग¥यो । फुचु यति धेरै उमंगित हुँदा म पनि पो खुब रमाएछु । मैले यात्राको सम्पूर्ण थकान भुलें ।

हामी के गर्छौ, कहाँ जान्छौं, कतिबेला आउँछौं त्यो सबै जानकारी उसँग थियो ।

हामीले उसको पनि विशेष ख्याल राख्यौं । सरसफाई गर्ने, स्वास्थ्य उपचारमा ध्यान दिने, खानपानमा सन्तुलन मिलाउने । हामी उसँगको मायामा डुबिसकेका थियौं ।

घरबाट कतै टाढा निस्कनु पर्दा उही फुचुको मायाले बढी पिरोल्ने । फुचुलाई घरमै छाड्दा हाम्रो मन निचोरिन्थ्यो । हामी उसलाई बिदाई गर्न नै सक्दैनथ्यौं ।

यसपाली अमेरिका आउने बेला पनि फुचुलाई छाड्न गाह्रो भयो । उसको मायाले हामीलाई तानिरह्यो । अमेरिका उड्नुअघि फुचुलाई सुनिल भाई र मन्जु बुहारीकहाँ छाडेका थियौं । उनीहरुले नै स्यहारसुसार गरिरहेका थिए ।

हाम्रो बसाई लम्बियो । उता फुचु बिरामी प¥यो । डाक्टरले फुचुलाई डिप्रेसन भएको अनुमान गरेसँगै हाम्रो चैन हरायो । फुचु हाम्रो खुसी थियो । उसले हामीसँगै सुखदुःख साटेको थियो । अनायसै हाम्रो घरमा पाहुना बनेर भित्रिएको फुचु हाम्रो खुसी र उमंगको स्रोत बनिरह्यो ।

यसपाली अमेरिकामा छँदै हामीले अप्रिय खबर सुन्नुप¥यो । हाम्रो एउटा खुसीको स्रोत टुट्यो ।

अब हामी नेपाल फर्कदैछौं । घरको गेट खोल्नसाथ उत्साहले रमाउँदै फुचु हामीसँग झ्याम्मिन आउने छैन । हामीलाई ‘यत्तिका दिन मलाई एक्लै छाडेर कहाँ गएको थियौं’ भन्ने भावमा घुर्की लगाउने छैन । हाम्रो ओछ्याउनमा, सोफामा उफ्रिदै नाच्नेछैन । किनभने उसले घरलाई सून्य–सून्य बनाएर गएको छ ।

तिमीलाई कहिल्यै बिर्सने छैनौं फुचु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment