Comments Add Comment

एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

बन्ला त १३ दिनमा ६७४३ कमिटी ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको फाइल तस्वीर ।

१७ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह नेकपा एमालेतिर जाने विश्लेषण सुनाएको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठक ३० गतेलाई सारेको छ र, ६,७४३ वटै वडामा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

बैठकपछि नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुसँग भने, ‘साउन ३० गतेभित्र देशभरिका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय गरेको छ ।’

तदर्थवादमा चलेको माओवादी

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा पार्टी एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

तर माओवादी केन्द्र पुनर्स्थापित भएपछि पनि नेताहरुले संगठन निमार्णमा चासो दिएनन् । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन खेलमा लागे । एक केन्द्रीय सदस्य भन्छन्, ‘नेताहरुमा संगठनबाट भन्दा राजनीतिक गेमबाट शक्ति आर्जन हुन्छ भन्ने भ्रम रह्यो ।’

माओवादी ‘एक व्यक्तिको शासन’मा चलेको छ, संगठनात्मक अभ्यास पनि युद्धकालीन नै छ । १२ बुँदे सहमति र बृहत शान्ति सम्झौता गर्दै माओवादी खुला राजनीतिक जीवनका डेढ दशक समय बिताइसकेको छ । १५ वर्ष पार्टीको संरचना व्यवस्थित गर्न छोटो समय होइन ।

त्यही कारण पार्टी ब्यूँतिएको झण्डै ५ महिनामा माओवादी तदर्थवादमा चल्दै आएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा रहेका र हाल माओवादीतिर लागेका नेताहरुलाई केन्द्रीय कमिटी भनियो । स्थायी कमिटी त्यसरी नै भयो । नेकपामा पोलिटब्यूरो नबनेकाले माओवादीमा पनि छैन ।

माओवादी केन्द्रले प्रदेश, जिल्ला र त्यसभन्दा तलका कमिटीहरु पनि पुनर्गठन गरेको छैन । नेकपामा प्रदेश र जिल्ला कमिटीहरु बनाउँदा अध्यक्ष पूर्व एमालेबाट भए माओवादीबाट सचिव तथा पूर्व माओवादीबाट अध्यक्ष भए पूर्व एमालेबाट सचिव राखिएको थियो ।

इन्चार्ज र सहइन्चार्ज पनि त्यसरी नै तोकिएको थियो । माओवादी ब्यूँतिएपछि कुनै पनि कमिटी पुनर्गठन गरिएको छैन । साबिकको नेकपाको कमिटीमा भएका र हाल माओवादी केन्द्रमा रहेका नेताहरु बसेर काम चलाइएको छ । वडा र सेल कमिटी नेकपाले नै बनाएन । कतिपय ठाउँमा वडा अध्यक्ष र सचिवसम्म तोकेपनि महानगरमा जिल्लाले हेर्ने कि प्रदेशले भन्ने विवादका कारण त्यो पनि हुन भएको थिएन ।

२३ फागुनमा माओवादी केन्द्र पुनर्स्थापित भएपछि यो अवस्थामा खासै भिन्नता आएको छैन । जबकी पार्टीमा सेल, वडा, गाउँ तथा नगर, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश कमिटी हुनुपर्छ । केन्द्रमा पनि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी हुनुपर्ने हो । तर अहिलेसम्म पार्टीसँग कुन कुन कमिटी पुनर्गठन भयो भन्ने विवरण समेत नभएको कार्यालय सचिव श्रीराम ढकाल बताउँछन् ।

१३ दिनको म्याद

आइतबार बसेको स्थायी कमिटीले ३० साउन अर्थात १३ दिनभित्र सबै वडामा कमिटी बनाइसक्न भनेको छ । प्रचण्डले माधवकुमार नेपाल समूह एमालेमै बस्ने ब्रिफिङ सुनाउनु र वडा कमिटीहरु बनाउने निर्णय गर्नुलाई धेरैले सँगै जोडेर हेरेका छन् ।

तर माओवादी नेताहरु भने त्यसलाई स्वीकार गर्दैनन् । उनीहरुका अनुसार जतिबेला माधव नेपालहरुले एमालेमै फर्किने निर्णय गरे, त्यसबेला नै उनीहरुले नयाँ पार्टी बनाउने सम्भावना कम भएको थियो ।

त्यतिबेला नै संगठनमा ध्यान दिनुपर्नेमा प्रमुख नेताहरु राजनीतिक गेमबाटै शक्ति आर्जन हुन्छ भन्ने भ्रममा रहेकाले संगठन निर्माणमा ध्यान नदिएको नेताहरु बताउँछन् । केन्द्रीय सदस्य युवराज चौलागाई भन्छन्, ‘अहिले हामी वडा कमिटी बनाउने भयौं भनेर हौसिने होइन, ५ महिनासम्म किन बनाइएन भनेर प्रश्न गर्नुपर्छ ।’

यद्यपि वडा कमिटी बनाउने निर्णयलाई ढिलै भएपनि संगठनमा फर्किएको नेताहरु बताउँछन् । विगतमा नेताहरुले पद मात्र ताक्ने र केन्द्रमा मात्र रहन चाहँदा ४/५ हजारको केन्द्रीय कमिटी बनेको स्मरण गर्दै काठमाडौं अध्यक्ष एवं केन्द्रीय सदस्य हिमाल शर्मा भन्छन्, ‘पद दिएर त पार्टी नबन्दोरहेछ । त्यसैले अहिले पार्टीले सबैलाई सबै तल जाऊ, वडा बनाऊ भनेको हो ।’

तीन दशक एकल नेतृत्व

२०४४ मा पार्टी नेतृत्वमा पुगेका प्रचण्ड झण्डै साढे ३ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा छन् । यसबीचमा नेकपा एमालेभित्र पाँच पटक नेतृत्व परिवर्तन भइसक्यो ।

प्रचण्ड पार्टीको नेतृत्वमा पुग्दा एमाले धाराको नेतृत्वमा झलनाथ खनाल थिए । त्यसपछि मदन भण्डारी, माधवकुमार नेपाल, पुनः झलनाथ खनाल र केपी शर्मा ओली हुँदै पाँचपटक नेतृत्व परिवर्तन भइसकेको छ ।

यसरी हेर्दा माओवादी ‘एक व्यक्तिको शासन’मा चलेको छ, संगठनात्मक अभ्यास पनि युद्धकालीन नै छ । १२ बुँदे सहमति र बृहत शान्ति सम्झौता गर्दै माओवादी खुला राजनीतिक जीवनका डेढ दशक समय बिताइसकेको छ । १५ वर्ष पार्टीको संरचना व्यवस्थित गर्न छोटो समय होइन ।

तर, माओवादीले संगठन निर्माण र यसको व्यवस्थित अभिलेखीकरणमा खासै ध्यान पनि दिएन, रुचि पनि देखाएन । बरु आधा दर्जनभन्दा बढी एकता र विभाजनका उचारचढावबाट आफूलाई गुजारेको छ र सही सांगठनिक अभ्यासलाई लत्याएर खल्तीका पनि अनुकूल मानिसलाई मात्रै अवसर दिने अभ्यासले माओवादीभित्रको सांगठनिक अभ्यासको विश्वशनीयता संकटग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment