Comments Add Comment
मेलम्ची बाढी :

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

१७ साउन, काठमाडौं । बाढी प्रभावित मेलम्ची क्षेत्रमा पुगेका विज्ञहरुको टोलीले नदी आसपासको क्षेत्र मानववस्तीका लागि अयोग्य भएको निश्कर्ष निकालेका छन् ।

यद्यपि स्रोतसम्म नपुगेकाले हेलम्बु गाउँपालिकाका साथै मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याउने गरी मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता नलागेको बताएको छ ।

१ असारको राति बढी आएको मेलम्ची नदीमा आइतबार फेरि लेदोसहितको बाढी आउँदा मेलम्ची बजारमा एक दर्जन भन्दा बढी घर बगाएको छ भने एउटा पुल बगाएको छ ।

फेरि लेदोसहित बाढी आएपछि आइतबार खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको टोली हेलिकप्टरबाट मेलम्ची नदीको अवलोकन गरेको थियो । त्यसक्रममा विज्ञ टोलीले प्रारम्भिक अध्ययनमा नदी आसपासका क्षेत्र मानव वस्तीका लागि उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नदीको आसपास क्षेत्र बस्ती बस्न योग्य नभएको बताएका छन् । नदी किनारका क्षेत्रका बस्ती स्थानान्तरणका लागि छलफल शुरु भइसकेको उनले बताए ।

‘बस्ती सार्नका लागि जोखिम नहुने सुरक्षित स्थलका ठाउँहरु खोज्ने कार्य स्थानीय सरकारले थालिसकेको छ । जमिन किन्न सरकारले राहत दिने वा एकीकृत बस्ती बसाउनुपर्छ भन्ने छलफल गर्न थालिसकेका छौं’ उनले भने ।

मेलम्ची नदीमा आएको बाढीले कति क्षति पुर्‍याउँछ र कति उचाइसम्मको बस्ती जोखिममा छ भन्नेबारे किटान गर्न नसकिने सीईओ पोखरेलले बताए । ‘ठ्याक्कै कति क्षति हुन्छ भन्न सक्दैनौं । यसको लागि विस्तृत अध्ययन जरुरी छ,’ उनले भने, ‘माथिको लेदो र त्यो बगेर आउनसक्ने सम्भावनालाई ख्याल गरेर नदीको लेभल कति बढ्न सक्छ त्यसले जोखिम आंकलन हुने हो ।’

अध्ययन टोलीमा प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलसहित, विज्ञहरु डा. विष्णु पाण्डे, विज्ञ बसन्तराज अधिकारी, राजेन्द्र शर्मा (हाइड्रोलोजिस्ट), शिवकुमार बानियाँ थिए । उनीहरुले सिन्धुपाल्चोकमा कति क्षति हुन्छ भन्ने आंकलन गर्न अहिले नै नसकिने बताएका छन् । अब सुरक्षित ठाउँमा जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्नु नै उपयुक्त विकल्प भएको उनीहरुको भनाइ छ ।

विज्ञ राजेन्द्र शर्माले तत्कालका लागि तटीय क्षेत्रका वासिन्दाको ज्यान जोगाउनु नै प्राथमिकतामा पर्नुपर्ने बताए । उनले भनेका छन्, ‘सुरुमा त्यस क्षेत्रमा रहेका बासिन्दाको ज्यान जोगाउनुपर्छ । जति सकिन्छ, संरचना बचाउन जालीहरु पठाउन सकिन्छ । तर, सानोतिनो जालीले थेग्न नसक्ने कुरा छ ।’

उनले थपे, ‘लेदो गइराखेको छ । अब माथिल्लो भेगमा के कस्तो छ ? र कहिलेसम्म यो बग्ने हो ? त्यसको अध्ययन गर्नुपर्ने छ । त्यसकारण अब क्याम्प खडा गरेरै विज्ञ टोलीले अध्ययन गर्न जरुरी छ । र त्यस क्षेत्रका बस्ती सारेर अर्को बनाउने हो, कहाँ बनाउने यसको पनि अध्ययन हुन जरुरी छ ।’

कारण थाहा नपाई फर्किए विज्ञ

विज्ञ टोलीले मेलम्ची नदीमा लेदोसहित बाढी आउनुको कारण भने पत्ता लगाएको छैन । आफूहरु लेदोसहितको बाढीको स्रोतसम्म पुग्न नसकेको बताएका छन् । बाढीपहिरो विज्ञ डा. विष्णु पाण्डेले लेदोसहितको बाढीको कारण पत्ता लगाउन नसकिएको बताए । उनले त्यसमा सम्भावित तीन कारण उल्लेख गरे ।

पहिलो – पानी अत्याधिक परेर त्यसले बाढी ल्याउँछ । त्यो बाढीले लेदो पनि बगाउँछ । त्यस क्षेत्रमा पानीको मापन गर्ने यन्त्र नभएका कारण ठ्याक्कै यही हो भन्न सकिन्न । छोटो समयमा ठूलो वर्षा भएर लेदोसहितको बाढी आएको हुन सक्ने उनको भनाइ छ ।

दोस्रो– हिमतालहरु फुटेर आएको हो कि ? मेलम्चीको माथिल्लो क्षेत्रमा चार वटा जति हिमताल छ । तर हिमताल फुटेको सम्भावना ठ्याक्कै स्वीकार्न सकिने अवस्था छैन ।

तेस्रो– पहिरो । पहिरोले थुपारेको माटो सामान्य पानी पर्दा बगेर आएको हुन सक्छ ।

पाण्डेले यीमध्ये एउटा मात्रै कारण नभई धेरै कारण एकैपटक देखिएको पनि हुन सक्ने बताए ।

विज्ञ बसन्तराज अधिकारी पहिरो गएर मेलम्ची नदी थुनिएको र अहिले बगेको हुन सक्ने बताउँछन् । ‘कुनै समयमा माथि नै मेलम्ची खोला पुरिएको हुन सक्छ त्यो अध्ययन गर्नुपर्ने हुन्छ कहिलेदेखि हो पुरिएको भनेर । त्यो पुरिएको माटो विस्तारै अहिले बगेको हुन सक्छ’ उनले भने ।

अहिले आएको बाढीबाट तटीय क्षेत्रका मानिसहरु कत्तिको जोखिममा छन् भन्ने अनुमान गर्न नसकिने उनले बताए ।

विज्ञ शिवकुमार बानियाँले पनि नदी छेउमा पहिरोले थुपारेको माटो बगेको हुन सक्ने बताए । ‘अहिले लेदो सहितको बाढी आउनुमा नदीको छेउमा एउटा पहिरो गयो र विस्तारै खोलिएर यो आएको हुन सक्छ’ उनले भने ।

हाइड्रोलोजिस्ट विज्ञ राजेन्द्र शर्माले अहिलेको बाढीले मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्योलमा देखिएको पनि शर्माले बताए । ‘माथि जमेर रहेको (माटो) कालान्तरमा सबै झर्ने नै हो । पछि झर्दै गएपछि खानेपानीको भविष्य के हुने हो ? यसबारे पनि अध्ययन हुन जरुरी छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment