Comments Add Comment

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ ।

शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

‘प्रश्न पत्र बाहिरिएको भन्ने प्रमाण त भेटिएको छैन तर आशंकामा छानविन भइरहेको छ’ उनले भने । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रश्न पत्र बाहिरिएको गुनासोपछि परीक्षा निर्धारित समयभन्दा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

एक प्रहरी अधिकृतको दाबी अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा प्रश्न पत्र पुगेको थियो । ‘प्रश्न पत्र बनाउने तल्लो दर्जाका अधिकृतहरुले चिनजानको अफिसरलाई दिएको हुनसक्छ’ उनले भने, ‘यो प्रश्न बनाउनेहरुको गम्भिर गल्ती हो ।’

प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि–स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment