Comments Add Comment
विश्व स्तनपान सप्ताह विशेष :

स्तनपानसँग सम्बन्धित १० भ्रम र तथ्य

सधैं जस्तो हरेक वर्ष मनाइने विश्व स्तनपान सप्ताह यो वर्ष पनि शुरु भएको छ । अंग्रेजी पात्रो अनुसार अगस्ट १ देखि ७ सम्म मनाइने स्तनपान सप्ताह विश्वका १२० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नारा सहित नेपाल सरकारले पनि २५औं विश्व स्तनपान सप्ताह शुरु गरिसकेको छ ।

स्तनपानका बारेमा सचेतना जगाउँदै यस सम्बन्धी भ्रम तथा अप्ठ्याराहरुको निवारण गर्नु यस्ता कार्यक्रमको सबैभन्दा मुख्य उद्देश्य हुने गर्छ । सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रमले २५ वर्ष पूरा गरिसकेको भए पनि हाम्रो समाजमा अझ पनि स्तपान र स्तनपान स्वास्थ्यका बारेमा प्रशस्त भ्रम तथा गलत जानकारी रहेका छन् । अझ अनधिकृत जानकारीहरुले गर्दा इन्टरनेटबाट प्राप्त जानकारी पनि भरपर्दा नहुन सक्छन् ।

स्वास्थ्यकर्मी भएको नाताले म आफू स्वयंले मानिसहरुमा रहेको स्तनपानका अप्ठ्यारा र भ्रमहरुको सामना गरेको छु । यसैले आज यो लेखमा स्तनपान र स्तनपानसँग सम्बन्धित भ्रम तथा गलत जानकारी र त्यसको वैज्ञानिक खण्डनहरुका बारेमा केही जानकारी हुनेछ ।

भ्रम १ : स्तनपान सम्बन्धी समस्या महिलाहरुका मात्रै समस्या हुन् ।

तथ्य : धेरैलाई लाग्ने गर्छ, यसका बारे महिलाहरुले मात्रै जाने अथवा सजग भए पुग्छ । पुरुषहरुको यसमा भूमिका हुँदैन । तर स्तनपानमा प्रत्यक्ष रुपमा आमा ९महिला० र बच्चा मात्रै संलग्न हुने भए पनि पुरुष तथा सम्पूर्ण परिवारको नै यसमा भूमिका हुनुपर्दछ जसले गर्दा बच्चाले पूर्ण स्तनपान गर्न पाउँछ ।

बच्चालाई दिनमा पटक पटक स्तनपान गराउनुपर्ने भएकाले आमाका लागि समयलाई व्यवस्थापन गर्न तथा दूधको मात्रा बढाउन पनि परिवारले स्तनपानका बारेमा जानकारी राख्नुपर्छ । स्तनपान सम्बन्धी कुनै समस्या भए यसले आमा र बच्चाको स्वास्थ्यमा फरक पार्न सक्छ र सोको लागि परिवार सचेत र सहयोगी हुनुपर्छ ।

भ्रम २ : जन्मिएपछि बच्चाले र बच्चा भएपछि आमाले आफैं सिक्छन् ।

तथ्य : हो, सामान्यतया बच्चामा प्राकृतिक ज्ञान हुन्छ जसले गर्दा उनीहरुको ओठमा छोएका वस्तुहरु जिब्रोले तानेर मुखभित्र राख्छन् र चुस्न थाल्छन् ।
तर याद राख्नुपर्ने कुरा के हो भने स्तनपान भनेको बच्चाले स्तन मुखमा राखेर चुस्नु वा आमाले चुसाउनु मात्रै होइन । पूर्ण र स्वस्थ स्तनपानका लागि आमाले बच्चाहरुलाई उमेर अनुसार दिनमा धेरै पटक स्तनपान गराउनुपर्दछ भने स्तनपानका लागि सही आसन पनि हुनुपर्दछ ।

बच्चाको नाक छोपेर, आमाले उभिएर स्तनपान गराउनुहुँदैन । स्तनपान गराउँदा बच्चालाई कसिलोसँग समाउनुपर्छ । यस्ता धेरै जानकारी महत्वपूर्ण हुन्छन् जसलाई केवल बच्चा जन्मिने बित्तिकै बच्चा र आमाले सिक्न सक्दैनन् । कतै वा कसैबाट सिक्नै पर्छ ।

भ्रम ३ : स्तनपान गराउँदा दुख्नु स्वाभाविक हो ।

तथ्य : भर्खरै बच्चा जन्माएका आमाहरुको स्तनमा भएको परिवर्तनले सामान्य केही असजिलो महसूस हुनु सामान्य मान्न सकिन्छ तर स्तनपानकै कारणले स्तनमा दुखाइ महसूस भइरहनु वा स्तन पाछ्नु स्वाभाविक होइन ।

बच्चालाई स्तनपान गराउने आसन नमिलेको अवस्थामा पनि दुखाइ वा पाछेको अनुभव हुन सक्छ । यसैले बच्चालाई सही तरिकाले स्तनमा मिलाउने गर्नुपर्छ । यदि यति गर्दा पनि स्तनको दुखाइ रहिरहेमा भने स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उचित हुन्छ ।

भ्रम ४ : बजारमा पाइने अरु कुराहरु पनि आमाको दूध समान हुन्छन् ।

तथ्य : बच्चाका लागि आमाको दूध सबैभन्दा उत्तम हुन्छ । ६ महीनासम्मका शिशुहरुलाई आमाको दूध पर्याप्त हुन्छ भने उनीहरुलाई सही तरिकाले स्तनपान गराएको भए पानी पनि पिलाउनु पर्दैन । यसैले विकल्प रहुञ्जेल स्तनपानको तुलनामा अन्य कुनै विधि पनि उत्तम हुँदैनन् ।

तर स्तनपान हुन नसक्ने अवस्थामा बजारमा पाइने आमाको दूधको विकल्पका कुराहरुमा भर पर्न सकिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरुसँग उचित सल्लाह गरेर सुझाव अनुसारका सामग्रीहरु मात्रै प्रयोग गर्ने गर्नुपर्छ । विज्ञापन वा अनधिकृत सल्लाहका आधारमा प्रयोग गर्नुहुँदैन ।

भ्रम ५ : आमा बिरामी भएका बेला वा औषधि खाएको बेला स्तनपान गराउनुहुँदैन ।

तथ्य : सामान्यतया, आमा बिरामी भएका बेला पनि बच्चालाई नियमित स्तनपान गराइरहनुपर्दछ । यसले गर्दा आमाको शरीरमा विकास भएको रोगसँग लड्ने क्षमता बच्चामा पनि पुग्न सक्दछ ।

त्यस्तै, सबै किसिमका औषधि खाएका बेला स्तनपान छुटाउनै पर्छ भन्ने हुँदैन । विशेष प्रकारका औषधिहरुको सेवन गर्दा भने बच्चालाई स्तनपान नगराउँदा राम्रो हुन सक्छ । कुन औषधि खाँदा स्तनपान नगराउने भन्ने बारेमा कुनै औषधि सेवन गर्नु परेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्दा राम्रो हुन्छ ।

भ्रम ६ : सुतिरहेको बच्चालाई स्तनपानका लागि ब्यूँझाउनु हुँदैन ।

तथ्य : यदि शिशु तीन महिना पनि पुगेको छैन र स्तनपान गर्न पारंगत भइसकेको छैन भने स्तनपान गराउन बच्चालाई नब्यूँझाउनु अस्वस्थकर हुने गर्छ । जन्मेको केही दिनमा शिशु असाध्यै धेरै निदाउने गर्दछन् । यसैले बच्चालाई स्तनपानको बानी पार्न तथा शरीरमा आवश्यक पोषण पूरा गराउन स्तनपान अनिवार्य हुन्छ ।

यसैले बच्चा निदाइरहेको छ भने पनि उसलाई स्तनपान गराउनुपर्छ । लामो समय भोको रहेको शिशु झन् धेरै निदाउने गर्दछ र स्वास्थ्यमा समस्या हुने गर्दछ । सामान्यतया, शिशुले चाहेको बेला एकदिन (दिन र रात) मा कम्तीमा १० देखि १२ पटक आमाको दूध मात्र खुवाउनुपर्छ । शिशुले चाहेमा सो भन्दा बढी पटक पनि खुवाउन सकिन्छ । जति धेरै दूध चुसायो, त्यति धेरै दूध उत्पादन हुन सहयोग हुन्छ ।

भ्रम ७ : आमाको कसरत र खानाले दूधको स्वाद फेरिने हुनाले आमाले सादा खाना मात्रै खानुपर्छ ।

तथ्य : कसरत गर्नु राम्रो हो । कसरतकै कारणले दूधको स्वाद फेरिने वा थप पौष्टिक दूध उत्पादन हुन्छ भन्ने कुरा पुष्टि भएको छैन ।
त्यस्तै, सबै सामान्य मानिसले जस्तै सुत्केरी आमाले पनि सन्तुलित खाना खानु आवश्यक हुन्छ । यसैले सामान्य अवस्थामा आमाले खाइरहेका सबै किसिमका खानेकुराहरु बच्चाको जन्मपछि पनि खान हुन्छ ।

शिशु पेटमा रहँदाको समयदेखि नै आमाले खाने खानासँग बच्चाको सम्पर्क हुने भएकाले नियमित खानाले बच्चालाई केही पनि फरक पर्दैन । यदि त्यस्तो अवस्था नरहेर बच्चाले आमाको खानामा पर्ने फरकको कारण भिन्न प्रतिक्रिया देखाएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उचित हुन्छ ।

भ्रम ८ : धेरै स्तनपान गरेमा बच्चाहरु पुल्पुलिन्छन् ।

तथ्य : हरेक शिशुहरु विशेष र अलग हुन्छन् । सबैको आ-आफ्नो स्वभाव र संवेदना हुन्छ । यसैले कोही बच्चा पुलपुलिने किसिमका हुन्छन् भने कोही अलग स्वभावका हुन्छन् ।

स्तनपानले बच्चाका लागि आवश्यक उत्तम पोषण उपलब्ध गराउँछ जुन मस्तिष्कको विकासका लागि अपरिहार्य हुन्छ । स्तनपानले बच्चाको स्वभाव र संवेदनामा पूर्ण असर गर्ने पुष्टि भएको नभए पनि धेरै स्तनपान गर्ने बच्चाहरुको आमासँगको सम्बन्ध भने बलियो हुने मानिन्छ ।

भ्रम ९ : एक वर्षभन्दा बढी स्तनपान गराए पछि दूध छुटाउन गाह्रो हुन्छ ।

तथ्य : एक वर्षभन्दा बढी स्तनपान गराएकै कारणले दूध छुटाउन गाह्रो पर्ने बारेमा कुनै पनि प्रमाण भेटिएका छैनन् तर कम्तीमा दुई वर्ष स्तनपान गराउँदा बच्चामा पर्ने सकारात्मक प्रभावका बारेमा भने पुष्टि भएका छन् । यसले आमा र बच्चा दुवैलाई फाइदा गर्ने गर्दछ ।

हरेक आमा र बच्चाहरु फरक हुन्छन् । यसैले आमा र बच्चाको आपसी व्यवहारमा दूध छुटाउनु सबैभन्दा राम्रो हुन्छ । यसका लागि अन्य बाहिरी प्रभावलाई मुख्य कारक बनाउनुहुँदैन ।

भ्रम १० : आमालाई कोरोना संक्रमण भएको बेला स्तनपान गराउनुहुँदैन ।

तथ्य : यो आमधारणा हो तर अहिलेसम्म आमाको दूधबाट बच्चामा कोरोनाभाइरस संक्रमण भएको प्रमाणित भएको छैन । तर बच्चालाई स्तनपान गराउँदा मास्क लगाउने, हातहरु राम्ररी धुने जस्ता कोरोना संक्रमण हुन नदिन गरिने सावधानीका उपायहरु भने अपनाउनुपर्दछ ।

सामान्य अवस्थामा समाजमा स्तनपान बारेमा अहिले व्याप्त भ्रमहरु माथि उल्लेख गरेकाहरु नै रहेका छन् । यसका अतिरिक्त कुनै जानकारी रहेमा सो जानकारीहरु सही छन् वा गलत भन्ने बारेमा स्वास्थ्यकर्मीहरुसँग सल्लाह गर्नु उचित हुन्छ । छरछिमेकमा सुनेका भरमा अथवा इन्टरनेटमा पढेका भरमा स्तनपानमा नयाँ प्रयोग गर्नु भने हुँदैन ।

(लेखिका स्याफ्रुबेसी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment