Comments Add Comment

एक वर्षमा १ लाख ७ हजार घर पुनर्निर्माण

वित्तीय प्रगति ९० प्रतिशत  

१९ साउन, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण पुरा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाषिर्क समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार यो आवमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् ।

४१ हजार ७३८ हजारले भने अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् । ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।

यो आवमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको समेत तथ्यांक छ ।

प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सबै २१६ वटा सुरक्षा निकायका भवनको समेत पुनर्निर्माण पुरा भएको प्राधिकरणले जनाएको छ ।

कोभिड महामारीलगायत समस्याका बाबजुद गत आर्थिक वर्षमा पुनर्निर्माणमा वित्तीय प्रगति भएको छ । निजी आवासतर्फ विनियोजित कूल बजेट रु. २३ अर्ब ८४ करोड ८८ लाखमध्ये रु. २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ९०.४१ प्रतिशत हो ।

समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

सम्पदा पुनर्निर्माणमा सफलता

गत आव सार्वजनिक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माणमा समेत उल्लेखनीय प्रगति भएको प्राधिकरणको भनाई छ । रानीपोखरी पुनर्निर्माण सम्पन्न भई २०७७ कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको छ ।

सिंहदरबारको पश्चिमबाहेकका मोहडा र धरहरा स्तम्भको पुनर्निर्माण समेत सकिएको छ । यस अवधिमा काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भई अध्ययन-अध्यापन सुरु भएको छ ।

यस अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएका छन् । यो अवधिमा राष्ट्रिय पुनर्निर्माण निर्देशक समितिका तीनवटा बैठक सम्पन्न भएका छन् । त्यस्तै, कार्यकारी समितिको १३४ औं देखि १४७ औं गरी १४ वटा बैठक सञ्चालन भएका छन् । सोही आर्थिक वर्षमा प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धमा भर्चुअल माध्यमबाट राष्ट्रिय परिसंवाद र पुनस्र्थापना तथा पुनर्निर्माणका अनुभवहरुको समीक्षा गर्न सेमिनारको आयोजना पनि गरेका समेत जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने र घर नबनाउनेहरुले के कारणले घर बनाएनन् भन्ने अभिलेख राखिने जानकारी दिए ।

आगामी दिनमा प्राधिकरणले लेखा परीक्षण, अभिलेखीकरण तथा हस्तान्तरणका कार्यहरु समानान्तर रुपमा अगाडि बढाउने उनको भनाई छ । प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment