Comments Add Comment

गर्नु गर्याै‍ कोरोना ..

गर्नु गर्याैसुन्तली साहुनी बनेर भने झै कोरोनाले पनि भयानक आतंक बनेर हामीलाई पिरोल्नसम्म पिरल्यो ।

कोरोना भाइरस संक्रमणले मान्छेको ज्यानलाई त थिलथिलो बनाइरहेकै छ, त्यसले हामीजस्ता उद्यम गर्नेहरुको घाँटी पनि निमोठिदिएको छ । कोरोना रोग मात्र बोकेर आएको छैन, डरलाग्दो शोकधुन बजाउँदै आएको छ । यसले कसैलाई अस्पतालको शैयामा पु¥याइदिएको छ, कसैलाई सडक किनारमा ।

नआउनु कोरोना आइहाल्यो । कोरोना संक्रमणको विश्वव्यापी हल्ला चलेसँगै हामी पनि डरायौं । सर्तक भयौं । एक जना कोरोना संक्रमित फेला पर्नसाथ उनको ट्राभल हिस्ट्री नै खोजियो । उनको उपचार भयो । तर, कोरोना संक्रमण रोक्न सरकारले सुरुमा जुन तदारुकता देखायो, पछि भने सरकार लाचार बन्दै गयो । एकातिर कोरोना संक्रमण भूसको आगो झै फैलदै थियो, सरकार भने यसबाट आफ्नो खल्तीको हिसाब–किताब मिलाउने दाउपेचमा थियो ।

कोरोनाको कुनै उपचार थिएन । लक्षण अनुसार उपचार खोज्नुपर्ने स्थिती थियो । र, सबैभन्दा राम्रो त कोरोना लाग्न नदिनु नै थियो । यसको सुरक्षात्मक विधी थियो, मास्क लगाउनु र भौतिक दूरी कायम गर्नु । तर, ‘वीर’ नेपालीहरु कहाँ टेर्थे । भिडभाड गर्ने र भोज भत्तेर गर्ने काम रोकेनन् । फलतः कोरोना अनियन्त्रित रुपमा फैलियो ।

यतिबेला पो सरकार ‘जब भयो राती, अनि बुढी ताती’ भनेझै गर्न थाल्यो । सरकारले लकडाउन ग¥यो । यसले कोरोना थामिने वा नियन्त्रण हुने कुरा आफ्नो ठाउँमा होला, तर धेरैको आयआर्जन चाहि ‘लक’ र ‘डाउन’ नै भयो ।

लकडाउनपछि केही मत्थर भयो । लकडाउन खुकुलो बनाइयो । मान्छेहरु बँधुवा बस्तुभाउ दाम्लोबाट छाडिए झै भए । सबै यताउता लागे । कोही कामको खोजीमा लागे, कोही मामको खोजीमा । फेरी कोरोनाले लखेट्न थाल्यो । सरकारले लकडाउन घोषणा ग¥यो ।

यसरी किस्ताबन्दीमा भएको लकडाउनले कसलाई कति असर ग¥यो ? त्यसको लेखाजोखा होला नै । हामी जस्ता केही गरौं भनेर लागिपरेकाहरुलाई भने नराम्ररी सतायो । होटल, रेष्टुरेन्ट अर्थात हस्पिटालिटी व्यवसायमा लागेकाहरु कोरोनाको भूतबाट निकै प्रताडित बन्न पुग्यो ।

कोरोना नआइदिएको भए यतिबेलासम्म अवस्था अर्कै हुन्थ्यो । भ्रमण बर्ष २०२० सुरु हुँदै थियो । पर्यटक भित्र्याउने लक्ष्यका साथ कामहरु अगाडि बढ्दै थिए । एउटा सुनौलो युगको प्रतिक्षामा हामी उत्साहित थियौं ।

विदेशमा रगत–पसिना बगाएर जुटाएको पैसा, बाउ बाजेले जोडेको घरजग्गासम्म च्याखे दाउमा राखेर हस्पिटालिटी एवं होटल–रेष्टुरेन्टमा लगानी गरियो । ठूलै फलिफाप हुन्छ कि भन्ने आशा गरियो । जताततै रेष्टुरेन्ट, होटल खोलिए । खानपान र सेवासुविधामा स्वस्थ्य प्रतिस्पर्धा भयो ।

शहरका गल्ली गल्लीमा खुले, डाँडाकाडाँ, खोला खहरे हरेक ठाउँमा नयाँ नयाँ योजनाका साथ भव्य सुविधा सहितका होटल तथा रेष्टुरेन्ट खुले ता कि लाखौंलाख बिदेशी पाउनालाइ कुनै असुविधा नहोस् । जब कोरोना काल सुरु भयो त्यसपछि सरु भयो रेस्टुरेन्ट व्यवसायीको महाकाल ।

जम्मा डेड वर्षे अबधिमा कयौं रेष्टुरेन्ट व्यवसाय सदाको लागि बन्द भए त कयौं व्यवसायीहरु अझैपनी बचाउन सकिन्छ कि भनेर लागि परेका छन् । अर्बौंको लगानी, हजारौंलाई रोजगारी र करोडौं कर तिरेता पनि कोरोनाकालमा सरकारले रेष्टुरेन्ट व्यवसायीलाई  गरेको व्यबहार खेदजनक छ ।

करोडौं लगानी गरेको रेष्टुरेन्ट आजसम्म खुल्न पाएका छैनन्, लाखौंलाख भाडा तिरेर वसेका व्यवसायीले न त घरबेटीलाइ भाडा तिर्न सकेका छन् न त बैंकलाई व्याज नै । आज शहरका सबै व्यबसाय निर्वाध रुपमा खुल्दा रेष्टुरेन्ट अझै खुल्न सकेका छैनन् । ह

जबकि यहाँ हरेक दिन सरकारको समर्थनमा एउटा जुलुस, सरकारको बिपक्षमा अर्को जुलुस, नागरिक अगुवाको, अधिकारकर्मी र अरु पेट पाल्ने आन्दोलनकारीको बाह्रमासे आन्दोलन र जुलुसको त कुरै नगरौं ।  ती सबैबाट कहिल्यै कोरोना सरेन, तिनलाई नियम कानुन त लाग्ने कुरै भएन ।

कुनैपनि सरकारी काम र अझ कर तिर्दा कोरोना नसर्ने भनेर सरकारले घोषणा मात्रै गरेको छैन व्यवहार भने त्यस्तै छ । रेष्टुरेन्टमा पनि कुनै पार्टीको कार्यक्रम र कार्यकर्ता भेला भयो भने कोरोना सर्दैन तर आम मान्छे आएर खाउँ भने कोरोना फैलन्छ ।

धोक्रोमा धान खाँदेको जसरी मान्छे खाँदेर कुदाएको गाडीमा कहिल्यै कोरोना सर्ने डर भएन तर सयौं मान्छे अटाउने रेष्टुरेन्टमा एक टेबुल ग्राहक बस्दा कोरोना फैलाएको आरोपमा समातिए ।

सरकार ! हामीलाइ गरिखाने अधिकार छैन ? हरेक क्षेत्रमा मानिसले खोप लगाइसक्दा रेष्टुरेन्ट व्यवसायी र श्रमिकलाई कोरोना खोप लगाउन पाउने अधिकार छैन ? के रेष्टुरेन्ट व्यवसायीहरु अनागरिक हुन ? व्यवसायी माथी सरकारको कुनैपनी जिम्मेवारी भन्ने हुन्न ? हामीले रेष्टुरेन्ट चलाउन अपनाउन पर्ने स्वास्थ्यका मापदण्डहरु के के हुन हामी त्यो सबै पूरा गर्न तयार छौं भन्दा पनि हाम्रो सुनुवाइ हुन्न ?  फेरि पनि भन्छु, सरकार भनेको राज्यको अभिभावक हो, अभिभावकले  हरेक वर्ग र क्षेत्रका नागरिकलाई समान व्यवहारले हेर्नुपर्छ ।  हैन भने हाम्रो पनि तालाचबीको जिम्मा लिइदिनुहोस् । बैङ्कको व्याज र घटबेटीको भाडाको जिम्मा लिइदिनुहोस् ।

हाम्रा मजदुर र तिनका परिवारको जिम्मा लिइदिनुहोस् । हामी बन्द गर्न तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment