Comments Add Comment

प्रदेश १ मा ९४ प्रतिशत धान रोपाइँ सकियो

फाइल तस्वीर

२० साउन, विराटनगर । प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

१४ जिल्ला रहेको प्रदेश १ मा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयकी प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर र धनकुटामा ६ हजार ३६० हेक्टरमा धान रोपाइँ गरिएको छ ।

यस्तै उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलढुंगामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment