Comments Add Comment

किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ । भाग्दै, लुक्दै मातृभूमीसम्म आइपुग्दा उनीसँग सुदूर अतितका स्मृतिहरु मात्र बाँकी रहन्छ । रित्तो हात, रित्तो जीवन, रित्तो सपना ।

झापाको खुदुनाबारी शिरिरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ । शरणार्थी शिविरमै उनको घरजम हुन्छ । त्यही शिविरमा जन्मन्छन्, किरण । कस्तो विडम्बना ! जन्मदै अनागरिक ।

एउटा अबोध बच्चाको न भूगोल छ, न भविष्य । न स्थायी चिनारी छ न त दिगो जीवन । उनका लागि त्यो शिविर नै सम्पूर्ण संसार । त्यही संसारमा खेल्छन्, हुर्कन्छन् ।

आफु जन्मिएको घर, खेलेको आँगन र आफुसँग रमाउने दौतरीमध्ये धेरैजसोलाई छाडेर हिड्नपर्ने क्षण पनि आउँछ एकदिन । उनी आमाबुवासंग अमेरिका पुग्छन् । अमेरिका, जसले उनलाई भौतिक सुख–सयल दिन्छ, तर चिनारी दिदैन । आखिर त्यहाँ पनि उनी परदेशी हुन् ।

उनी आफ्नो असली चिनारी पर्गेल्न जन्मभूमी फर्कन्छन् । गायनले उनलाई आत्मासम्मानबोध गराएको छ । उनले नेपाली संगीतकै आलोकमा यश कमाउने मनासय राखेका छन् । यतिबेला ‘भ्वाइस अफ नेपाल’को स्टेजबाट आप्mनो चिनारी बनाइरहेका छन् उनी ।

संगीत : नेपाली भाइचारा बढाउने शक्ति

कति रात भोकै सुतेर त कति दिन खाली खुट्टा हिडेर किरण गजमेरले १४ बर्ष झापाको शरणार्थी शिविरमा बिताए । न उनी आफूलाई गर्वका साथ नेपाली भन्न सक्थे न त भुटानी नै ।

एक दशकअघि भुटानी शरणार्थी शिविरवासीको नियतीमा नयाँ मोड आयो । अमेरिका र युरोपका सात देशले संरक्षण दिने भनेपछि शरणार्थीहरु त्यतै लागे ।

युरोप–अमेरिका पुगेपछि सबैको जीवनशैली फेरियो, जीवनस्तर अर्कै भयो । किरण पनि मेडिकल शिक्षाको विद्यार्थी बने । गला गतिलो थियो, फुर्सदमा गिटार फिट्दा फिट्दै गीतसंगीत कम्पोज गर्न थाले । मन भने सूदुर पुर्वको नेपालतिरै उडिरहन्थ्यो ।

‘नेपाल र नेपालीको माया सधै मेरो शिरमा छ’, उनी भन्छन्, ‘त्यो मायाले मलाई नेपाली गीतसंगीत आत्मासात गरेर हिड्न सिकायो । यो बाटोमा मलाई आनन्दको अनुभुती हुन्छ ।’

‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि सार्बजनिक ध्यानाकर्षको पात्र बनिसकेका किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि गाए । इमेज, कालिका एफएम लगायत चर्चित अवार्डहरु पाए ।

‘भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसनमा उनले ‘देखेर तिमीलाई’ बोलको गीत गाए । त्यसपछि पाएको प्रशंसा र साथले आफुलाई धेरै उत्साहि बनाएको उनी बताउँछन् ।

‘अहिले विश्वका हरेक ठाउँमा नेपाल छ । संसारभरका नेपाली भाषीको आवाज बन्ने मेरो उद्देश्य हो’, उनी भन्छन्, ‘हामी एउटै नेपाल आमाका सन्तती हौं । मैले नेपाली भाइचारा बढाउने शक्ति संगीतमा पाएको छु । त्यसैको लागि अहिले ‘भ्वाइस अफ नेपाल’को स्टेजमा आएको हुँ । ’
‘विदेशी हो, विदेशमै भाग्छ !’

‘द भ्वाइस अफ नेपाल’ यात्रामा किरणले आरोपहरु पनि खेप्न परेको छन् । उनलाई ‘विदेशी हो, विदेश भागिहाल्छ नि’ भन्दै खसाल्नेहरु पनि छन् । तर, उनी भन्छन्, ‘संगीतको माध्यमबाट नेपाली भाषा–संस्कृतीको सेवा गर्नु, नेपाली भाइचार बढाउनु मेरो सपना हो । यो सपनाबाट म कहिल्यै विचलित हुन्न ।’

किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । लगातार यती लामो समय नेपाल बसेको मुल्य आफुले अमेरिकामा चुकाइरहेको उनी बताउँछन् । यो अवस्थामा ‘यो विदेशी हो, विदेशमै भाग्छ’ भन्नेजस्ता कुरा सुन्दा स्वभाविक रुपमा दुःख लाग्ने गरेको उनी सुनाउँछन् ।

तर, लामो यात्रा गर्न चाहने यात्रीले बाटोमा थुप्रै हण्डर सहनुपर्ने कुरा उनले बुझेका छन् । यात्राको सुरुतिरैको हण्डरबाट थकान महशुश गर्नेवाला देखिदैनन् किरण । ‘फजुल आरोप लाग्दा दुःख त लाग्छ’, उनी भन्छन्, ‘तर, मैले त्यस्तो सोच र आरोपलाई गलत साबित गर्ने हो ।’
प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका छन्, किरण । गायन शैली मिल्ने भएकाले प्रमोदलाई कोच बनाएको किरण बताउँछन् ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए । उनलाई ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई…’ गाउन लगाउने कर्ण नै थिए । यसक्रममा धेरै प्राविधिक कुरा पनि थाह पाएको किरणको अनुभव छ ।

‘मैले जित्दा प्रमोदको टिमले जित्छ’

प्रमोदकै टिमबाट लाइभ राउन्डमा पुगेका रवि गहतराजसंग किरणको चर्को प्रतिस्पर्धा चल्यो । दुबै फाइनलमा पुग्न सक्ने भन्दै सामाजिक संजालमा बहस चलिरहँदा रवि बाहिरिन पुगे ।

‘यसमा मलाई पनि दुःख लागेको छ’, किरण भन्छन्, ‘बाहिर जस्तो चर्चा चलेपनि हामी धेरै मिल्ने साथी हौं । हामीबीच कहिल्यै कुनै समस्या भएन । अब मैले जित्दा रविले जितेको हुनेछ । मैले ट्रफी जिते भने त्यसको हकदार टिम प्रमोदका सोह्रै जना हुनेछन् ।’
किरणले विश्वभरका नेपालीबाट समर्थन पाएका अनुभव गरेका छन् । आफु पनि सबै नेपाली भाषीको आवाज र सपना बोकेर आएको यी भावूक स्वभावका गायकको भनाई छ । ‘देशले नै निकालिदिएको विरुवामा लागेको फल हुँ म’, उनी भन्छन्, ‘मलाई प्राप्त मायाका लागि सम्पुर्ण नेपाली भाषीप्रति हार्दिक आभार र खुशी व्यक्त गर्न चाहन्छु ।’

हरेकपटक गाउदा आफूमाथि रहेको विश्वभरका नेपालीको आशालाई निराशामा अनुवाद हुन दिनु हुदैन भन्ने सोच्ने गरेको किरण बताउँछन् । ‘मलाई अब नेपाली नागरिकता पाउँछु भन्ने आशा छैन’, उनी भन्छन्, ‘गाएर विश्वभरका नेपालीलाई जोड्न सकेँ भने त्यो पाए सरह हुनेछ ।’
देश विनाका नागरिक

किरणसंग अमेरिकाको पासपोर्ट छ । तर, उनलाई यसले सन्तुष्टी दिएको छैन । हजारौंका लागि ‘सपना’ बनेको अमेरिकामा उनको घर छ, तर देश नहुनुको छटपटी उनमा छ ।
भुटानका राजाले गोरखाका राजा राम शाहलाई भनेर नेपालीलाई भुटान लैजान थालेको इतिहास छ । कालान्तरमा नेपाली मूलका नागरिकहरुको प्रभाव बढ्दै गयो । नेपाली भाषीहरुले आप्mनो भाषा–संस्कृती, भेषभुषाको सम्बर्धन गर्दा भुटानी शासकहरुले ‘थ्रेट’ महसुस गरे । अनि झिके पोशाक र भाषा बिबाद ।

भुटान सरकारले गरेको ‘नेपालीपन निषेध’ नेपाली भाषीहरुको लागि मान्य हुने कुरै थिएन । त्यसपछि सुरु भयो दमन र रातारात देश निकाला । त्यसरी करिब एक लाख नेपालीभाषी भुटानी नागरिक पुर्वी नेपालको झापा र मोरंग जिल्लाका खोला किनार र गौचरनवासी बन्न वाध्य भए ।
केही समयपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहलमा भुटानी शरणार्थीहरुका लागि फरक–फरक ठाउँमा शिविरहरु बने । गोलदाप शिविरकी आमा र खुदुनाबारी शिविरमा रहेका बाबुको बिहे भएपछि किरणको जन्म भयो ।

खुदुनाबारी शिविरको स्कुल पढ्दा किरणले पहिलो पटक अरुलाई सुनाउन गीत गाएका थिए । ‘सबैले राम्रो भने’, उनी सम्झन्छन्, ‘त्यसपछि सन् २००५ मा बाल गीत रेकर्ड भयो । एउटा संस्थाले त्यो बालगीत गाउन खुदुनाबारी शिविरबाट मलाई छानेको थियो ।’
हामीले सुरुमा भने जस्तै, किरण गजमेर हजारौ चोट र ताप सहेर बनेको एउटा धारिलो हतियार हो, जसको परख अहिले देशकै चर्चित ‘रियालिटी शो’मा भइरहेको छ । र, देश खोजिरहेको उनको आवाजले लक्ष भेट्ने सम्भावना बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment