Comments Add Comment

गुगलका नयाँ पिक्सेल फोनमा आफ्नै प्रोसेसर

स्मार्टफोनको दुनियाँमा एप्पल र सामसुङ सदैव चर्चा र लोकप्रियताको शिखरमै रहने गर्दछन् । शाओमी तथा हुवावेलगायतका चिनियाँ कम्पनीहरुले पनि विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहँदा गुगलका पिक्सेल फोनले भने उपभोक्ताको मन खासै जित्न सकेका छैनन् ।

यसैबीचमा गुगलले यो वर्षको अन्त्य सम्मका गुगल पिक्सेल ६ र गुगल पिक्सेल ६ प्रो गरी दुईवटा नयाँ स्मार्टफोन लञ्च गर्दैछ । गुगलका यी नयाँ स्मार्टफोनमा केवल अति उत्कृष्ट क्यामरा तथा आकर्षक डिजाइन र फिचरहरु मात्र हुने छैनन् नितान्त नयाँ खाले प्रोसेसर हुनेछ । अर्थात् नयाँ संस्करणका गुगल पिक्सेल स्मार्टफोनमा गुगलले आफैले उत्पादन गरेको गुगल प्रोसेसरको प्रयोग गर्ने भएको छ ।

गुगलले आफ्ना स्मार्टफोनमा आफ्नै डिजाइन तथा उत्पादनको चिपसेट प्रयोग गरेको त्यो नै पहिलो पटक हुनेछ । नयाँ पिक्सेल फोनमा प्रयोग हुने गुगलको प्रोसेसरको नाम टेन्सर (Tensor) हुने गुगलले एक ब्लग पोष्टमा जनाएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा वर्षौंदेखिको अनुभव भएतापनि मोबाइल प्रोसेसरको बजारमा गुगल नयाँ खेलाडि बन्दैछ ।

गुगलका हार्डवेयर विभाग प्रमुख रिक ओस्टरलोह भने यस क्षेत्रमा गुगल एक मबजुत चुनौतिको रुपमा स्थापित हुँदै गएको कुरामा कुनै आशंका नरहेको दाबी गर्दछन् ।

यद्यपि आफ्ना स्मार्टफोनका प्रोसेसर आफैले डिजाइन गर्नेमा गुगल पहिलो भने होइन । यसअघि नै एप्पलले आइफोनको चौथो सिरिजबाटै प्रोसेसरको डिजाइन आफैले गर्दै आएको छ ।

सामसुङले पनि अन्तराष्ट्रिय बजारमा बेचिने धेरै फोन तथा ट्याबलेटहरुमा ठूलो मात्रामा आफ्नै प्रोसेसरहरुको प्रयोग गर्दछ । गुगलले चाहीँ लामो समयदेखि चिपसेट उत्पादनका लागि क्वालकोमसँग सम्झौता गर्दै आएाके छ । तर क्वालकोम सँगको १५ वर्षे सहकार्य तोड्दै अब चाहीँ गुगलले आफैले चिपसेट डिजाइन गर्नेछ ।

ओस्टरलोहका अनुसार गुगल पिक्सेल ६ सिरिजमा प्रयोग हुने टेन्सर प्रोसेसर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित हुनेछ । यद्यपि यसको बारेमा विस्तृत विवतरण चाहिं उनले खुलाएका छैनन् ।

गुगलका नयाँ फोन सन् २०२१ को अन्तिम त्रैमासिक सम्ममा लञ्च हुनसक्ने बताइएको छ । आसन्न फोनहरुको विस्तृत विवरण लञ्चताका नै सार्वजनिक गरिने गुगलले जनाएको छ ।

स्मरण रहोस् गुगलले सन् २०१६ मा पहिलोपटक पिक्सेल फोन बजारमा ल्याएको थियो । यसबीचमा गुगलले आफ्ना पिक्सेल फोनमा एचडिआर प्लस, नाइट साइटलगायतका आर्टिफिसियल इन्टेलिजेन्स क्यामरा प्रविधि ल्याएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment