Comments Add Comment
ब्लग :

लाम्चे कछुवाको नालीबेली

‘द रेप्टाइल डाटाबेस’ सन् २०२१ का अनुसार हाल विश्वमा ३६१ प्रजातिका कछुवा पाइन्छन् । त्यसमध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने अनुमान गरिएको भए पनि चार प्रजातिका कछुवा प्राकृतिक वासस्थानमा भेटिएको प्रमाण छैन ।

उक्त कुरा लारिसा काइसल र हर्मन स्लयाइखकले सन् २०१६ मा प्रकाशन गरेको नेपालका उभयचर तथा सरीसृप (कछुवा) नामक बाल पुस्तकमा उल्लेख गरिएको छ । तर पछिल्ला वर्षमा तीमध्ये दुई प्रजातिका कछुवा प्राकृतिक वासस्थानमा नै फेला परेका छन् ।

कछुवाको शरीरका अंगहरूलाई दुई किसिमको खोलले ढाकेको हुन्छ । शरीरको माथिल्लो खोललाई कारापेस भनिन्छ भने तल्लो खोललाई प्लास्ट्रोन । यी दुई प्रकारका खोलले कछुवालाई अधिकतम सुरक्षा प्रदान गर्दछ ।

लाम्चे कछुवालाई पहेंलो टाउके कछुवा, ठोटरी र भुइँकछुवा आदि पनि भनिन्छ । यसको बाहिरी खोलको लम्बाइ यसको चौडाइभन्दा धेरै हुने भएकाले यसलाई लाम्चे कछुवा भनिएको हो । यसको टाउको पहेंलो रङको हुने भएकाले यसलाई पहेंलो टाउके कछुवा पनि भनिन्छ । हुन त यसको पूरै शरीर नै करीब–करीब पहेंलो हुन्छ । यो जमीनमा बस्ने कछुवा भएकाले यसलाई भुइँकछुवा पनि भनिएको हो ।

नेपालमा पाइने कछुवामध्ये यो कछुवा मात्र पूर्ण रूपमा जमिनमा आश्रित हुन्छ । यो सरीसृप वर्गको टेस्टुडाइन अर्डर र टेस्टुडिनिडी कक्षामा पर्ने जीव हो । यसको वैज्ञानिक नाम इन्डोटेस्टुडो इलोङ्गेटा हो ।

औसतमा यो कछुवाको लम्बाइ ३० सेन्टिमिटर र वजन ३.५ किलोग्राम हुन्छ । धेरैको मनमा एउटै प्रश्न हुन्छ, यसको भाले र पोथी कसरी छुट्याउने ? कछुवाको भाले र पोथी छुट्याउने सबैभन्दा सरल उपाय भनेको यसको पुच्छर हो । प्रायः सबै भाले कछुवाको पुच्छर लामो र पोथी कछुवाको छोटो हुन्छ । यसका साथै प्रायः भाले कछुवाको अगाडिको खुट्टाका नङ पछाडिको खुट्टाका नङभन्दा लामो हुन्छ । पोथी कछुवाको भने ठ्याक्कै यसको विपरीत हुन्छ ।

लाम्चे कछुवाको सन्दर्भमा भाले र पोथी छुट्याउन झनै सजिलो छ । माथि उल्लेख गरिएका विशेषताका साथसाथै भाले लाम्चे कछुवाको प्लास्ट्रोन दबिएको वा खाल्डो परेको हुन्छ भने पोथी लाम्चे कछुवाको प्लास्ट्रोन समतल हुन्छ । यसको यस्तो विशेषताले गर्दा मरेको लाम्चे कछुवाको खोलबाट पनि त्यो भालेको हो कि पोथीको हो भनी छु्ट्याउन सकिन्छ ।

लाम्चे कछुवाको पोथी (बायाँ) र भाले (दायाँ) र अण्डा

अन्य कछुवा जस्तै लाम्चे कछुवा पनि ज्यादै लजालु स्वभावका हुन्छन् । यिनीहरू चिसो रगत भएका प्राणी भएकाले प्रायः कछुवा जाडो मौसममा शरीरको तापक्रम सन्तुलित राख्न झरेका पातमुनि र जमिनमा गाडिएर बस्छन् । केही लाम्चे कछुवाहरू जाडो मौसम भए पनि घाम लागेको समयमा घाम तापेर बस्ने गरेको पनि पाइन्छ । यो कछुवाले लामो समय लुकेर वा आराम गरेर बिताउँछ ।

अध्ययनअनुसार यो कछुवा सबैभन्दा धेरै समय र सबैभन्दा धेरै पटक सुकेका र झरेका पातमुनि बस्छ । यो कछुवा पूर्ण रूपमा स्थलीय भए पनि अत्यन्त तातो दिनमा शरीर चिसो पार्न पानीको स्रोतमा पसेको पाइएको छ । यसका साथै पानी पिउनका लागि पनि कृत्रिम तथा प्राकृतिक जलाशयमा जाने गरेको पाइन्छ ।

लाम्चे कछुवा पौडिंदै (बायाँ), र लुक्दै  (बीचमा) र पानी पिउँदै (दायाँ)

लाम्चे कछुवा सर्वहारी वा सर्वभक्षी प्राणी हो । यसको अर्थ यसले बोटबिरुवाका साथै जीवजन्तु पनि खाने गर्दछ । प्राकृतिक वासस्थानमा यसको मुख्य आहारा झरेका वनस्पतिका फलफूल र स–साना कीराहरू जस्तै चिप्लेकीरा, शंखेकीरा आदि हुन् । त्यस्तै कृत्रिम वासस्थानमा यसले थुप्रै प्रकारका फलफूल र जीव खाने गरेको पाइएको छ ।

कृत्रिम वातावरणमा यसले केरा, स्याउ, फर्सी र अम्बाको फल, घण्टीफूल, बन्दागोभी, माछा, बोइलर कुखुरा, विशाल अफ्रिकन शंखेकीरा र घरमुसाको मासु अधिक मन पराएको पाइएको छ ।

झापास्थित कछुवा उद्धार तथा संरक्षण केन्द्रका लाम्चे कछुवाहरू फलफूल र मासु खाँदै 

लाम्चे कछुवा वर्षात्को शुरुआतसँगै अत्यन्त सक्रिय हुन थाल्छ । यो कछुवा वैशाख महीनाबाट सक्रिय भएको पाइन्छ । जेठ र असारमा त्यो भन्दा पनि बढी सक्रिय र प्रजननका विभिन्न गतिविधि गरेको देखिन्छ । यस अवधिमा यसले समागम गरेको, अण्डा पारेको र पहिले पारेको अण्डाबाट बच्चा निस्किएको पाइयो । यसले एक वर्षमा दुईदेखि तीन पटकसम्म अण्डा पार्दछ । यसका साथै उक्त अवधिमा भाले–भाले बीचको लडाइँ पनि देखियो ।

लाम्चे कछुवाको अर्को सबैभन्दा रोचक कुरा भनेको यसको सन्ततिको लिंग निर्धारण हो । अन्य कछुवा जस्तै यो कछुवा पनि भाले र पोथी बन्न क्रोमोजोममा भर पर्दैनन् । भाले पोथी बन्न यो कछुवाको अण्डा वातावरणको तापक्रममा भर पर्छ । वातावरणको तापक्रम औसतभन्दा बढी भएमा पोथी सन्तति धेरै र औसतभन्दा कम तापक्रम भएमा भाले सन्तति धेरै उत्पन्न हुन्छन् । यसरी वैश्विक तापमान वृद्धिले यसको सन्ततिको लिंग निर्धारणमा प्रत्यक्ष असर पार्दछ ।

पोथी लाम्चे कछुवाले जमीनमा खाडल खनी अण्डा पार्छ र त्यसपछि खाडल पुरेर जमिन पहिलाको जस्तै बनाउँछ । उक्त अण्डाबाट सातदेखि नौ महीनापछि बच्चा बाहिर निस्केको पाइयो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार हाल यो कछुवा अति संकटापन्न जीवको सूचीमा परेको छ । भेट्टाउने बित्तिकै खाने प्रवृत्तिले गर्दा यी कछुवा अहिले लोप हुने स्थितिमा पुगेका हुन् । प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसले कछुवालाई भेट्टाउने बित्तिकै खाने गरेको पाइएको छ ।

वातावरणको लागि कछुवाको महत्व कति धेरै छ भन्ने चेतना नभएकाले र कछुवाको मासु विभिन्न रोगहरूको औषधि हुन्छ भन्ने विश्वासले गर्दा मानिसले कछुवा भेट्टाउने बित्तिकै खाने गरेको पाइन्छ । लाम्चे कछुवाको मासु र खपटा विभिन्न रोगको औषधि हुन्छ भन्ने कुराको भने कुनै वैज्ञानिक आधार छैन । यसका साथै यो कछुवा बेच्दा धेरै मूल्य पर्ने होहल्लाको पछि लागेर पनि यसको चोरीशिकारी हुने गरेको छ ।

यो कछुवा जमिनमा बस्ने भएकाले त्यहाँ भएका सडेका, मरेका र कुहिएका वस्तु खाएर वातावरण सफा राख्न मद्दत पु¥याउँछ । हिन्दू धर्म अनुसार कछुवालाई विष्णुको अवतार मानेर पूजा पनि गरिन्छ । विभिन्न मठ–मन्दिरमा चढाइने र पूजा गरिने कछुवा पनि यही हो । मानिसहरूलाई कछुवाको महत्वबारे चेतना नभएकाले वर्षेनी हजारौं यस्ता कछुवा हराउँदै गइरहेका छन् । त्यसैले यस कछुवाको संरक्षण गर्न अति आवश्यक छ ।

(लेखक लाम्चे कछुवाको शोधकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment