Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिंहले भने : म जीवितै छु

२४ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्‍वविद्यालयको लेटर प्‍याड दुरुपयोग गरेर आफ्नो मृत्‍युको दुष्प्रचार गरेको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने, ‘भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय सुधारको योजना अगाडि के सारेको थिएँ, म विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ, म जीवितै छु, न आत्तिनुस् विश्वविद्यालय सुधारेरै छाड्छु ।’

आफ्नो मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरुद्ध दुई वटा साइबर अपराधको मुद्दा समेत दायर गरेको उपकुलपति सिंहले बताए। उपकुलपतिको कार्यालय र परीक्षा व्यवस्थापन कार्यालयबाट साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।

‘मेरो व्यक्तिगत र संस्थागत जीवनप्रति लक्षित गर्दै श्रृंखलाबद्ध रूपमा आक्रमण भइरहेको छ, यो निन्दनीय र आपराधिक मानसिकताको पराकाष्ठा हो’ उपकुलपति सिंहले भने, ‘यस्ता खालका आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानूनी दायरामा ल्याउन आज नै दुईवटा मुद्दा दायर गरेका छौं ।’

आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि विगतमा बिल मिलाएर खानेहरु आफू विरुद्ध लागेको उपकुलपति सिंहकाे आरोप छ । ‘म आउँदा ७६ करोडको बेरुजु थियो, आज त्यसलाई ७ देखि ९ करोडमा झारेको छु, होटलमा रक्सी पिएका लाखौंका बिलहरु रोकें, मेरो गल्ली यही हो’, उनले भने ।

विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु नै वार्तामा आउन नचाहेको विश्वविद्यालयले जनाएको छ ।

केन्द्र सरकार परिवर्तन भएसँगै आफूविरुद्ध घेराबन्दी भएको र प्रहरी, प्रशासनले समेत उपकुलपति र विश्वविद्यालयको सम्पत्तिको सुरक्षा गर्न नसकेको उपकुलपति सिंहको आरोप छ ।

‘आज केही उद्दण्ड तत्वहरुले विश्वविद्यालयको सम्पत्तिमाथि ढुङ्गामुढा गरिरहेका छन्, भिडियोसहितको प्रमाण दिएर कारबाही गर्न माग गर्दा पनि प्रहरीले भने पक्राउ गर्न सकिरहेको छैन’, उनले भने ।

विश्वविद्यालयका चार विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । साथै प्राध्यापकहरु पनि आन्दोलित छन् । आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आए पनि सफल हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment