Comments Add Comment

खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

खोप केन्द्रको अनुगमन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ।

२५ साउन, काठमाडौं । कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकहरुले ५ महिनापछि दोस्रो डोज पाएका छन् । भुटान र जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले दोस्रो डोज पाएका हुन् ।

तर खोप लगाउन सहज छैन । अधिकांश खोप केन्द्रहरुमा लामो लाइन लाग्ने गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ अनुगमनका लागि चपलीहाइट, शिक्षण अस्पताल लगायतका खोप केन्द्रमा पुग्दा पनि त्यस्तै भीड थियो ।

जनस्वास्थ्य विदहरुका अनुसार भीडभाड गरेर खोप लगाउँदा संक्रमणको जोखिम फैलने खतरा बढेको छ ।

सरकारको व्यवस्थापकीय कमजोरीकै कारण आम नागरिकले अनाहकमा सास्ती भोग्नु परेको संक्रामक रोग विशेषज्ञ डा. किरणराज पाण्डे बताउँछन् ।

सरकारको व्यवस्थापकीय कमजोरीकै कारण आम नागरिकले अनाहकमा सास्ती भोग्नु परेको संक्रामक रोग विशेषज्ञ डा. किरणराज पाण्डे बताउँछन् । ‘सुरक्षित रुपमा खोप कार्यक्रम सञ्चालन गर्ने कार्य एकदमै सामान्य हो जस्तो लाग्छ । तर सामान्य व्यवस्थापकीय कार्यमा पनि सरकार चुकिरहेको छ’ उनी भन्छन् ।

नागरिकलाई सुरक्षित खोप दिने व्यवस्थाका लागि उनी तीन वटा सहज विकल्प देख्छन् ।

पहिलो, बढी जनघनत्व भएका सहरी क्षेत्रमा अनलाइनमार्फत दिन किटान गरेर पनि नागरिकलाई खोप लगाउन बोलाउन । दोस्रो, सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाट्सएपबाट लिंक सेयर गरी अनलाइनमार्फत खोप लगाउने दिन तोने । भारत, पाकिस्तान लगायतका मुलुकमा यस्तो अभ्यास रहेको डा. पाण्डेले सुनाए ।

यदि दुवै व्यवस्था गर्न नसक्ने हो भने खोप लगाउने दिन बढाएर व्यवस्थित गर्न सकिने उनी बताउँछन् । खोप लगाउने दिन धेरै तोक्दा नागरिकहरुल आफ्नो अनुकुल समय मिलाएर खोप केन्द्र जान्छन् र अहिले देखिएको भीड स्वतः कम हुने उनको बुझाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा. पाण्डे भन्छन्, ‘हामीसँग खोप लगाउने जनशक्तिको अभाव छैन । केवल सरकारको इच्छा शक्ति हुनुपर्‍यो । महामारीको समयमा भएको जनशक्ति परिचालन गरी खोप केन्द्र थपेर व्यवस्थित पार्न सकिन्छ ।’

तर सरकारले सीमित खोप केन्द्र तोक्ने र २/३ दिनको छोटो समय दिएर खोप लगाउन आह्वान गर्दा नागरिकहरु भीडको प्रवाह नगरी जान बाध्य भएको उनले बताए । ‘नागरिकलाई सुरक्षित रुपले खोप लगाउन खोप केन्द्र थप्नुको विकल्प छैन’ डा. पाण्डे भन्छन् ।

काठमाडौं उपत्यकाको हकमा दशरथ रंगशालामा खोप कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुने डा. बाबुराम मरासिनीको सुझाव छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी पनि नागरिकलाई सुरक्षित रुपमा खोप लगाउने व्यवस्था नहुनु सरकारको लापरवाही मान्छन् । भन्छन्, ‘प्रधानमन्त्री स्वयंले खोपकेन्द्रमा भीडभाड बढ्दा संक्रमणको जोखिम बढेको स्वीकारेको अवस्था छ । मन्त्रालय पनि यही भन्छ । तर खोप केन्द्र व्यवस्थित बनाउनेतर्फ कसैको ध्यान गएको देखिँदैन ।’

एउटै खोप केन्द्रमा जनशक्ति थप गरी फरक–फरक टेबल राखेर खोप लगाउन सहज उपाय रहेको उनी बताउँछन् । खोप लगाउने समय बढाएर दैनिक दुई सिफ्टमा खोप कार्यक्रम सञ्चालन गर्न सके पनि भीडभाड कम गर्न सकिने उनको तर्क छ । ‘साँघुरो ठाउँमा खोप कार्यक्रम सञ्चालन गर्नु भएन । खाली, फराकिलो ठाउँमा आवश्यकता अनुसार टेबल राखेर खोप दिन सकिन्छ । यसका लागि जनशक्ति र स्वयंसेवक थप्नु पर्‍यो’ डा. पाण्डे भन्छन् ।

काठमाडौं उपत्यकाको हकमा दशरथ रंगशालामा खोप कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुने उनको सुझाव छ । ‘रंगशालामा खोप कार्यक्रम सञ्चालन गर्दा मानिसको भीड हेरी आवश्यकता अनुसार टेबल राखेर खोप दिन सकिन्छ’ उनी भन्छन्, ‘जनशक्तिको अभाव छैन । केवल परिचालन गर्न सक्नु पर्‍यो । नागरिक पनि आफूलाई अनुकुल समय मिलाएर खोप लगाउन आउँछन् ।’

के भन्छ सरकार ?

खोप केन्द्रहरुमा भीड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्वीकार गरेको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका खोप केन्द्रहरुमा बढी भीडभाड भएको गुनासो आएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

संक्रमणबाट जोगिन छिटो खोप लगाउन पाइहालिन्छ कि भन्ने सोचका कारण लक्षित समूह बाहेकका नागरिकहरु पनि खोप केन्द्रमा पुगेर लाइन लाग्दा भीड बढेको उनले बताए । उनले अघि भने, ‘खोपको व्यवस्था केन्द्रले गर्छ, तर लगाउने व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले गर्ने हो । त्यसैले हामीले खोप केन्द्रको व्यवस्थापन उचित ढंगले मिलाउन भनेका छौं ।’

प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार खोप केन्द्र थप गरेर व्यवस्थित बनाउन निर्देशन दिएका छन् । र, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक दिन ४ बजे सातै प्रदेशमा के–कति जनाले खोप लगाए ? खोप लगाउँदा के–कस्ता चुनौतीहरु आए ? जस्ता विषयमा समिक्षा गर्ने गरेको डा. पौडेलले जानकारी दिए ।

१४३३ खोप केन्द्र थप

सरकारले देशभर ४ हजार ४२२ खोप केन्द्रबाट नागरिकलाई खोप दिने व्यवस्था मिलाएको बताएको छ । गत असार २९ गतेयता १,४३३ खोप केन्द्र थप गरी कुल ४ हजार ४२२ खोप केन्द्र पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

२९ असार अघि देशभर २,९८९ मात्रै खोप केन्द्र थिए । खोप अभियानलाई चुस्त–दुरुस्त अवस्थामा सञ्चालन गर्नका लागि खोप केन्द्र थप गरिएको दावी मन्त्रालयको छ । सरकारले २०७७ माघ १४ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । अहिले पनि विभिन्न चरणमा खोप अभियान सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment