Comments Add Comment

ओलीलाई वामदेवको व्यंग्य : देशद्रोही घोषणा गर्ने र आममाफी दिने अधिकार अध्यक्षलाई दिऔं

२५ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कम्युनिष्ट पार्टीमा अध्यक्षलाई पनि मनपरी बोल्ने छुट नहुने बताएका छन् ।

राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरुमाथि मनपरी आरोप लगाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सोमबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकमा गौतमले भने, ‘वरिष्ठ नेता माधवकुमार नेपालसँग राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष कमरेडले अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले यस्तो भन्न पाइन्छ ? पाइन्छ भने विधानमा व्यवस्था गर्नुगर्‍यो ।’

स्रोतका अनुसार बैठक शुरु हुनु अघिबाटै उपाध्यक्ष गौतम र ओली निकट नेताहरुबीच घोचपेच शुरु भएको थियो । अनौपचारिक छलफलकै क्रममा स्थायी कमिटीका पदेन सदस्य केशव वडालले राष्ट्रियसभामा गौतमले बोलेको प्रशंग निकालेपछि केहीबेर अवस्था असहज बनेको थियो ।

बैठक शुरु भएपछि पनि गौतमले फरक मत राखे । विशेषगरी पार्टी एकता बिथोलिने गरी अध्यक्ष ओलीले बोलेको विषय गौतमले उठाएका थिए । राजनीतिक मतभिन्नताकै कारण गम्भीर आरोप लगाइनुलाई ठीक मान्ने हो भने पार्टी विधान संशोधन गरिनुपर्ने उनको भनाइ थियो ।

‘पार्टी अनुशासनात्मक शीर्षक अन्तर्गत केही बुँदाहरु थपौं । पार्टी अनुशासन उल्लंघन गर्नेहरुमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने उल्लेख गरौं,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीबाट पदच्युत भएपछि बालुवाटार छाडेर बालकोट पुगेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्धार, देशद्रोही, अपराधीजस्ता आरोप लगाएका थिए । पार्टीमा एकता प्रयास तीव्र भएपछि उनले ७ साउनमा ‘बाटो बिराएका नेताहरुलाई आममाफी’ दिने घोषणा गरेका थिए ।

त्यसप्रति संकेत गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, ‘आममाफी दिने अध्यक्षका अधिकार हुन् भन्ने थपौं ।’

तर कुनैपनि कम्युनिष्ट पार्टीमा यस्ता कुरा उल्लेख नहुने र आरोप लगाउन पनि नपाइने गौतमले बताएका छन् । उनले भनेका छन्, ‘पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment