Comments Add Comment

प्रेमीले धोका दिएपछि ज्यानलाई यसरी तिलाञ्जली दिइन् ज्योतिले

ज्योति पासवान

२६ साउन, सप्तरी । हरेक अभिभावकको धोको हुन्छ, आफ्ना सन्तानको उमेर पुगेपछि विवाह होस् । सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाका प्रमोद पासवानले यही धोको पूरा गर्न विराटनगरको एक परिवारसँग कुरा चलाए । उनलाई आफ्नी कान्छी छोरी ज्योतिको विवाह गर्नु थियो ।

८ फागुन २०७६ मा केटी हेर्न आएका पाहुनालाई पासवानले विभिन्न परिकारले स्वागत गरे । युवक पक्षले ज्योतिलाई मन पनि पराए । अर्को भेटमा विवाह मिति टुंगो लगाउने सहमति गरेर पाहुनाहरु विराटनगर फर्किए ।

पोखरियाकै कृष्ण मिश्र त्यही साँझ पासवानको घर आएर ज्योतिसँग आफूले विवाह गरिसकेको भन्दै होहल्ला गरे । बाबुआमाले त्यो कुरा सोध्दा ज्योतिले जनकपुरको मन्दिरमा विवाह गरेको बताइन् । ‘अनि हामीले पनि ठिकै छ भनेर विवाह गरिदिने भयौं,’ पासवान भन्छन् ।

ब्राम्हण समुदायका कृष्ण आयल निगममा जागिरे थिए । बुटवलमा कार्यरत उनले ज्योतिसँग विवाह गर्दा कुनै किसिमको सम्पत्ति नदिने भनेर कागज पनि गरे । पासवान भन्छन्, ‘उसले हाम्री छोरीलाई साँच्चै प्यार गर्छ भन्ने लागेको थियो ।’

कृष्ण मिश्र र ज्योति पासवान

पासवान अर्थात् दुसाध । तराई–मधेशको जातीय व्यवस्थाले यो समुदायलाई दलित भन्छ । परिवारले दलितसँग कुनै हालतमा विवाह गर्न नदिने भएपछि ज्योतिलाई लिएर कृष्णले गाउँ छाडे । उनले सिन्दुर–मंगलसूत्र पहिरिएकी ज्योतिसँग खिचेका फोटोहरु बीच–बीचमा फेसबुकमा पोष्ट गरिरहे । आफूहरुले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखपूर्वक बितिरहेको देखेर पासवान दम्पती खुशी थियो ।

जब ज्योतिले भनिन् संकटमा परें

करीब पाँच महिनापछि कृष्ण एकाएक बेपत्ता हुन्छन् । बस्नलाई अर्को कोठा खोजेर आउँछु भनेर हिंडेका उनी एक सातामा पनि नफर्केपछि ज्योतिले आफ्नी आमा इनरदेवीलाई फोन गरेर आफू संकटमा परेको बताइन् । आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले आमालाई सुनाइन् ।

त्यसलगत्तै गाउँका केही व्यक्ति लिएर लहान पुगेका प्रमोद पासवानले छोरीलाई होटलबाट इलाका प्रहरी कार्यालय पुर्‍याएर कानूनी सहायता माग्छन् । लहान प्रहरीले कृष्ण मिश्र विरुद्ध जबर्जस्ती करणी र शरीरबन्धक मुद्दा चलाउन सकिने बतायो । ‘त्यही बेला मुद्दा दर्ता गर्न त प्रहरी तयार थियो,’ पासवान भन्छन्, ‘तर कृष्ण आउँछन् भन्दै छोरीले मुद्दा चलाउन मानिन ।’

प्रहरीले ज्योतिलाई बुवाकै जिम्मा लगायो । उनी २० वर्ष पुग्न केही दिन बाँकी थियो ।

ज्योतिका बुवा प्रमाेद पासवान र उनको परिवार शोकाकुल अवस्थामा

अनि रोजिन् आत्महत्या

घरमा आमाबुवासँग बस्न थालेकी ज्योति कृष्णको व्यग्र प्रतीक्षामा थिइन् । आमा इनरदेवीका अनुसार उनी कृष्ण अहिले आउलान्, भरै आउलान् भन्दै छट्पटाउने, रुने गरिरहन्थिन् । ‘म सम्झाइरहन्थे,’ इनरदेवी भन्छिन्, ‘तर ऊ रुन छाड्दैनथी ।’

घर नजिकै चियानास्ता पसल खोलेका ज्योतिका आमाबुवा साउन २३ गते सामान लिन बजार गएका थिए । पसलमा उनीहरुका जेठी छोरी आरती थिइन् । खाना पकाउन ज्योतिलाई भनिएको थियो । आरती खाना खान पसल बन्द गरेर घर जाँदा ज्योतिले सलको पासोमा झुण्डिएर प्राणपखेरु त्यागिसकेकी थिइन् ।

‘कृष्णले छाडेर गएको चिन्तामा हाम्री छोरी ज्योतिले प्राण त्यागिन्,’ प्रमोद पासवान भन्छन्, ‘हामीलाई न्याय चाहिएको छ ।’

उनले कृष्ण मिश्र विरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिइने बताए । ‘छोरीको मृत्युपछि के गर्ने, कसो गर्ने सोच्नै सकिनँ । न्यायका लागि आज प्रहरी कार्यालयमा उजुरी दिन्छौं, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment