Comments Add Comment

मनाङमा बाढी पहिरोको असर : गाउँपालिका नै अर्को जिल्लाको शरणमा !

२६ साउन, पोखरा । मनसुनको सुरुवाती समयमा आएको बाढी–पहिरोले भवनमा क्षति पुर्‍याएपछि मनाङको नासों गाउँपालिकाले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय राखेको करिब २ महिना पुगेको छ ।

हिजोआज मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको छ तर गाउँमै फर्किएर सेवा दिन समस्या भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । नासोंमा एक गाउँबाट अर्को गाउँ जाने बाटो र नदी तर्ने झोलुंगे पुल बाढी र पहिरोले बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङलेअसार २५ देखि २९ गतेसम्म बाढी र पहिरोले जिल्लामा पुर्‍याएको क्षतिबारे संकलन गरेको विवरणअनुसार जिल्लाभरका १७ झोलुंगे पुलमा क्षति पुगेको छ ।

तीमध्ये नासों गाउँपालिकाकाको मात्रै ११ वटा पुलमा क्षति पुगेका छन् । नासोंका ७ वटा पुल फेरि बनाउनुपर्ने गरी पूर्ण रुपमा क्षति पुगेको छ भने ४ वटा पुल मर्मत गर्नपर्ने प्रतिवेदनमा जनाइएको छ ।

बाढी, पहिरोले सडक, विद्युत र सञ्चार पूर्वाधारमा क्षति पुर्‍याएका कारण गाउँबाटै सेवा दिन सम्भव नभएको अध्यक्ष घले बताउँछन् । ‘आर्थिक वर्ष अन्त्य हुने बेला मस्र्याङ्दी उर्लेर सबै बगायो । फेरि केके योजना मिलाउनुपर्ने हुन्छ । भुक्तानी गर्नुपर्ने हुन्छ, त्यही कारणले बेंशीसहर झरेर अस्थायी कार्यालय खोलेर सबै काम गर्‍यौं,’ अध्यक्ष घले भन्छन् ।

बेंशीसहरको अस्थायी कार्यालय साउन ३० सम्मका लागिमात्रै राख्ने भनिएकाले अब गाउँतिरै फर्किने योजना छ । तर, आफ्नै पालिका फर्केर पनि कहाँ कार्यालय राख्ने ? टुंगो छैन । ‘पहिला कार्यालय भएकै ठाउँमा राख्न अब त सम्भव भएन । धारापानी (वडा ३) तिर राख्ने कि भन्ने कुरा भइराख्या’छ,’ घले भन्छन्, ‘यहाँ (बेंशीसहर) ल्याएका सामान फेरि कसरी लैजाने अर्को तनावको कुरा छ ।’

बाढी, पहिरोले गाउँपालिकाका धेरै ठाउँमा विजुलीको खम्बा ढालेकाले बत्ती पनि छैन । ‘गाउँमा गाउँपालिकाको कार्यालय लगेर पनि अहिले बिजुली छैन । सबैभन्दा बढी चाहिने मोबाइल नेटवर्क नै हो । अहिले त्यही छैन,’ उनी भन्छन् । नेपाल टेलिकमले चासो नदिँदा लामो समयसम्म आफूहरु सञ्चारविहीन बन्न पुगेको अध्यक्ष घले गुनासो गर्छन् ।

जोखिम मोलेर तुइन यात्रा

धेरै पुल बगाएकाले नासोंमा एक गाउँबाट अर्को गाउँ पुग्न समस्या छ । मस्र्याङ्दी नदीको पुल बगाएपछि नासों–८, ताचैं गाउँ पुग्न त झनै समस्या छ । पुल बगाएका कारण आवतजावतको एउटै माध्यम तुइन बनेको छ ।

करिब ४ वर्षअघि मनाङमा माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाले निर्माण सामाग्री ढुवानी गर्न बनाएको जीर्ण तुइनबाटै मानिसहरु ओहोर दोहोर गर्न बाध्य छन् ।

तस्वीर सौजन्‍य: नवीन लामिछाने/रासस

‘कतिबेला, कहाँ के हुने हो थाहै छैन । कहिले नट फुस्किन्छ । कहिले तुइन बीचमै अड्किन्छ,’ गाउँपालिका अध्यक्ष घले भन्छन्, ‘यो गाउँलेको रहर होइन । बाध्यतामा परेपछि के गर्नु ?’

पहिले आधा घण्टामा पुगिने ठाउँमा अहिले चार घण्टासम्म लाग्ने उनी बताउँछन् ।

‘दोकान रित्तियो, राहतले कति दिन धान्छ ?’

नासों गाउँपालिकामा हिजोआज सडक सम्पर्कविच्छेद छ । त्यसैले गाउँमा खाद्यान्न अभाव हुन थालेको अध्यक्ष गुरुङ सुनाउँछन् ।

‘एउटा खच्चड हिँड्ने बाटोसम्म बनाउन सकियो भने धेरै सजिलो हुन्थ्यो । अहिले त गाउँमा किन्छु भन्दा पनि केही पाइँदैन । दोकान सबै रित्तिए,’ उनी भन्छन्, ‘अलिअलि पाएको राहतले गुजारा चलाउँदै छौं । कति दिन धानिएला र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment