+
+
Shares

त्रिविको प्रश्नपत्रमा त्रुटि भएको विद्यार्थीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १९:०४

२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतबार लिएको बीएस्सी प्रथम वर्षको प्रश्नपत्रमा त्रुटि भएको विद्यार्थीहरुले जनाएका छन् ।

त्रिविले तयार गरेको बीएस्सी प्रथम वर्षको एनालिटिकल ज्योमेट्री एण्ड भेक्टर एनालिसिस विषयका ५ वटा प्रश्नमा त्रुटि भएको विद्यार्थीको भनाइ छ ।

साउन २४ गते भएको विषयको प्रश्न नम्बर ५, प्रश्न नम्बर ८, प्रश्न नम्बर १०, प्रश्न नम्बर १३ र प्रश्न नम्बर १४ गलत भएको विद्यार्थीको भनाइ छ । ७५ नम्बरको पूर्णाङ्क रहेको विषयका १९ नम्बरको प्रश्नमा त्रिविले त्रुटि गरेको विद्यार्थीको दावी छ ।

अमृत साईन्स कलेजका विद्यार्थी जशदीश साहीले नेपालगञ्ज (होम सेन्टर) बाट परीक्षा दिएका छन् । उनले प्रश्न नै गलत भएको भन्दै परीक्षा गार्डलाई जानकारी गराएका थिए ।

तर उनले केही गर्न नसक्ने जवाफ दिए । ‘प्रश्न नै गलत भएपछि गार्ड दाईलाई प्रश्न गलत रहेछ भन्दा उहाँले हामीले समाधान गर्न सक्दैनौं । अब जस्तो छ त्यस्तै गर्नु भन्नुभयो’ उनले भने, ‘प्रश्न नै गलत भएपछि कसरी गर्नु । छु्ट्यो ।’

अमृत साइन्स कलेजमा अध्ययनरत सुकृतकुमार यादवले भैरहवा (होम सेन्टर) बाट परीक्षा दिए । उनले पनि प्रश्न गलत भएको थाहा पाएपछि त्यहाँका शिक्षकलाई जानकारी दिए । शिक्षकले माथि कुरा राख्ने भनेर सुकृतको समस्या सुनेर गए । उनी भन्छन् ‘दुई वर्ष लगाएर प्रश्नपत्र बनाउँदा पनि यस्तो हिसाब नै नमिल्ने गलत प्रश्न सोधेर हाम्रो भविष्य नै जोखिममा पार्ने काम भयो ।’

प्रश्न नै गलत भएकाले उत्तर लेख्न कठिन भएको विद्यार्थीहरु बताउँछन् । ‘हेरौं के हुन्छ । आफैं मिलाएर लेखेर आएको छु । रिजल्ट कस्तो आउँछ’ उनले भने । प्रश्न गलत आउँदा अधिकांश विद्यार्थीहरु अन्योलमा परेर प्रश्न नै छोडेर आएको उनको भनाइ छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने प्रश्नमा सामान्य गल्ती भएको तर पढ्ने विद्यार्थीले सहजै बुझ्ने खालको भएको बताए । उनले भने ‘काम गर्दै जाँदा सामान्य मानवीय त्रुटि हुन्छ । थोरै भएको थियो तर पढ्ने मान्छेले बुझ्ने खालका थिए । प्रश्न नै बुझ्न नसक्ने केही थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?