
२६ साउन, काठमाडौं । नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यको स्वयम्भूस्थित राइट मार्टमा गत साउन ११ गते रसना नामक पाउडर जुसमा असामान्य लेबल भेटियो ।
हुत्रा फूड एण्ड बेभरेज प्रालि वीरगञ्जले नेपालमा वितरण गरेको उक्त जुसमा दुई वटा उपभोग्य मितिको लेबल थियो । पहिलो लेबलमा सन् २०१७ मे महिनामा प्याकिङ भएर २०१९ अपि्रलसम्म उपभोग गर्न सकिने उल्लेख थियो । दोस्रो लेबलमा २०२१ मा प्याकिङ भएर २०२३ मा सम्म उपभोग गर्न सकिने उल्लेख थियो ।
२०१९ अपि्रलमै म्याद गुजि्रएको जुसलाई दुई वर्ष पछिसम्म खान मिल्ने भनी बजार पठाइएको थियो । ‘चार वर्षअघि बनेको जुसलाई दुई वर्षपछि पुनः लेबल लगाएर अर्को दुई वर्षको उपभोग्य अवधि राखेर बिक्रीमा पठाइनु अपराध हो,’ बज्राचार्यले भने ।
योमात्र नभई अरु धेरै जुसका प्याकेट म्याद गुजि्रएपछि पुन नयाँ मिति राखेर बजार पठाएको हुन सक्ने उनी बताउँछन् । ‘सबै जुसमा पुनः लेबल राखिएको हो यसमा शंका छैन तर एउटामा पुरानो लेवल मेटिन भुलेछ,’ बज्राचार्यले भने ।
म्याद सकिएको वस्तु बिक्री प्रकरणमा ठूला व्यापारीले लाभ लिने तर खुद्रा व्यवसायी कारबाहीमा पर्न सक्ने भन्दै खुद्रा व्यापार संघले उक्त जुसलाई वाणिज्य विभागमा बुझाएको छ । उक्त नमूना महानिर्देशक प्रकाश पौडेललाई बुझाइएको संघका महासचिव अमुलकाजु तुलाधरले जानकारी दिए ।
ठूला व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने काम गरेको उनले बताए । बजारमा अरु यस्ता जुस प्रशस्तै भएको अनुमान गरिएको खुद्रा बिक्रेता संघले जनाएको छ । उक्त जुसको प्रयोगशाला परीक्षण पनि गर्नुपर्ने संघको माग छ ।
यसअघि पनि पटक-पटक यस्तो धन्दा चलाइएको पुष्टि भएको थियो । तर, कारवाही फितलो भएपछि यस्तो हर्कत मौलाउँदो छ ।
बजारमा भेटियो थप नमूना
वाणिज्य विभागले दोहोरो लेबल भएको अरु पनि नमुना भेटिएको बताएको छ काठमाडौंका विभिन्न पसलबाट संकलन गरेको तीन वटा त्यस्ता जुसमा व्यवसायीले बुझाएको जस्तै दुईवटा लेबल भेटिएको विभागका निर्देशक एवं सूचना अधिकारी शिवप्रसाद सेढाईंले बताए ।
‘बजारमा त्यस्ता जुसहरु रहेको अनुमानमा गरिएको नमूना संकलनमा थप जुस बरामद भएको छ, हामीले थप अध्ययन गरिरहेका छौं,’ उनले भने । काठमाडौंको सतुंगल, पर्साको वीरगञ्ज र कैलालीको धनगढीसहितका चार वटा वितरकबाट यस्तो जुस नेपालभर वितरण भएको पाइएको र ती र्फमविरुद्ध अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।
विदेशबाट आयात भएको खाद्य पदार्थ भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी भएको आयात अनुज्ञापत्रका आधारमा पनि छानबिन अघि बढाइएको विभागको दाबी छ ।
हाल विश्वनाथ साहको वितरक कम्पनीमार्फत बजारमा यस्तो जुस पठाइ राखिएको पाइएको वाािण्ज्य विभागले जनाएको छ । यो जुसको आयातमा सरकारले सन् २०२० देखि रोक लगाएको थियो ।
नेपालमा आयात रोकिएको भारतीय कम्पनीको जुस दोहोरो लेबलका साथ बजारमा भेटिनु गलत भएको नेपाल वितरक संघले जनाएको छ ।
प्रतिक्रिया 4