Comments Add Comment

प्रहरी हेडक्वार्टरबाट प्रश्नपत्र चोरिएको पुष्टि, तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

एसपीसहित ११ जनालाई विभागीय कारबाही सिफारिस

फाइल तस्वीर : नेपाल प्रहरी मुख्यालय

२६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई ग्रेड घटुवादेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको छ । समितिले थप तीन प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएका थिए ।

समितिले बयान र अन्य कागजातसहित ५ सय पृष्ठ लामो प्रतिवेदन तयार पारेर मंगलबार साँझ क्षेत्रीलाई बुझाउने तयारी गरेको छ । समितिका एक सदस्य भन्छन्, ‘आज कार्यक्रम भएर आईजी सा’ब बाहिर जानुभयो, भोलि उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले साँझै प्रतिवेदन बुझाउने तयारी छ ।’

प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । समितिले छानबिन थालेलगत्तै उनीहरुलाई पक्राउ गरेर नक्सालस्थित १ नम्बर गणमा राखेको थियो ।

उनका अनुसार प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । समितिले छानबिन थालेलगत्तै उनीहरुलाई पक्राउ गरेर नक्सालस्थित १ नम्बर गणमा राखेको थियो ।

उनीहरूबाहेक यूएन शाखामा कार्यरत अर्का एक प्रहरीलाई पनि बर्खास्त गर्न सिफारिस गरिएको स्रोतले बतायो ।

समिति स्रोत भन्छ, ‘प्रहरी हेडक्वार्टरमै सुरक्षाकर्मीबाट प्रश्नपत्र चोरी हुनु सामान्य कुरा होइन, त्यसैले बर्खास्त गर्न सिफारिस गरेका हौं ।’ यद्यपि कारबाही सम्बन्धी अन्तिम निर्णय महानिरीक्षक क्षेत्रीले नै लिने समितिका सदस्य बताउँछन् ।

डीएसपी खड्कासहित कारबाहीमा

समितिका एक सदस्यका अनुसार डीएसपी रुपेश खड्कालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।

‘अनुसन्धानका क्रममा पहिलो लेयरमा संलग्न देखिएका उनीसहित ११ जनालाई कारबाही सिफारिस गरिएको हो,’ स्रोतले भन्यो, ‘दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा, नसियत लगायतका कारबाही सिफारिस गरिएको छ ।’

उनका अनुसार प्रि–स्याटको प्रश्नपत्र शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाले आफ्नो दराजमा राखेका थिए । उनी घर गएका बेला प्रहरी परिचर बमले अर्को चाबीले प्रश्नपत्र निकालेर फोटो खिचेका थिए । र, त्यसलाई हवल्दार शाहको भाइबरमा पठाएका थिए ।

शाहमार्फत नै अन्य प्रहरीसम्म प्रश्नपत्र पुगेको थियो । शाह पनि यसअघि यूएन शाखामै कार्यरत थिए । तर कारबाही स्वरुप केही अघि मात्रै साइबर ब्युरो पठाइएको थियो । समितिका एक सदस्य भन्छन्, ‘उनीहरुले यसअघि पनि यसैगरी प्रश्नपत्र चोरी गरेको आशंका छ, तर बयानमा स्वीकारेका छैनन् ।’

समितिका सदस्यका अनुसार एक लाख बढी लेनदेन मिलाउने गरी बमले शाहलाई प्रश्नपत्र दिएका थिए । उनीमार्फत अन्य प्रहरी अधिकृतसँग प्रश्नपत्र पुगेको थियो ।

फेरि अर्को परीक्षा हुने

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले यसअघि दिइएको परीक्षा रद्द गर्ने भएको छ । र, यथाशीघ्र नयाँ परीक्षा गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक थापा र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच भएको छलफलबाट पुनः अर्को परीक्षा सञ्चालन गर्ने अनौपचारिक निर्णय भएको स्रोतले बतायो ।

प्रि–स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी हुने गरेका छन् ।

नेपाल प्रहरीबाट शान्ति मिसनको कोटा घट्दै जाँदा छनौट परीक्षामा कडा प्रतिस्पर्धा हुने गरेको छ । ‘प्रि–स्याट परीक्षा पास गर्नै गाह्रो हो, स्याट बरु सहज हुन्छ,’ एक अधिकृतले भने, ‘त्यसैले आन्तरिक रुपमा लिइने प्रि–स्याट परीक्षामै चलखेल हुने गरेको छ ।’

सन् २०१८ मा भएको स्याट परीक्षाको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment