+
+
सम्झना :

श्याम कक्षपति : नेपाली सत्कार उद्योगका एक पायोनियर

अच्युत पुरी अच्युत पुरी
२०७८ साउन २६ गते २२:०८

२६ साउन, काठमाडौं । ‘कृष्ण कृपा प्राप्त एक अभिभावक, रेष्टुरेन्ट व्यवसायका पायोनियर, जसले बोल्न, सुन्न नसक्नेलाई सक्षम बनाए… ।’ स्वर्गीय श्याम सुन्दरलाल कक्षपतिको सम्झनामा द बेकरी क्याफेमा कार्यरत उत्पन्नराज बज्राचार्यको स्वस्फुर्त टिप्पणी हो, यो ।

काठमाडौंस्थित बानेश्वरको बेकरी क्याफेमा पुगेका जो कोही ग्राहकलाई थाहा छ, त्यहाँ बोल्न र सुन्न नसक्ने वेटरहरुले पाहुनालाई न्यानो सेवाले खुसी बनाएर पठाउँछन् ।

अपांगता भएकाहरुले केही गर्न सक्दैनन्, उनीहरु परिवारका लागि समेत बोझ हुन् भन्ने मान्यता रहेको समयमा कक्षपतिले आफ्नो रेष्टुरेन्टमा त्यस्तै कामदार राखेर प्रोत्साहन गरे । होटेल व्यवसायी विनायक शाह भन्छन्, ‘श्याम दाईले यसरी धेरै परिवारमा खुसी ल्याउनु भएको छ ।’

ब्यांककक (थाइल्याण्ड) को वमरुनगार्ड अस्पतालमा उपचाररत ६९ वर्षीय कक्षपतिको सोमबार निधन भयो ।

पाल्पाको तानसेनमा जन्मिएका कक्षपति काठमाडौंको झोँछेमा हुर्किए । उनको किशोरकालमा झोँछे क्षेत्रमा हिप्पी संस्कृतिको जगजगी थियो । नेपालमा त्यही समयबाट व्यावसायिक पर्यटन उद्योगको थालनी भएको शाह बताउँछन् ।

त्यसबेला काठमाडौंमा अहिलेजस्तो रेष्टुरेन्टहरु थिएनन् । मट्टितेल स्टोभ बालेर हलुवा, पुरी, समोसा पकाउने पसलहरु भेटिन्थे । मःम समेत प्रचलनमा आएको थिएन । देशको राजधानी काठमाडौंलाई जाति प्रथाले नराम्रोसँग गाँजेको थियो । बाहिर खाँदा मान्छेका जात जान्थ्यो ।

‘हिप्पीहरुको जमघट देखेका श्याम दाईले काठमाडौंमा विदेशमा जस्तै स्तरीय रेष्टरेन्ट र परिकारको आवश्यकता महसुस गर्नुभयो, ‘क्याफे डे पार्क’ त्यसैको परिणम थियो’, शाह भन्छन् ।

उनका अनुसार, कक्षपतिले २०३० सालमा रानीपोखरी छेउ (अहिले गणेशमान सिंहको शालिक भएको ठाउँ)मा काठमाडौं कै पहिलो क्याफे खोले । ‘हामी कलेज लाइफमा थियौं’, शाह सम्झन्छन्, ‘हृयामवर्गर खान त्यो क्याफेमा लाइन लाथ्यो ।’

‘क्याफे डे पार्क’ खोलेको तीन वर्षमा कक्षपतिले दरबारमार्गमा नाङ्लो रेष्टुरेन्ट स्थापना गरे । होटल व्यावसायी शाहका अनुसार, काठमाडौंमा ३० साल अघि नै सिनेमा हलहरु खुलेका थिए, तर परिकार बेच्ने रेष्ट्रेन्टहरु थिएनन् । त्यही बेला नाङ्लोमा बफ मम लोकप्रिय भयो ।

मनकामना केवलकार चल्नु अगाडि श्याम कक्षपतिले चितवनको कुरिनटारमा रिभर साइड स्प्रिङ रिर्सोट खोले । त्यसबेला नदी किनारको अनकन्टारमा कोही बास बस्न जाला र ? भन्ने थियो ।

‘तर, श्याम दाई नयाँ-नयाँ प्रयोग गर्न रुचाउनु हुन्थ्यो, पृथ्वी राजमार्गको पोखरा-काठमाडौं पर्यटक रुटमा त्यस्तै प्रयोगको आँट गर्नुभयो’, शाह भन्छन्, ‘मनोकामना जाने केवलकार बनेपछि त उहाँको रिसोट कहाँ पुगयो, कहाँ !’

पुतलीसडकमा अहिले सेन्चुरी बैंक रहेको ठाउँमा २०३७/०३८ सालमा नाङ्लो बजार खुल्यो । नेपालको पहिलो सुपरमार्केट त्यही थियो । कक्षपतिको त्यो सुपरमार्केट जम्न सकेनन्, तर उनले यसरी पनि व्यावसाय गर्न सकिन्छ है भन्ने सन्देश दिए । २०५१ सालमा नयाँ-नयाँ गाडी भित्राएर काठमाडौंमा ‘एल्लो क्याव’ नामक ट्याक्सी सेवा संचालन गर्ने कक्षपति नै थिए ।

‘पैसा कमाउने हो भने केही फरक गर’ भन्ने उनी सन् २०१२ देखि २०१४ सम्म होटेल संघ नेपाल (हान) को अध्यक्ष रहे । त्यसअघिको नेपाल रेष्टुरेन्ट एण्ड बार एशोसिएशनका संस्थापक थिए उनी । हानले कक्षपतिको निधनबाट समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएको छ ।

नेपालको सफल चेन रेष्टुरेन्ट ‘बाजेको सेकुवा’का अध्यक्ष चेतन भण्डारीले सामाजिक संजालमा लेखेका छन्- जसलाई सधै पच्छ्याएँ, जसलाई हेरेर सिक्ने कोसिस गरे, कक्षपति दाईको निधनको खबरले स्तब्ध छु, नेपाली रेष्टुरेन्ट क्षेत्रमा उहाँको योगदान सम्झिरहने छौं ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?