Comments Add Comment

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्ता पक्ष अनुपस्थित

अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कांग्रेस नेता विरेन्द्र कुमार कनौडिया

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बैठकमा सत्ता पक्ष अनुपस्थित छ ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।

कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो ।

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

विशेष अधिवेशनको बैठक सुरु भएको जानकारी गराउँदै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचन र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूलाई टेलिफोन गरेर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी गराएको बताए । तर प्रदेश प्रमुखबाट अधिकारिक पत्र प्राप्त नभएको उनले बताए ।

विशेष अधिवेशनको बैठकको समय र दिन प्रदेश प्रमुखबाट पहिल्यै निर्धारण भएकाले बैठक अघि बढाउन खोजेको बताउँदै उनले यो बैठक प्रारम्भ गरिसकेपछि मुख्यमन्त्री पोखरेल बैठकमा आएर सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश मुख्यमन्त्रीले राजीनामा दिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र प्राप्त भएपछि त्यसलाई प्रक्रियामा लैजाने उनले बताए । त्यसभन्दा अगाडि नियमित कार्यसूची अनुसार नै बैठक अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment