Comments Add Comment

तेस्रो लहरको सुस्त शुरुआत : व्यवस्थापनको लागि अवसर बन्‍न सक्छ

सन् २०१९ को अन्त्यतिर शुरु भएको कोरोना संक्रमणले २०२१ जुलाईको अन्त्यसम्म करीब २० करोड ४७ लाख जनसङ्ख्यालाई संक्रमित गरिसकेको र ४३ लाख मानिसको ज्यान लिइसकेको छ ।

यसै वर्ष सन् २०२१ फेब्रुअरीको अन्त्यतिर शुरु भएको विश्वको पछिल्लो महाव्याधि लहर करीब दुई महीनापछि अर्थात् अप्रिलको अन्त्यतिर उच्च बिन्दुमा पुग्दा दक्षिणएशिया, मूलतः भारतले सबैभन्दा ठूलो भूमिका खेलेको थियो । त्यतिबेला विश्वको दैनिक नयाँ कोरोना संक्रमणको झन्डै आधा अर्थात् ५० प्रतिशत भारतमै भेटिएको थियो भने विश्वको कुल दैनिक मृत्युको करीब ४० प्रतिशतसम्मको हिस्सा पनि भारतमै भेटिएको थियो ।

हाल भारतमा कोरोना महाव्याधि केही शान्त देखिए तापनि दक्षिणएशियाकै अन्य मुलुक र विश्वका धेरै देशमा कोरोना महाव्याधिको नयाँ लहरले सताइरहेको छ । केही ओरालो लागेको दक्षिणएशियाको पछिल्लो महाव्याधि लहर जून महीनाको तेस्रो सातातिर न्यूनतम बिन्दुमा पुगी फेरि उकालो लाग्ने क्रम देखापरेको छ । यो क्रम हाल पनि निरन्तर तर विस्तारै उकालो लागिनैरहेको छ ।

तर उक्त न्यूनतम बिन्दु पछिल्लो लहरभन्दा अघिको न्यूनतम बिन्दुभन्दा निकै उच्च रह्यो अर्थात् पछिल्लो लहरभन्दा अघि र पछिको न्यूनतम बिन्दुको तुलना गर्ने हो भने दुइटामा निकै भिन्नता देखिएको छ । पछिल्लो लहरभन्दा अघिको न्यूनतम दैनिक नयाँ संक्रमण करीब १५ हजार जति थियो भने पछिको न्यूनतम दैनिक संक्रमण ५७ हजारभन्दा बढी थियो । अर्थात् अघिको न्यूनतम बिन्दुभन्दा पछिको न्यूनतम बिन्दु करीब चार गुणाले ठूलो थियो ।

महाव्याधि कालको शुरुआती चरणदेखिकै न्यूनतम बिन्दुको निरीक्षण गर्ने हो भने यो बढ्दै गएको छ र पछिल्लो न्यूनतम बिन्दु सबैभन्दा उच्च देखिएको छ । यसले के संकेत गर्दछ भने कोरोना महाव्याधिको यो प्रकोप अझै अनिश्चित छ र यसले हाम्रो यस धर्तीलाई कहिले छोडेर जाला भन्नै नसकिने अवस्था छ ।

दक्षिण एशिया मात्रै होइन विश्वकै समग्र दैनिक नयाँ संक्रमण हेर्ने हो भने विगत डेढ महीनादेखि नै नयाँ लहर चलिरहेको छ । यो तथ्याङ्क अघिल्लो ९अप्रिल, मे महीनाको लहर० भन्दा करीब २५ प्रतिशतले मात्रै सानो छ । पछिल्लो अवस्था हेर्ने हो भने विश्वको दैनिक समग्र नयाँ संक्रमणको करीब ३० प्रतिशत अमेरिकाज (उत्तरंदक्षिण अमेरिका ), २५ प्रतिशत युरोप र २० प्रतिशत दक्षिणएशियामा देखापरेको छ ।

यसले पनि दक्षिणएशिया र विश्वमै कोरोना महाव्याधिको नयाँ लहरको शुरुआत भएको संकेत गर्दछ । तर हाल शुरु भएको नयाँ लहर अघिल्लो जस्तो अति उग्र नभई अलि सुस्त देखिएको छ जुन राम्रो कुरा हो जसलाई हामीले सचेतनाको रुपमा लिनु जरुरी छ । यसले हामीलाई फेरि पनि तयारीको मौका दिएको जस्तो देखिन्छ ।

चित्र नं. १ ले दक्षिणएशियाको कुल दैनिक संक्रमण र मृत्युको विगत तीन महीना (सन् २०२१ मेदेखि जुलाई) को प्रवृत्ति देखाएको छ । चित्रमा देखाइए जस्तै मे महीनाको पहिलो सातापछि ओरालो लाग्न शुरु गरेको दक्षिणएशियाको कुल दैनिक नयाँ संक्रमण जून महीनाको पहिलो सातापछि घट्न बन्द भई केही स्थिर रह्यो र जुलाईको अन्त्यतिर फेरि केही बढ्न शुरु गरेको छ ।

जूनको अन्त्यतिर दैनिक नयाँ संक्रमण ५० देखि ५५ हजार पुगेकोमा जुलाईको अन्त्यतिर यो संख्या ६५ देखि ६८ हजार पुगेको छ । पछिल्लो तीन महीनाको दौरानमा मात्रै दक्षिणएशियामा कुल करीब १ करोड ३८ लाख ८७ हजार १४४ जना कोरोना संक्रमित भए भने कुल करीब २ लाख ४२ हजार २९२ जनाको यसैका कारण मृत्यु भयो ।

चित्रमा मे महीनाको दाँजोमा पछिल्लो समयको दैनिक नयाँ संक्रमण संख्या निकै कम देखिएको छ । यसको कारण भारतमा पछिल्लो समय दैनिक नयाँ संक्रमणमा आएको कमी हो । तर अन्य देशहरुमा दैनिक नयाँ संक्रमण फेरि बढ्न शुरु भएको निकै भइसकेको छ ।

त्यस्तै दक्षिणएशियाको दैनिक नयाँ मृत्यु पनि मे महीना पश्चात् घट्दै आएको देखिए तापनि मृत्युको घट्ने दर भने संक्रमणको दाँजोमा कम देखियो । त्यसमाथि बेलाबेलामा भारतको दैनिक मृत्यु अत्यधिक हुने गरेको हुनाले शायद समायोजन गेरको हुन सक्छ । दक्षिणएशियाको समग्र दैनिक मृत्यु पनि बढ्ने गरेको छ । जुलाईको शुरुआतीसम्ममा दैनिक ७०० देखि ८०० जति पुगिसकेको नयाँ मृत्यु पछिल्लो समय एक हजार नाघेको छ ।

पछिल्लो समय भारत र दक्षिणएशियाको कुल दैनिक नयाँ संक्रमण र नयाँ मृत्युमा उल्लेख्य कमि आए तापनि दक्षिणएशियाकै अन्य देशहरुमा महाव्याधिको नयाँ लहर चलिरहेको छ ।

बंगलादेशमा हाल नयाँ लहर चलिरहेको छ जुन हालसम्मकै सबैभन्दा ठूलो लहर साबित भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जूनको पहिलो सातादेखि शुरु भएको त्यहाँको नयाँ लहर हाल उच्च बिन्दुमा पुगेको छ । अप्रिलको पहिलो सातातिर उच्च बिन्दुमा पुगेको अघिल्लो लहरको बेला अधिकतम दैनिक करीब ७ हजार नयाँ संक्रमण देखिने गरेकोमा हालको पछिल्लो लहरमा सो संख्या १४ देखि १५ हजार पुगेको छ ।

त्यस्तै दैनिक मृत्यु पनि अघिल्लो लहरको बेला १०० भन्दा कम हुने गरेकोमा हाल २५० भन्दा धेरै हुने गरेको छ । त्यहाँको मृत्यु दर हाल १.५ देखि ३.५ प्रतिशतसम्म हुने गरेको छ ।

पाकिस्तानमा पनि हाल नयाँ लहर चलिरहेको छ जो जून महीनाको अन्त्यतिर शुरु भई हाल उच्च बिन्दुमा पुगेको छ । त्यहाँ अप्रिलको तेस्रो सातातिर उच्च बिन्दुमा पुगेको अघिल्लो लहरको बेला अधिकतम दैनिक ६ हजार जति नयाँ संक्रमण देखा परेकोमा हाल सो संख्या करीब ५ हजार जति पुगेको छ । पाकिस्तानमा मृत्यु दर भने कम देखिन्छ जुन हाल १ देखि १.५ प्रतिशतसम्म रहेको छ ।

श्रीलंकामा पनि हाल नयाँ लहर चलिरहेको छ जो जुलाई महीनाको पहिलो सातातिर शुरु भई हाल उच्च बिन्दुमा पुगेको छ । त्यहाँ मे, जून महीनाको अघिल्लो लहर केही कम हुन नपाउँदै हालको नयाँ लहर शुरु भएको हो । त्यहाँ जूनको पहिलो सातातिर उच्च बिन्दुमा पुगेको अघिल्लो लहरको बेला अधिकतम दैनिक ३५०० जति नयाँ संक्रमण देखा परेकोमा हाल सो संख्या करीब ३००० जति पुगिसकेको छ ।

श्रीलंकामा हाल मृत्युदर पनि निकै उच्च देखिएको छ जुन हालसम्मकै सबैभन्दा उच्च दैनिक मृत्यु हो । हाल त्यहाँ दैनिक ९० देखि ११० सम्म नयाँ मृत्यु देखिने गरेको छ जसको दैनिक मृत्युदर हाल करीब २.७५ देखि ३.५ प्रतिशत जति हो ।

नेपालको महाव्याधि अवस्था पनि त्यति फरक देखिंदैन । चित्र नं.२ ले नेपालको विगत तीन महीना ९सन् २०२१ मे–जुलाई० को दैनिक संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ । चित्रमा देखाइए जस्तै मेको दोस्रो सातातिर उच्च बिन्दुमा पुगेको नेपालको पछिल्लो महाव्याधि लहर जूनको दोस्रो सातामा निकै तल झरेको देखिए तापनि त्यसमा दैनिक गरिने पीसीआर परीक्षणको मात्राले पनि भूमिका खेलेको छ ।

जूनको शुरुआतीतिर कोरोना संक्रमणमा कमी आएको देखिए तापनि दैनिक परीक्षण निकै कम गरिएको हुनाले दैनिक संक्रमण र मृत्यु संख्यामा पनि कमी आएको थियो । जुलाईको शुरुआतीतिर निकै कम भएको दैनिक संक्रमण ९करीब १०००-१५००० हाल २५००-२९०० सम्म पुगेको छ । नेपालमा भने मृत्यु संख्या न्यून देखिन्छ, दैनिक करीब २५ देखि ३५ । नेपालको हालको मृत्युदर दैनिक करीब ०.७५ देखि १.२५ प्रतिशत जति देखिन्छ ।

संख्याले जतिसुकै देखाए तापनि वास्तविक महाव्याधि अवस्था हेर्ने सूचक पोजिटिभिटी या संक्रमण दर हो । चित्र न.३ ले दक्षिण एशियाली देश लगायत अमेरिका र जापानको दैनिक पोजिटिभिटी (संक्रमण दरको प्रतिशत) देखाएको छ । चित्रमा देखाइए जस्तै पछिल्लो समय अधिकांश देशको दैनिक पोजिटिभिटी बढ्ने क्रममा देखिन्छ । बंगलादेशको पोजिटिभिटी निकै तीव्र गतिमा उकालो लागिरहेको देखिन्छ भने श्रीलंका, पाकिस्तान, अमेरिका र जापानको पोजिटिभिटी पनि केही समय अघिको भन्दा निकै उच्च देखिन्छ । भारतको पोजिटिभिटी भने पछिल्लो समय निकै न्यून देखिन्छ ।

नेपालको पोजिटिभिटी केही महीना अघिको दाँजोमा घट्दै गएको देखिए तापनि यो दर हालसम्म निरन्तर २० प्रतिशत भन्दा माथि नै हुनु अन्यत्रको दाँजोमा निकै माथि हो । त्यसमाथि पछिल्लो समय दैनिक परीक्षणमा केही वृद्धि गरिएसँगै पोजिटिभिटी पनि बढ्दै गई २५ प्रतिशतको हाराहारीमा पुगेको छ जुन यस चित्रमा देखाइएको छैन ।

त्यति मात्रै होइन कोरोना संक्रमण नियन्त्रणमा अब्बल मानिएको दक्षिण कोरियामा पनि हाल नयाँ लहर चलिरहेको छ जुन हालसम्मकै सबैभन्दा ठूलो बन्न पुगेको छ । इन्डोनेसियामा जुलाईको मध्यतिर उच्च बिन्दुमा पुगेको पछिल्लो लहर हाल केही कम भइरहेको संकेत देखिएको छ तर त्यहाँको मृत्युदर हाल पनि अत्यधिक देखिन्छ जुन करीब ४.५ प्रतिशत रहेको छ । त्यस्तै इरानमा हालसम्मकै सबैभन्दा ठूलो लहर निरन्तर उकालो लागिरहेको छ । त्यस्तै मलेसिया, जापान, मेक्सिको, रसिया आदि देशहरुमा पनि नयाँ र हालसम्मकै ठूलो लहर चलिरहेको छ ।

यी सबै तथ्यहरुले विश्वमा कोरोना संक्रमण र यसको महाव्याधि अझै पनि नियन्त्रणभन्दा बाहिर रहेको पुष्टि हुन्छ । दक्षिणएशिया र नेपाल जस्तो कम विकसित देशहरुमा यसको प्रभाव अझै कडा देखिन्छ । पछिल्लो समय विश्वका धेरै देश, दक्षिणएशिया र नेपालमा पनि महाव्याधिको नयाँ लहर शुरु भइसकेको कुरा माथिका तथ्याङ्कले पुष्टि गर्दछन् ।

तथ्यांकले जेसुकै देखाए पनि महाव्याधिको यथार्थलाई भुल्ने बेला भइसकेको छैन । महाव्याधिको पछिल्लो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक व्यावहारिक रुपमा नेपाल सरकार र नेपाली जनताले लागू गर्नै पर्ने बेला आएको छ ।

नेपाल सरकारले प्रशस्त परीक्षण गरी लुकेर बसेको संक्रमण पत्ता लगाई प्यान्डेमिक नियन्त्रण गर्ने सम्पूर्ण उपायको कार्यान्वयन गर्नुपर्दछ भने नेपाली जनताले पनि महाव्याधिको पछिल्लो यथार्थ बुझी आफ्नोतर्फबाट गर्न सक्ने होशियारी तथा सतर्कता हरपल यथाशक्य पालना गर्नुपर्दछ ।

जे भए पनि महाव्याधि विरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।

(श्रेष्ठ बी एण्ड बी अस्पताल ग्वार्को, ललितपुरका कन्सल्टेन्ट न्यूरोसर्जन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment