Comments Add Comment

१६ वर्षपछि शोभितकै फिल्ममा एकसाथ शिव र भुवन

निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको बर पीपल’मा उनीहरुलाई एकसाथ देख्न पाइनेछ । यो चलचित्रको छायांकन कोरोना महामारीको दोश्रो लहर अगाडि नै सुरु भएको थियो । तर, दोश्रो लहर आएसँगै रोकिएको यो चलचित्रको छायांकन भदौ ५ गतेबाट सुरु हुनेछ ।

निर्देशक बस्नेतले २ कलाकारलाई एकसाथ प्रस्तुत गर्न पाउँदा आफू उत्साहित रहेको बताए । ६० दिन भित्र यो चलचित्रको छायांकन पुरा गर्ने लक्ष्य निर्माणपक्षको छ । नायक भूवन केसीले आफूले शोभितकै आग्रहमा काम गर्न लागेको बताए । उनले भने–‘मैले चलचित्रको अफर आयो गरिहालौं भनेर काम गर्न लागेको होइनँ, शोभित नजिकको मान्छे भएकाले पनि काम गर्न लागेको हुँ ।’ भुवनका अनुसार, चलचित्रमा उनी अतिथी भूमिकामा देखिनेछन् ।

यो चलचित्रका लागि नायक शिव श्रेष्ठ केही महिना अगाडि नै अनुवन्धित भएका थिए । चलचित्रमा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, राजिवजंग बस्नेतको पनि मुख्य भूमिका छ ।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन रहनेछ । चलचित्रलाई नवराज गिरीले निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment