Comments Add Comment

केन्द्रीय कमिटीको निर्णय पुनर्विचारको मनोविज्ञानमा माधव समूह

२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय नरोकेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

नेता नेपालले सोमबारदेखि नै आफू निकट नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । विशेषगरी स्थायी कमिटीका नेताहरुसँगको सम्वादलाई जोड दिएका छन् । ‘स्थायी कमिटीका नेताहरुसँग अगाडि कसरी बढ्ने भन्नेबारे कुराकानी भइरहेको छ’, नेपाल निकट स्रोतले भन्यो । नेता नेपालले केन्द्रीय सदस्य, सांसद र जनसंगठनका प्रमुखहरुसँग पनि कुराकानी गरिरहेका छन् ।

तुलसीलाल स्मृति भवन, च्यासलमा सोमबार अध्यक्ष ओली निकटका केन्द्रीय सदस्यहरु मात्रै सहभागी बैठकले मंसिरमा महाधिवेशन गर्ने गरी विधान अधिवेशनको तयारी अगाडि बढाएका छन् । महाधिवेशनबाट चयन हुने नेतृत्व प्रणाली सच्याउन विधान संशोधनको प्रस्ताव समेत केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिएको छ ।

संशोधन प्रस्तावअनुसार एमालेको नेतृत्व चयन प्रणाली बदलेर शक्तिशाली अध्यक्ष बनाउने तयारी छ । महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्यहरुको मात्रै निर्वाचन गर्नेगरी विधान संशोधनको तयारी अगाडि बढाएको नेता नेपाल थप सशंकित देखिएका छन् । ‘एकताको ढोका बन्द गर्दै केपी ओली अगाडि बढिरहनुभएको छ । हामीले भनेर मात्रै एकता हुने होइन’, नेपाल निकट एक स्थायी कमिटी सदस्य भन्छन् ।

गत २८ फागुनको निर्णयकै निरन्तरतामा ओली अगाडि बढेकाले एकताको पक्षमा उभिने निर्णयबारे समेत पुनर्विचार गर्नुपर्ने अवस्था आइलागेको ती नेता बताउँछन् । ‘हामीले शुक्रबार मात्रै केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकता गर्ने निर्णय गरेका छौं । तर केपी ओली जसरी अगाडि बढ्नुभयो, हामी पनि निर्णय पुनर्विचार गर्नुपर्ने बाध्यतामा पुगेका छौं’, ती नेता भन्छन् ।

एकता प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी नहुने र अलग पार्टी निर्माणतिर नलाग्ने निर्णय यो समूहको केन्द्रीय कमिटी बैठकले गरेको थियो । ‘केन्द्रीय सदस्यहरुले केपी ओलीसँग सँगै बस्न नसकिने भएकाले पार्टी अलग गर्न दबाव दिइरहेका थिए । तर हामीले एकताको पक्षमा उभिने, पार्टी अर्को नबनाउने र सरकारमा सहभागी नहुने निर्णय ग¥यौं’, नेपाल निकट ती नेता भन्छन् ।

भदौ २७–२८ मा विधान अधिवेशन र मंसिरमा महाधिवेशन गर्ने गरी अध्यक्ष ओलीले नेताहरुको जिम्मेवारी समेत तोकिसकेका छन् । आफ्नै संयोजकत्वमा राजनीतिक प्रतिवेदन, ईश्वर पोखरेलको संयोजकत्वमा सांगठानिक प्रतिवेदन, विष्णु पौडेलको संयोजक विधान संशोधन र रामबहादुर थापा बादलको संयोजकत्वमा व्यवस्थापन समिति समेत बनाइएको छ ।

अध्यक्ष ओली महाधिवेशन केन्द्रीत निर्णय र गतिविधिमा कायमै रहेपछि माधव समूहका दोस्रो तहका नेताहरुले समेत परिस्थिति बिग्रिएको निष्कर्ष निकालेका छन् । ‘अनौपचारिक र औपचारिक वार्तामा सक्रिय नेताहरुले पनि अध्यक्ष ओलीको निर्णय पछि परिस्थिति विग्रिएको जानकारी माधव नेपाललाई दिनुभएको छ’, स्रोतले भन्यो ।

माधव समूहको केन्द्रीय कमिटी बैठक सकिएपछि उपाध्यक्ष भीम रावलले सक्रिय भएका थिए । अध्यक्ष ओली र नेता नेपाल बीच भेटवार्ता गराएर एकतालाई सार्थकता दिने प्रयत्न अनुरुप रावलले दौडधुप बढाएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए ।
तर उनको प्रयत्न सार्थक बनेको देखिएन । किनकि आइतबार ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक एकदिन भन्दा बढी सारिएन । बैठक सार्नुको उद्देश्य पनि माधव समूहसँग वार्ता गर्न नभएर विधान संशोधन प्रस्तावबारे नेताहरुबीच कुरा नमिलेकाले थियो । अहिले पनि विधान संशोधन प्रस्तावमा ओली समूहभित्रै मतभेद कायमै छ ।

सोमबारको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावको एजेण्डाबाट समेत त्यो पुष्टि हुन्छ । स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिव महाधिवेशन हलबाट निर्वाचित गर्ने र बाँकी पदाधिकारी मनोनित हुने निर्णय गरेको थियो ।

तर केन्द्रीय कमिटी बैठकमा पुग्दा भने अध्यक्ष र केन्द्रीय सदस्यहरुको मात्रै महाधिवेशनमा निर्वाचन हुने प्रस्ताव अगाडि बढाएको छ । ‘अध्यक्ष र महासचिव दुवै निर्वाचित हुने हो । कसरी अध्यक्ष मात्रै भन्ने निर्णय हुन पुग्यो’, ओली समूहकै एक नेता भन्छन् । तर अब माधव नेपाल समूहसँग एकता गर्ने नाममा पार्टी अलमलमा बस्न हुन्ने भन्ने दबाव चाहिँ बढेको ओली निकट नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment