
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति गरेका छन्।
- केन्द्रीय कार्यालय आलोकनगरमा यी दुई शीर्ष नेताहरुसहित भएको छलफलमा पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्ने कुरा उठाएका थिए।
- एकीकृत समाजवादीको ३० साउनमा सचिवालय बैठक बस्ने र त्यहाँ विवादित विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
२७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति भएको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् । ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले भने ।
पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।
नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चर्को अभिव्यक्ति दिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई उपयुक्त पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।
यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।
‘हिजो (सोमबार) अढाइ घण्टा जति कुराकानी भयो । धेरै कुरा त पुराना कुराहरु गरेर सकियो’ उनी भन्छन्, ‘अझै पनि ठोस् सहमतिमा पुग्न सकिएको छैन । छलफलहरु भइरहन्छ ।’ सोमबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय आलोकनगरमा छलफल भएको थियो ।
यस्तै छलफल शनिबार बिहान पनि भएको थियो । तर माधव नेपाल जनकपुर जानुपर्ने भएकाले स्थगित छलफल सोमबार भयो ।
यो छलफलमा अध्यक्ष नेपालले खनाललाई अन्तर्वार्ता दिने भन्दा पनि राख्नुपर्ने कुरा बैठकमै उठाउन आग्रह गरेका थिए । ‘अन्तर्वार्ता दिँदै हिँड्दा कुरा झन् बिग्रने भयो, जे भन्नुछ पार्टीको बैठकमै भन्नुस्’ माधवको आग्रह थियो ।
सार्वजनिक अभिव्यक्ति नदिनेमा खनाल सहमत भएको बैठक स्रोत बताउँछ । ‘आफ्नो प्रस्तावमा बैठकमै छलफल हुने भएपछि सार्वजनिक रुपमा नबोल्न झलनाथ खनाल पनि सहमत हुनुभएको छ’ स्रोतले भन्यो ।
माधव नेपाललाई पतञ्जली जग्गा हिनामिना सम्बन्धी मुद्दा लागेकाले अध्यक्ष पद छोड्नुपर्ने खनालले प्रस्ताव राखेका छन् । असार तेस्रो साता खनालले बैठकमा राखेको प्रस्तावबारे माधव नेपाल असन्तुष्ट छन् ।
तर अब आगामी बैठकमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एकीकृत समाजवादीको ३० साउनमा सचिवालय बैठक बस्दैछ । ‘सचिवालयकै बैठकमा भन्नुपर्ने कुरा नेताहरुले भन्ने, तर सार्वजनिक आरोप लगाएर अन्तर्वार्ता दिने, प्रतिक्रिया जनाउने काम रोक्ने भद्र सहमति भएको छ’, स्रोत भन्छ ।
प्रतिक्रिया 4