+
+
Shares

माधवलाई झलनाथको जवाफ- जबजको हेडक्वार्टर नै एमाले हो, आफैं गए हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते २१:००
फाइल फोटो

२३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एकअर्काविरुद्ध फेरि सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

अध्यक्ष नेपालले पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्नुको साटो एमालेकै सेवा गरेर बस्नु राम्रो हुने बताएका थिए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् नेपालले यस्तो अभिव्यक्ति दिए लगत्तै खनालले थप चर्को जवाफ फर्काएका छन् ।

पार्टीको दशौं महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादको कार्यक्रम भन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) तिर रुचि राख्ने माधव नेपाल चाहिँ एमाले फर्कनु राम्रो हुने खनालले बताएका छन् ।

‘हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो, महाधिवेशन भएको १३ महिना भइसक्यो, यो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा गहन ढंगले नै कदम चालिएको छ,’ खनालले भनेका छन्, ‘बरु माधव कमरेडले पटकपटक भन्ने गर्नु हुन्छ बहुदलीय जनवाद त छोड्नै सकिँदैन, बहुदलीय जनवाद बिना त अगाडि बढ्नै सक्दैनौ ।’

बहुदलीय जनवाद छोड्न नसक्ने हो भने उपयुक्त पार्टी एमाले नै भएको खनालले तर्क गरेका छन् । ‘अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले हो । बहुदलीय जनवाद नै भन्नु हुन्छ भने पनि यो त (एकीकृत समाजवादी) सानो बहुदलीय जनवाद हो । यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ’ पूर्वप्रधानमन्त्री खनालले भनेका छन्, ‘बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले विचार गरे हुन्थ्यो नि ।’

यद्यपि पार्टीभित्र देखिएको यो मतभेद हल गर्न केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने खनालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?