Comments Add Comment

उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

२६ साउन, काठमाडौं । उपत्यका प्रशासनले बिहीबारबाट लागू हुने गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मंगलबार निषेधाज्ञा थपको निर्णय गर्दै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले अनलाइनखबरलाई बताए ।

थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ । यो अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा घर, मनोरञ्जनका अन्य स्थल र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइने छैन । पूजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

चोक तथा खुला स्थानमा मान्छे भेला भएर भिडभाड, जुलुस, जात्रा महोत्सव गर्न पनि निषेध कायमै छ । विद्यालय, कलेज तथा ट्यूसन सेन्टरमा भौतिक उपस्थितिमा पठनपाठनमा रोक कायमै छ । स्थानीय ढुवानीका साधनलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने नियम छ ।

संक्रमण दर बढेसँगै प्रहरीलाई निषेध गरिएका क्षेत्रको कार्यान्वयन गर्न कडा निर्देशन दिइएको छ । जसअनुसार विभिन्न ठाउँमा आकस्मिक जेकजाँच राखिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

‘प्रशासनको अवैज्ञानिक निर्णय’

प्रशासनले गरेको रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णयलाई कतिपयले ‘अव्यवहारिक’ भएको टिप्पणी गरेका छन् । उपत्यकाका विभिन्न ठाउँमा काम गरेर भित्री क्षेत्रमा बस्ने व्यक्तिहरुलाई यसले असर गर्ने उनीहरुको भनाइ छ । र, रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएर कोरोना भाइरसको नियन्त्रण नहुने उनीहरुको टिप्पणी छ ।

जनस्वास्थ्यविद् समिरमणि दिक्षित रातको समयमा सवारीसाधन निषेध गर्ने निर्णय अव्यवहारिक मात्र नभइ, अवैज्ञानिक र हाँस्यास्पद भएको बताउँछन् । ‘प्रशासनले गरेको निर्णयले महामारी रोकथामको कुरै छाडौं, कम गर्न पनि सहयोग गर्दैन’ दिक्षितले अनलाइनखबरसँग भने, ‘यो काम गरेजस्तो देखाउनका लागि मात्र गरिएको निर्णय हो ।’

तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली चाहिँ बेलुकीको समयमा रष्टुरेन्ट, बार लगायतमा भिडभाड देखिएकाले नियन्त्रणका लागि यो निर्णय गरिएको बताउँछन् । ‘महामारीले अहिले कम मात्रै बाहिर निस्किएका छन्, रेष्टुरेन्ट जाने कति नै होलान् ?’ दिक्षित भन्छन्, ‘प्रशासनले दिउँसोका लागि यो निर्णय गरेको भए, केही औचित्य हुन्थ्यो होला । तर राति गर्नुको अर्थ छैन ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी चाहिँ प्रशासनले पहिल्यै हरेक क्षेत्रमा गरिएको निषेध खुलाएर गल्ती गरेको बताउँछन् । ‘पहिल्यै निश्चित समय मात्र खुलाएर अरु समय बन्द गर्नुपर्थ्यो’ उनले भने, ‘अहिले प्रशासनले ठिक उल्टो गरिरहेको छ ।’

दिक्षित चाहिँ संक्रमण दर बढिरहँदा प्रशासनले काम गरेजस्तो गरेको बताउँछन् । ‘अहिलेको अवस्थामा लकडाउन गर्दा अर्थतन्त्रमा समस्या हुन्छ, केही नगर्दा जनस्वास्थ्यविद्हरुको आलोचना आउँछ’ उनी भन्छन्, ‘केही गर्नुपर्‍यो भनेर यो निर्णय भएको हो, तर यसको विभिन्न तरिका हुनसक्थ्यो । प्रशासनले छलफल नै नगरी गलत निर्णय गर्‍यो ।’

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञाको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment