Comments Add Comment

‘प्रोपोगाण्डा भिडियो’बारे देउवाको कोर टिममै चर्काचर्की

२७ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै बनाइएको भिडियोबारे उनकै कोर टिमका नेताहरुबीच चर्काचर्की भएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएपछि उनको सचिवालयले ‘मलाई देउवा मनपर्छ किनभने…’ भन्ने भिडियो बनाएर प्रचारमा ल्याएको छ । ‘प्रोपोगाण्डा भिडियो’ बनाएको भन्दै चर्को आलोचना भएपछि महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै विरोध गरेका थिए ।

यसलाई लिएर महामन्त्री खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच चर्काचर्की भएको हो । कांग्रेसको आसन्न महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले आफूनिकट पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुढानीलकण्ठमा बोलाएका थिए ।

‘हामीले प्रधानमन्त्रीको विरोध गरेका होइनौं । सचिवालयले जुन भिडियो सार्वजनिक गरिरहेको छ, त्यसले प्रधानमन्त्रीबारे गलत सन्देश दिएको छ । त्यो तत्काल रोक्नुपर्छ,’ महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘म प्रधानमन्त्रीकै अगाडि भन्छु, भिडियोले प्रधानमन्त्रीकै आलोचना बढाउने काम गरेको छ ।’

बिहान नौ बजे शुरु भएको बैठकमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री महत, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत उपस्थित थिए ।

बैठकमा ढिलो गरी आएका सहमहामन्त्री महतले ‘मलाई देउवा मनपर्छ किनभने…’ भिडियोबारे महामन्त्री खड्का र प्रवक्ता शर्माले गरेका टिप्पणीप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीलाई भेटेरै सुझाव नदिई सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘भिडियो चित्त नबुझे प्रधानमन्त्रीलाई भेटेरै भन्न सकिन्थ्यो,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘प्रधानमन्त्रीबारे गलत सन्देश जाने गरी ट्वीट गर्ने कुरा राम्रो भएन । यो गलत काम भयो ।’

महामन्त्री खड्काले भने महतको प्रतिवाद गरेका छन् । आफूहरुले प्रधानमन्त्रीको विरोधमा नभई सचिवालयले बनाएको भिडियो गलत भएको टिप्पणी गरेको उनले बताए ।

‘हामीले प्रधानमन्त्रीको विरोध गरेका होइनौं । सचिवालयले जुन भिडियो सार्वजनिक गरिरहेको छ, त्यसले प्रधानमन्त्रीबारे गलत सन्देश दिएको छ । त्यो तत्काल रोक्नुपर्छ,’ महामन्त्री खड्काले भने, ‘म प्रधानमन्त्रीकै अगाडि भन्छु, भिडियोले प्रधानमन्त्रीकै आलोचना बढाउने काम गरेको छ ।’

महामन्त्री खड्काले गलत सन्देश जाने गरी भिडियो बनाउने काम रोक्न देउवाको ध्यानाकर्षण गराए । त्यसपछि देउवाले पनि भिडियोबारे चासो राखेका थिए । आफ्ना स्वकीय सचिव भानु देउवाको मोवाइलमा भिडियो पनि हेरे, तर कुनै प्रतिक्रिया नजनाएको बैठकमा सहभागी एक नेताले बताए ।

महामन्त्री खड्काले प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेका भिडियो ‘गाईजात्रा’ भन्दै तत्काल रोक्न भनेका थिए । प्रवक्ता शर्माले पनि ‘राम्रो काम गर्दै जाँदा जनताले नै प्रधानमन्त्रीको भिडियो बनाउने’ भन्दै आवश्यक परे पार्टीले भिडियो बनाउने बताएका थिए । भिडियो रोक्न सचिवालयको ध्यानाकर्षण गराएका थिए ।

बुधबार पनि बैठक सुरु हुनुअघि प्रधानमन्त्री देउवालाई भेटेर उनले भिडियो देखाएका थिए । तर देउवाले भने भिडियोबारे अनभिज्ञता प्रकट गरेको बताइएको छ ।

भिडियो ठीक कि बेठीक भन्दा पनि त्यसले दिने सन्देश र समय उपयुक्त नभएको उल्लेख गरे । ‘भिडियोप्रति अब्जेक्सन होइन, केवल भिडियोको कन्टेन्ट र टाइमिङ मिलेन भन्ने हो,’ प्रवक्ता शर्माले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीबारे गलत सन्देश जाने गरी भिडियो बनाउनु हुँदैन भन्ने हाम्रो चासोको विषय हो ।’

प्रधानमन्त्री देउवाको सचिवालयले ‘देउवा श्रीपेच बिनाका राजकुमार, वीपीपछि दोस्रो ठूलो नेता, देउवाकै पालामा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था भएको जस्ता सन्देश समेटेर भिडियो सन्देश बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment