Comments Add Comment
प्रहरीमा प्रश्नपत्र आउट प्रकरण :

परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका थिए प्रि-स्याटको प्रश्नपत्र

तीन जनालाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

प्रहरी प्रधान कार्यालय ।

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ ।

प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको ७ सदस्यीय छानविन समितिले बुझाएको प्रतिवेदनमा थापाले सई केशव कार्की र प्रहरी सहायक निरीक्षक (असई) अशोक कार्कीलाई परीक्षा अगावै प्रश्नपत्र दिएको उल्लेख छ । केशव प्रहरी वृत्त, ठिमी र अशोक नेपाल प्रहरी विद्यालय, साँगामा कार्यरत थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘प्रत्यक्ष संलग्नता देखिएपछि थापालाई बर्खास्त गर्न समितिले सिफारिस गरेको छ ।’ समितिले प्रश्नपत्र बाहिरिएको प्रकरणको मुख्य दोषी प्रहरी हवल्दार कुमार शाह र प्रहरी परिचर सुरेश बमलाई मानेको छ ।

उनीहरुलाई छानविन सुरु भएलगत्तै पक्राउ गरेर नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा राखिएको थियो । समितिले उनीहरु दुवै जनालाई पनि बर्खास्त गर्न सिफारिस गरेको छ ।

प्रश्नपत्र चोरिँदैछ भन्ने थाहा थियो थापालाई 

स्रोतका अनुसार परीक्षा समितिका सदस्य थापाको हवल्दार शाहसँग प्रश्नपत्र चोरी हुनु अघिबाटै पटक–पटक कुराकानी हुने गरेको थियो । पहिले यूएन शाखामै काम गरेका शाहलाई थापाले ‘आफ्नो पनि मान्छे जाँच दिँदैछन्, प्रश्न पत्र हात परे दिनू’ भनेका थिए ।

समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख भएअनुसार परीक्षा हुनु तीन दिन अघि नै प्रश्न पत्र चोरी भएको थियो । यूएन शाखाले १५ र १६ साउनमा प्रि–स्याट परीक्षा तोकेको थियो, १२ गते नै प्रश्नपत्र चोरी भएको भेटिएको छ ।

प्रि–स्याटको प्रश्नपत्र शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाले आफ्नो दराजमा राखेका थिए । उनी घर गएका बेला प्रहरी परिचर बमले अर्को चाबीले प्रश्नपत्र निकालेर फोटो खिचेका थिए । र, त्यसलाई हवल्दार शाहको भाइबरमा पठाएका थिए ।

स्रोतका अनुसार हवल्दार शाहले १३ गते परीक्षा समितिका सदस्य थापालाई प्रश्नपत्र दिएका छन् । त्यसपछि उनले फोटोकपी गरेर कार्कीद्वयलाई प्रश्नपत्र दिएका थिए । यसरी उनीहरुमार्फत ११९ जना परीक्षार्थीसम्म प्रश्नपत्र पुगेको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रि–स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र शान्ति मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिन्छ । प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी हुन पाउने परीक्षामा यसपटक २ हजार बढी परिक्षार्थी थिए ।

११ जनालाई विभागीय कारबाही

छानविन समितिका संयोजक डीआईजी लामाले बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा ११ जनालाई विभागीय कारबाही गर्नुपर्ने भनिएको छ ।

समितिले ‘पहिरो लेयर’मा संलग्नलाई मात्र कारबाहीको सिफारिस गरिएको जनाएको छ । ‘अर्को परीक्षा चाँडै गर्नुपर्ने भएकाले समय पनि थोरै थियो’ समितिका एक सदस्य भन्छन्, ‘फेरि दोस्रो र तेस्रो लेयरसम्म जानु त्यति धेरै औचित्यपूर्ण पनि थिएन ।’

प्रतिवेदनमा परीक्षा समितिका अन्य सदस्यहरुलाई पनि विभागीय कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । यूएन शाखाका दुई एसपी अनुपम शमशेर जबरा र वेद विष्टलाई कारबाही गर्न भनिएको छ । उनीहरुलाई स्पष्टिकरण सोध्ने प्रक्रिया थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्वार्थपूर्ण तरिकाले प्रश्नपत्र हात पार्न खोजेको र प्रश्नपत्र चोर्न उक्साएको अभियोगमा प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपेश खड्का र सुगन्ध श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ ।

स्रोतका अनुसार प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमल्सिना, प्रहरी नायब निरीक्षक सुनिलकुमार भणडारी, केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की र प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment