Comments Add Comment

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

दुई जना पक्राउ

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो ।

शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

सञ्चारमाध्यममा समेत यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।

शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे ।

लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।

‘उनीहरुलाई सशस्त्र प्रहरी गण १ नम्बरको आन्तरिक थुनामा राखेर थप छानविन भइरहेको छ’ स्रोतले अनलाइनखबरसँग भन्यो । हवल्दार शाहको भाइबरमा प्रश्न पत्र भेटिएको छ ।

यो पनि पढ्नुहोस प्रहरीको मिसनमा जानुअघि हुने परीक्षाको प्रश्नपत्र चोरिएको आशंका, छानविन समिति गठन

यूएन शाखाका प्रमुखकै दराजबाट चोरी

युएन शाखाका एक अधिकृतका अनुसार प्रि-स्याटको प्रश्न पत्र राखिएको दराजको चाबी प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणासँग थियो । ‘उनी चाबी लगाएर घर गएका थिए, प्रहरी परिचर बमसँग अर्को चाबी पनि रहेछ’ स्रोतले भन्यो, ‘बेलुका सबै घर गएपछि उनले प्रश्न पत्र निकालेको पाइएको छ ।’

स्रोतका अनुसार प्रि-स्याट परीक्षा दिँदै गरेका ब्युरोमा कार्यरत हवल्दार शाहले बमलाई प्रश्न पत्र मागेका थिए । ‘पहिलेको लेनदेन पनि रहेछ, प्रश्नपत्र दिए पैसा दिनुनपर्ने भनेपछि उनले चोरी गरेका रहेछन्’ स्रोतले भन्यो, ‘शाहले अन्य परिक्षार्थीलाई पनि प्रश्न पत्र दिएको भेटिएको छ ।’

छानविन समिति स्रोतका अनुसार चोरिएको प्रश्न पत्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपेश खड्का, वासुदेव पाठक लगायतसँग पनि पुगेको आशंकामा छानबिन गरिरहेको छ ।

प्रि-स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए ।

नेपाल प्रहरीबाट शान्ति मिसनको कोटा घट्दै जाँदा छनौट परीक्षामा कडा प्रतिष्पर्धा हुने गरेको छ । ‘प्रि-स्याट परीक्षा पास गर्नै गाह्रो हो, स्याट बरु सहज हुन्छ’ एक अधिकृतले भने, ‘त्यसैले आन्तरिकरुपमा लिइने प्रि-स्याट परीक्षामै चलखेल हुने गरेको छ ।’

सन् २०१८ मा भएको स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment