Comments Add Comment

अमेरिकामा नेपाली पूजारी : दुःख, शोख, दृढता र आनन्द

२६ साउन, काठमाडौं ।  अमेरिकाको भर्जिनियास्थित एक घरमा बासभ जुजु राजोपाध्याय जामा र भोटो लगाएर इह गराइरहेका छन् ।

राजोपाध्यायले उक्त समारोहमा उपस्थित भएका बालिकालाई कुनै असुविधा नहोस् भन्नेतर्फ पनि ध्यान दिइरहेका छन् । सबै मानिससले आफूलाई हेरेको देख्दा  बालिकाहरु केही डराएका छन् । तर, उनीहरु सबै हान्तपूर्वक बसेर राजोपाध्यायले भनेका कुराहरु सुनिरहेका छन् । उनले यो परम्परा के हो र किन गर्नुपरेको हो भन्ने पनि सिकाइरहेका छन् । यो कार्य सकिएसँगै केही समयका लागि राजोपाध्याय आराम गर्छन् र सोही कार्यको लागि अर्को सहरतर्फ प्रस्थान गर्छन् ।

पछिल्लो दुई महिनादेखि उनी यही कामका लागि अमेरिकाका विभिन्न स्थानमा पुगिसकेका छन् ।

‘यस्ता कुरामा बालबालिकालाई जबर्जस्ती गर्न मिल्दैन । तपाईँले जबर्जस्ती गर्नुहुन्छ भने उनीहरुले हाम्रो संस्कारलाई राम्रोसँग पालना गर्दैनन् । जबसम्म उनीहरुले पालना गर्दैनन्, हाम्रो संस्कृति जीवित जीवित रहन सक्दैन’, उनी भन्छन् ।

करिब एक दशकयता राजोपाध्याय निकै व्यस्त देखिँदै आएका छन् । पेशाले पूजारी भएकाले टेक्सासको डालसस्थित आफ्नो घरमा उनी विरलै देखिन्छन् । प्रत्येक साता उनी कुनै न कुनै काममा गएका हुन्छन् । एकदिन पूर्वको न्युयोर्कमा हुन्छन् भने अर्को दिन पश्चिमको सियाटल पुग्छन् । प्रत्येक वर्ष उनी अमेरिकाभरका १५० घरमा आफ्नो संस्कृति पूरा गराउनका लागि जान्छन् । उनले अमेरिकाका ५० मध्ये ४८ राज्यको भ्रमण गरिसकेका छन् । यो क्रममा उनले पारम्पारिक नेवाः संस्कृतिलाई बचाइराख्नुका साथै नयाँ पुस्तालाई यो संस्कृति सिकाइरहेका पनि छन् ।

अमेरिका आएको करिब १५ वर्षपछि राजोपाध्यायलाई अब काठमाडौंबाट अमेरिका आएका नेवार समुदायको घरमा नेवाः संस्कृति बचाइराख्न सहयोग पु¥याउन सक्छु भन्ने लाग्न थालेको छ ।

‘हामीले अहिले नै केही गर्न सकेनौं भने हाम्रो संस्कृति पनि डाइनोसरजस्तै हराएर जानेछ र यो संस्कृति संग्रहालयमा मात्र सीमित भएर रहनेछ’, उनी थप्छन्, ‘यो मेरो पेशाको काम हो र मैले यसमा नै रमाउन सिक्नुपर्छ ।’

पूजारीदेखि पूजारीसम्म

राजोपाध्यायको जन्म काठमाडौंको न्हयोखा टोलमा भएको हो । अच्युतानन्द राजोपाध्याय र श्रीलक्ष्मी राजोपाध्यायका छोराको रुपमा जन्मिएका उनी सानैदेखि जिज्ञासु स्वभावका थिए । उनी कथा सुनाउन र नेवारी संस्कृतिको विषयमा सानैदेखि निपुण थिए । उनको परिवार तलेजु मन्दिरको प्रमुख पूजारी भएकाले उनलाई पनि पूजारी बनेका थिए ।

१३ वर्षको उमेरमा उनले धेरै स्थानमा पूजा लगाएका थिए र २० वर्षको उमेरमा उनी यो काममा निपुण भइसकेका थिए । यद्यपि बाल्यकालमा उनी सधैं आफू के गरिरहेको छु र किन गरिरहेको छु भन्ने चासो राख्थे र त्यसको उत्तर पनि खोज्थे ।

राजोपाध्यायले मानवशास्त्र र व्यवस्थापन संकायमा स्नातक गरेका छन् । पछि उनले एमबीएको अध्ययन पनि पूरा गरे । अझै धेरै पढ्ने इच्छाको कारण उनी जर्मनी गए र अध्यात्मशास्त्रमा मास्टर डिग्री हासिल गरे । अध्यात्मशास्त्रको पढाइ सकेपछि विश्वविद्यालयको एक प्रोग्राममा हिस्सा लिँदै सन् २००७ मा अमेरिका गए ।

अमेरिका गएपछि इस्ट कोस्टमा नेवारी समुदाय बस्दै आएको थाहा पाए । उनले  त्यो समुदायका मानिससँग सम्पर्क गरे र उनीहरुको अवस्था जान्ने प्रयास गरे । उनलाई अचम्म त त्यतिबेला लाग्यो, जब केही मानिसले उनलाई अमेरिकामा नै बसेर संस्कृति बचाउन आग्रह गरे ।

‘उनीहरुले मजस्तै मानिसको खाँचो रहको बताए र मलाई अमेरिकामा नै बस्न सुझाए । मलाई निकै अचम्म लाग्यो तर मैले एकपटक राम्रोसँग यो प्रस्तावबारे सोचेँ किनकी मेरा लागि यो ठूलो अवसर थियो’, उने सम्झिए ।

यस विषयमा धेरै सोचविचार गरेर राजोपाध्याय अमेरिका लागे । त्यतिबेला उनी २७ वर्षका थिए । तर, अमेरिका उनले सोचेजस्तो सजिलो थिएन । उनलाई अमेरिमा टिक्न त्यति सजिलो थिएन । उनले त्यतिबेला जे पाइन्छ, त्यो काम गरे । उनले रेष्टुरेन्टमा काम गरे, स्यान्डविच ज्वइन्टस्का साथै आफ्नै व्यवसायसमेत सुरु गरे ।

‘सुरुआत निकै निराशाजनक थियो । यहाँसम्मकि मैले क्यानडामा स्थायी बासोबासको अनुमति (पीआर)को लागि आवेदन दिएको थिएँ र पाएँ पनि । तर, मलाई मेरी आमाले अमेरिकामा नै बस्न भनिन्’, उनी सम्झिन्छन् ।

बिस्तारै सबै कुरा राम्रो हुँदै गयो र उनले आफ्नो सञ्जाल विस्तार गर्न सुरु गरे । उनलाई विवाह, जान्को, इह र ब्रतबन्धजस्ता कार्य गराउन निम्तो आउन थाले । यद्यपि अधिकांश निम्तो इस्ट कोस्टबाट आउँथ्यो । यो क्षेत्रका अधिकांश नेवार समुदायका मानिसहरु काठमाडौंबाट गएका थिए ।

‘अरुहरु (काठमाडौं उपत्यकाबाहिरका नेवार समुदाय) नेवाः संस्कृतिमा त्यति अभ्यस्त छैनन् । मैले नराम्रो हिसाबले भन्न खोजेको होइन, तर बाहिरका नेवार समुदायले उपत्यकाभन्दा धेरै टाढा भएकाले फरक संस्कृतिलाई पनि अपनाइसकेका छन् । तर, यो पनि ठिकै छ’, राजोपाध्याय भन्छन् ।

मानिसहरुलाई आफ्नो संस्कृतिसँग जोड्दै

सन् २०१३ सम्म उनको लोकप्रियता निकै बढिसकेको थियो र उनलाई अमेरिकाभरबाट फोन आउन थालेको थियो । उनी क्यालिफोर्निया, टेक्सास, न्युयोर्क र वासिङटन डिसी जान गइसकेका थिए । उनको लागि अमेरिका बसाइ निकै सुखद् बन्न थाल्यो । यहाँसम्मकी २०१६ मा एक परिवारले त नेवाः संस्कृतिअनुसारको कार्य गराउन आफ्नी छोरीलाई अमेरिका लगेका थिए ।

‘यो मेरो सबैभन्दा विशेष अनुभवमध्येको एक थियो ।’

एकपटक राजोपाध्यायले एक महिलाको घरमा नेवाः संस्कृतिअनुसारको कार्य गराएका थिए । ती महिलाले आफ्नो घरमा कार्य गराएकोमा हर्षित हुँदै गहभरी आँसु निकालेकी थिइन् । यो पनि राजोपाध्यायको लागि सम्झिनलायक घटना हो ।

राजोपाध्यायले धेरै मानिसहरुलाई अमेरिकामा विभिन्न किसिमका पर्वहरु मनाउन पनि सहयोग गरेका थिए । जसमध्येको एउटा काठमाडौंमा निकै लोकप्रिय इन्द्रजात्रा पनि हो । यो पर्व २०१३ मा वासिङटन डीसीमा मनाउन सुरु गरिएको छ । त्यसयता अहिले अमेरिकाका १२ राज्यमा यो पर्व मनाइन्छ ।

उनले किन इन्द्रजात्रा मनाइन्छ भन्ने जानकारी दिन एउटा प्रहसन पनि दिएका थिए ।

अमेरिकामा उनको केही विशेष कार्यमा ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन्  । म्ह पूजाको लागि मानिसहरुले सहभागी हुन ६ महिनाअघि नै बुकिङ गर्ने गरेका छन् ।

अभ्यास, संरक्षण र प्रेरणा

राजोपाध्यायको लोकप्रियता अहिले निकै बढेको छ । अमेरिकामा बस्ने करिब ८० प्रतिशत नेवारी समुदायले आफूलाई चिन्ने उनको दाबी छ । उपस्थित सबै मानिसलाई उनी हरेक संस्कारको व्याख्या गरिदिन्छन्, त्यसैले उनी अरुभन्दा पृथक् छन् । उनी आफूलाई अनुवादक भन्दा पनि शिक्षक बताउँछन् । उनी नेवाः संस्कृतिभित्र रहेका विज्ञान युवालदेखि पुरानो पुस्ताका मानिसहरुसम्मलाई बुझाउँछन् ।

राजोपाध्याय आफूकहाँ आउने मानिसलाई आफ्नो संस्कृति कति अर्थपूर्ण छ भन्ने कुरा बताउँछन् । यसो गर्दा आफूलाई पनि खुसी लाग्ने र आफ्नो संस्कारको पनि विकास हुने उनको भनाइ छ ।

राजोपाध्याय अब नेवाः संस्कृति बचाउन कडा मेहनत गर्नुपर्ने अवस्था आएको बताउँछन् । त्यसैले उनले यो सन्देश फैलाउन विश्व नेवाः संगठनसँग मिलेर काम गरिरहेका छन् । ‘अभ्यास, संरक्षण र प्रेरणा’ भन्ने मूल नाराका साथ उनी युवा पुस्तालाई आफ्नो संस्कृति बुझाउने काममा सक्रिय छन् ।

‘हामीले यसलाई संरक्षण गर्न यसलाई मान्दै जानुपर्छ । जब मानिसहरुले यसलाई मान्न थाल्छन् उनीहरुले अन्य परिवारका सदस्यलाई पनि प्रेरित गर्न थाल्छन्’, उनले भने ।

राजोपाध्याय यो संस्कृति मान्न छाडेको अवस्थामा अहिले अमेरिकी नागरिकले भोगिरहेको समस्याको सामना गर्नुपर्ने बताउँछन् ।

‘यो एउटै अवस्था भने होइन तर उनीहरुको संस्कृति पनि बिस्तारै हराउँदै गएको छ र हामीले पनि यसलाई बचाउन सकेनौं भने विशेषगरी धेरै नेवारी समुदाय रहेको अमेरिकामा नेवारी संस्कृति पनि हराउँदै जानेछ’, राजोपाध्यायले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment