Comments Add Comment

ज्यानसम्बन्धी कसूरमा मुद्दा लागेका फरार व्यक्ति पक्राउ

२८ साउन, काठमाडौं । ज्यानसम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो ।

उनीमाथि गत पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा (अधिकारी)को आगोले जलेर मृत्यु भएको घटनामा संलग्न भएको अभियोग छ ।

भगवतीलाई शरीरमा आगोले जलेको अवस्थामा देखेपछि सोही घरमा बस्ने व्यक्तिहरुले ढोका फोडेर उनको उद्धार गरेका थिए । तर त्यसबेलादेखि नै फरार रहेका खत्रीलाई घटनामा संलग्न भएको आशंकामा भगवतीका बुवा इन्द्रबहादुर अधिकारीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

भगवतीको पुस ७ गते बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment