Comments Add Comment
२२औ अन्तर्राष्ट्रिय युवा दिवस :

युवा मुद्दाको बहस र कार्यान्वयन : हामी कहाँ छौं ?

युवाको विशेष पर्व हो, अन्तर्राष्ट्रिय युवा दिवस । यस दिवसमा विश्वका सबै देशलाई युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न अनि आफ्ना सबै प्रयास यसतर्फ केन्द्रित गराउनका लागि बहस-पैरवी र ध्यानाकर्षण गराइन्छ । यस पर्वमा युवाको प्रतिभा प्रस्फुटन र प्रोत्साहन गरिनुका साथै युवाले स्वयंसेवी रूपमा समाज र राज्यलाई योगदान पुर्‍याउने अभियान पनि सञ्चालन गरिन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका सबै देशले प्रत्येक वर्ष अगष्ट १२ तारिखमा विभिन्न युवा लक्षित रचनात्मक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँछन् । यो दिवस युवाका विभिन्न सिर्जनात्मक गतिविधि, स्वयंसेवी अभियान, युवाका सम्भावना, अवसर, सफलताका कथा शेयर गर्ने र प्रतिभाशाली युवालाई एक्सपोजर दिने प्लेटफर्म पनि हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गर्‍यो । यो घोषणासँगै युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरी सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरूको सहकार्यमा युवा र्‍याली, अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति संवाद, सांस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम जस्ता युवालक्षित कार्यक्रम हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मूल उद्देश्य युवाको मुद्दाका पक्षमा आवाज मुखरित गर्नु हो । सबैको ध्यान युवा विकासतर्फ आकर्षित गर्नु हो । यसका साथै नेपालको संविधानमा उल्लिखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु, राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५ र राष्ट्रिय युवा सांस्कृतिक र आर्थिक गतिविधि लगायत राष्ट्रिय अभियानहरूमा युवाको सार्थक परिचालन गरी नेपालको हितमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

विश्वका विभिन्न मुलुकमा सन् २००० देखि युवा दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २००४ देखि मात्र यसको शुरुआत भएको हो । केही वर्षअघिसम्म युवाका सवाल शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एउटा शाखामा सीमित थियो भने अहिले आएर ‘युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ तथा दशवर्षे रणनीतिक योजना तयार भएर सोको प्रभावकारी कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद् लगायतका संरचनाहरू स्थापना भई क्रियाशील रहेका छन् ।

त्यसैले पनि अहिले युवा दिवसलाई युवा क्षेत्रमा व्यापक संरचनात्मक उपलब्धि भएको वर्षको रूपमा पनि मनाउन सकिन्छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले संयोजन गर्दै आएका युवा विकासका कार्यक्रमहरू राष्ट्रिय युवा परिषद् स्थापनासँगै युवा परिषद् मार्फत हुने हुँदा सोही बमोजिम परिषद्कै समन्वयमा कार्यक्रमहरूको योजना तर्जुमा तथा कार्यान्वयन गरिंदै आइएको छ । हाल समस्त नेपाली युवाको पहिलो सम्पर्क बिन्दु कार्यालय र अभिभावकीय निकायको रूपमा राष्ट्रिय युवा परिषद् स्थापित भएको छ ।

नेपालको संविधानमा युवा विकास र सहभागिताको सुनिश्चितता गरिएको छ । नेपालका प्रत्येक आवधिक योजनामा युवालाई सम्बोधन गरिएको छ । वार्षिक नीति, कार्यक्रम र बजेटमा युवालाई सम्बोधन गर्ने गरिएको छ । युवा विकासका लागि नीतिगत दस्तावेज ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

सरकारले विभिन्न मन्त्रालय मार्फत युवा क्षेत्रमा बजेटको विनियोजन गर्नुभन्दा एकै मन्त्रालयबाट त्यसलाई एकीकृत र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु उचित हुने देखिन्छ ।

२०६५ सालमा अलग्गै युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरिएको थियो । युवा विकासका लागि २०७२ सालमा स्वायत्त सरकारी निकायको रूपमा राष्ट्रिय युवा परिषदको स्थापना गरी युवालक्षित कार्यक्रम कार्यान्वयन गरिएको छ । प्रदेश र स्थानीय तहमा युवा विकासका संरचना हाल संघीय ढाँचामा पुनःसंगठित हुने अवस्थामा रहेको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा युवालक्षित कार्यक्रमहरूको घोषणा गरिएको छ ।

आवधिक निर्वाचनमा स्थानीय, प्रदेश र संघीय संसदमा युवा ठूलो संख्यामा निर्वाचित भएका छन् । स्थानीय तहमा ३९.६४ प्रतिशत, प्रदेश तहमा २३ प्रतिशत र संघीय तहमा १३ प्रतिशत युवा निर्वाचित भएका छन् । यसबाट राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रूपमा बढेको देखिन्छ । नेपाल सरकारको विगत चार वर्षको बजेटलाई अनुगमन गर्ने हो भने कोभिड–१९ पछि युवा क्षेत्रलाई लिएर बढी ध्यान दिएको देखिन्छ ।

सरकारले विनियोजन गरेको कोभिड–१९ अघिका दुई बजेट विनियोजन (२०७५–७६ र २०७६–७७) र पछिको दुई बजेट विनियोजन (२०७७–७८ र २०७८–८९) लाई हेर्दा कोभिड–१९ संक्रमणपछि आएका बजेटमा युवाहरूलाई बढी समेट्न खोजेको छ ।

आर्थिक वर्ष २०७५–७६ मा कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख विनियोजन गरिएकोमा युवा तथा खेलकुद मन्त्रालयको बजेट कुल बजेटको ०.२१९ प्रतिशत हो । मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु.१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरिएकोमा युवा तथा खेलकुद मन्त्रालयलाई रु.३ अर्ब ९९ करोड ८ लाख विनियोजन गरिएको थियो । उक्त मन्त्रालयको बजेट कुल बजेटको ०.२६ प्रतिशत हो ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु.१४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा कुल विनियोजित बजेट रु.२ अर्ब ३६ करोड ६० लाख हो । मन्त्रालयको उक्त बजेट कुल बजेटको ०.१६ प्रतिशत हो ।

आगामी आर्थिक वर्ष २०७८–८९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब कुल बजेट विनियोजन गरेको थियो । जसमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड ६८ लाख मात्र विनियोजन गरिएको हो । यो कुल बजेटको ०.०७ हो ।

त्यसैगरी स्थानीय सरकारहरूबाट समेत युवाको व्यावसायिक सीप विकास र स्वरोजगारका विभिन्न कार्यक्रम घोषणा भएका छन् । त्यसका बाबजूद पनि युवालाई आवश्यक बजेट पर्याप्त छैन भन्ने गुनासो सर्वत्र छ । सरकारले विभिन्न मन्त्रालय मार्फत युवा क्षेत्रमा बजेटको विनियोजन गर्नुभन्दा एकै मन्त्रालयबाट त्यसलाई एकीकृत र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु उचित हुने देखिन्छ ।

युवा सम्बन्धी बजेटहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत मन्त्रालयहरूमा छरिएका छन् । यसले गर्दा युवालाई भनेर छुट्याइएका कार्यक्रमहरू सम्बन्धित क्षेत्रमा पुग्छ वा पुग्दैन भन्ने प्रश्न चाहिं पक्कै उठेको छ ।

सरकारले आइतबार जारी गरेको न्यूनतम कार्यक्रममा ‘युवाको अधिकार शिक्षा र रोजगार’ को अवधारणालाई व्यावहारिक रूपमा दिने उल्लेख गरेको छ । उक्त कार्यक्रमको दस्तावेजमा भनिएको छ– ‘ऊर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम ल्याउने ।’

आशा गरौं, अन्तर्राष्ट्रिय युवा दिवसले युवाको मुद्दा र बहसलाई थप उँचाइमा पुर्‍याओस् र राज्यको तर्फबाट मुद्दाहरूको कार्यान्वयन होस् ।

(ऐर नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment