Comments Add Comment

चिकित्सा शिक्षा अध्ययनका लागि पुनः प्रवेश परीक्षा लिन पाँच विद्यार्थी संगठनको माग

२८ साउन, काठमाडौं । सत्तारुढ गठबन्धन निकट पाँच विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले मेडिकल र पारामेडिकल अध्ययनका लागि लिएको प्रवेश परीक्षा पुनः दिने व्यवस्था गर्न माग गरेका छन् ।

बिहीबार काठमाडौंको बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा बसेको नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंको संयुक्त बैठकले चिकित्सा शिक्षा अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट निर्धारित कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले तत्काल पुनः प्रवेश परीक्षा लिने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो ।

क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण हुँदा विद्यार्थीले देशभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति उत्पन्न हुने र त्यसबाट अनावश्यक झन्झट तथा नेपाली मुद्रा विदेशिने अवस्था सिर्जना हुने विद्यार्थी संगठनको ठहर छ ।

यसैगरी मध्यमपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई बर्खास्त गरी खुला प्रतिस्पर्धाको आधारमा नयाँ उपकुलपति नियुक्त गर्न पनि उनीहरुले माग गरेका छन् । नियुक्तिमा राजनीतिक भागबण्डा गरिएमा त्यो प्रत्युत्पादक हुने र विद्यार्थी आन्दोलनलाई त्यो मान्य नहुने पनि पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

इन्जियरिङ क्याम्पसहरुमा भएको शुल्कवृद्धि खारेज गर्न, पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन र विदेशी विश्वविद्यालयको सम्बन्धन लिए नेपालमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेकाले त्यसको अनुगमन गरी दोषीलाई कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् ।

यसैगरी सीटीईभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्न र त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इन्जिनियरिङ, मेडिकल र वाणिज्य विषयका कोटा थप गर्नुपर्ने पनि पाँच विद्यार्थी संगठनको माग छ ।

हेर्नुहोस् पाँच विद्यार्थी संगठनको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment