Comments Add Comment

श्वेतपत्रमा अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

२८ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा श्वेतपत्रमाथि टिप्पणी गर्दै अघिल्लो सरकारका अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण आर्थिक गतिविधि र विकास खर्च हुन नसकेको प्रतिकुल अवस्थालाई विगतका अनुकुल अवस्थासँग तुलना गरिएको बताए ।

‘कोभिड महामारीका कारण सबैभन्दा प्रतिकुल अवस्थालाई अनुकुल अवस्थासँग तुलना गरिएको छ, बीचको समयको बारेमा मौन बसिएको छ’ उनले भने ।

उनले आर्थिक वर्ष २०७६-७७ को समय विश्व अर्थतन्त्र साढे ३ प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशत मात्रै ऋणात्मक हुनु सुखद भएको बताए ।

‘कोभिड अवधिको वृद्धिदरको सहारा लिएर आर्थिक वर्ष ०७५-७६ मा भएको ७ प्रतिशतको वृद्धिदरलाई बिर्सन खोजिएको छ’ पूर्वअर्थमन्त्री पौडेलले भने ।

कोरोना महामारीकै कारण विकास खर्च हुन नसकेको भन्दै पौडेलले श्वेतपत्रमा त्यसलाई उल्लेख नै नगरिएको बताए । अघिल्लो सरकारले सार्वजनिक ऋण धेरै लिएको विषय पनि श्वेतपत्रमा समेटिएको थियो । तर पूर्वमन्त्री पौडेलले सार्वजनिक ऋण विकास खर्चमा मात्र लगाएको दावी गरे ।

‘अघिल्लो सरकारले जिम्मा लिनुपूर्व पुनर्निर्माणमा ३३ अर्ब मात्र खर्च भएको थियो, अहिलेसम्म ४ खर्ब खर्च भएको छ, जसमध्ये २ खर्ब ऋण हो’ उनले भने ।

नेपालको अर्थतन्त्र राजस्वले चालु खर्च धान्ने र विकास खर्चका लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै पौडेलले भने, ‘ऋण नलिने र विकास नगर्ने होइन, ऋण लिने विकास पनि गर्ने हो ।’

ऋण लियो कि लिएन भन्दा पनि ऋणको सदुपयोग भयो कि भएन भन्ने हेर्नुपर्ने उनले बताए ।

अहिलेको सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको भन्दै पौडेलले आफूले ल्याएको भन्दा लोकप्रिय र सबैले मन पराउने बजेट ल्याउन चुनौती दिए ।

‘अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको छ । ठीक छ –प्रतिस्थापन विधेयक) ल्याउनुस्, तर हामीले प्रस्तुत गरेको भन्दा राम्रो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment